कोशी प्रदेशमा मनसुन भित्रिएको अवस्थामा लगातारको वर्षाबाट डुबान र बाढीको समस्या बढेको छ । वर्षाका कारण आएको बाढी र डुबानबाट हालसम्म झापामा मात्र ९ परिवारका ३१ जना बढी विस्थापित बनिसकेका छन् ।
लगातार वर्षाका कारण झापाको दक्षिणी क्षेत्र बढी असरग्रस्त बनेको छ । सोमबार रातिदेखि मंगलबारसमेत लगातारको वर्षाबाट झापा गाउँपालिकाका ४ परिवारका १८ जना र कचनकवलका ४ परिवारका १३ जनालाई घर छोडाएर सुरक्षित स्थानमा स्थानान्तरण गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा नगरपालिका २ को लाप्चेटारमा माथिबाट पहिरो खसेर पुष्पा समाल मगरको घर पुरी क्षति पुर्याएको छ । सो घरका मानिसहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको छ । उता, अर्जुनधारा २ रातेमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन् । अर्जुनधारा १ मा खानेपानी मुहानमा क्षति पुगेको छ भने लाप्चेटार सहकाले जाने बाटो पूर्ण अबरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान सुरु गरेको छ । अर्जुनधारा ३ मा सुखानी खोलाको कज्बेमा पूर्णरुपमा क्षति पुगी यातायात आवतजावतमा पूर्णरुपमा बन्द भएको छ ।
त्यस्तै, लगातार वर्षाका कारण कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ ।
ठाँउ ठाउँ डुवान छ । कनकाई, रतुवा, मावा, विरिङ, टाङटिङ, बक्राहा, डाँस, चिसाङ, लोहन्द्रा सहितमा बाढी उर्लिएको छ । डुबान र कटानका कारण विशेष गरी झापा, मोरङका दक्षिणी क्षेत्र बढी समस्यामा छन् । खोलामा स्थायी तटवन्ध छैन । खोलाबाट सयौं विगाहा जमिन कटानको समस्या प्रत्येक वर्ष दोहोरिइरहन्छ । मानिस, चौपाया र घर समेत बगाउने हुँदै आएको छ ।
पहिरोले कोशी प्रदेशका पहाडी क्षेत्र समस्यामा छन् । भर्खर मनसुन सुरु भएकाले वर्षा बढ्दै जाने अवस्था छ । यसकारण विस्थापित हुनेहरु धेरै हुने अवस्था छ । यस वर्ष सरकारले पूर्व तयारी सहितका मनसुनजन्य प्रकोपबाट बच्ने अभ्यासका कार्यक्रम अलि अघिबाटै ल्याएपनि खोला छेउमा बस्ती हुनु, पहाडी क्षेत्रमा भूक्षय, बाढी र पहिरोका कारण खोलाको सतह बढ्नु, बाटो निर्माणका नाममा पहाडको खुकुलो माटो चलिनुले पनि वर्षाको समयमा यसखाले जोखिम झन बढ्दो अवस्थामा छ । जलवायु परिवर्तनका कारण यो वर्ष अझ बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । यसकारण प्रकोपबाट जोगिन पूर्वतयारी त महत्वपूर्ण भयो नै । त्यसपछि पनि विपद्मा पर्नसक्ने अवस्था छ नै । विपद्मा पर्नेहरुको उद्धार र राहतका लागि सक्रियता आवश्यक पर्छ । यसमा सरकारी निकाय, सरकोकारवाला संघ, संस्था, स्थानीयवासीले त्यसमा ध्यान दिनु जरुरी छ ।