विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सरकारले पहल थालेको छ । सरकारको साधन तथा स्रोतको लगानी भएको, ठूलो भौतिक पूर्वाधारसमेत रहेका उद्योग तथा प्रतिष्ठान विभिन्न कारणले बन्द भई रुग्ण अवस्थामा पुगेका छन् ।

देशकै सवैभन्दा पुरानो उद्योगका रुपमा वि.सं. १९९३ असार ३० गते विराटनगर जुट मिल स्थापित भएको थियो । मिलले २०६५ सालपछि उत्पादन गर्न सकेको छैन । पर्याप्त मात्रामा कच्चापदार्थ आपूर्ति, पाटपूर्जाको उपलब्धता र केही प्राविधिक जनशक्ति थप भए दैनिक १५ देखि २० टन उत्पादन सजिलै गर्न सक्ने बताइन्छ । यस्तै नेपाल सरकारले दुईपटक खारेज गरिसकेको हेटौंडा कपडा उद्योगमा पुनः राज्यको २ अर्ब रुपैयाँ लगाउने तयारी छ ।

नेपालका पुराना तथा ऐतिहासिक विराटनगर जुट कारखाना, हेटौंडा कपडा उद्योग, बुटवल धागो कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, भृकुटी कागज कारखाना, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखानालगायत कारखाना बन्द अवस्थामा छन् । उद्योग बन्द हुँदा अन्य भौतिक पूर्वाधारसमेत खण्डहर हुने अवस्थामा पुगेका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत बन्द भई रुग्ण भएका उद्योग विभिन्न मोडालिटी तय गरी सञ्चालनमा ल्याउनेजस्ता विषय समावेश गरेर सरकारले बन्द उद्योग पुनः सञ्चालनमा ल्याउने भएको छ, यो सकारात्मक पक्ष हो । सरकारले चालु आर्थिक वर्षमा नै बन्द भएका तथा रुग्ण अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने निर्णय गरिसकेको छ । विभिन्न कारणले बन्द भएका उद्योगलाई निजी क्षेत्रको समेत सहयोगमा आवश्यक प्रक्रिया मिलाएर सञ्चालनमा ल्याउने गरी सरकारले योजना तथा कार्यक्रम ल्याएको हो ।

भएका उद्योगहरू बन्द गरेर विदेशबाट सामान आयात गरेरमात्रै देशको आयस्रोत बढ्दैन । बरु दिनानुदिन रकम बाहिरिनाले आयश्रोत घट्दो क्रममा जान्छ । युवाशक्तिलाई स्वरोजगारको बन्दोबस्त गरेर नेपालमा नै राख्नसके नेपाली सुखी हुन्छन्, अनि मात्रै देश समृद्ध बन्छ । देश आत्मनिर्भर बन्नसके मात्रै ठूलो मात्रामा विदेशिन बाद्य युवा जनशक्तिलाई स्वदेशमा आत्मनिर्भर बनाएर रोजगारीको प्रबन्ध गर्न सकिन्छ, यो अहिलेको आवश्यकता हो । विगतमा बन्द भएका त्यसमा पनि नेपालका ऐतिहासिक उद्योगहरू फेरि सञ्चालन गर्न सरकारले पहललाई मूर्तरुप दिन सके नेपाल र नेपालीको हित हुनेछ ।

Author

You may also like