म फारसी कवि जलालुद्दिन रुमीलाई बुझ्न खोज्दैछु । सन्दर्भ फरक होला तर उनको कविताको यो सानो उद्धरणले मलाई छुन्छ ।
हरेक श्वासमा
म भक्तिको बीज रोप्छु
म किसान हृदयको ।
हो, यसैगरी पटेल भाइ बढो तन्मयतापूर्वक विश्वासका बीउ रोप्छ – हाम्रो घरछेउको सानो बारीमा । घाम, पानी, जाडो, गर्मीको उसलाई कुनै पर्वाह छैन । उसले माटोको भोक र तिर्खासँग आफूलाई समाहित गरेको छ । ऊ माटोसँगै बोल्छ, माटोसँगै हाँस्छ, माटोसँगै गुन्गुनाउँछ ।
निषेधाज्ञाको समय छ । घरबाट बाहिर कतै निस्कन पाइँदैन । कोठाभित्र कति बस्नु ? दिक्क भएर म आफ्नो परिवेश नियाल्छु । हाम्रो घरदेखि तलतिर पटेल भाइको परिवार आएर बसेको छ – दुई महिना अगाडिदेखि । यसो तलतिर हेर्छु – पटेल भाइ माटो सुमसुम्याइरहेको हुन्छ । माटो कति प्रिय छ उसलाई । उसको पेशा नै तरकारी खेती गर्नु हो । उसका हजुरबुवा २०÷२५ वर्षअगाडि अवसरको खोजीमा आफ्ना लालाबाला च्यापेर भारतको सीतामाढीबाट नेपाल छिरेका थिए अरे । तीन पुस्तादेखि दमकमा जग्गा भाडामा लिएर तरकारी खेती गर्ने काममा जमेका छन् उनीहरु । हजुरबा त बितिसके । बाबु बूढा छन् ।
पटेल परिवारको माटो प्रेमप्रति म आकर्षित हुन्छु । पटेलभन्दा अगाडि पनि यो जमीनमा कसै न कसैले केही न केही बाली लगाउने गरेकै थिए । तर मैले ती कसैमा माटोप्रति त्यस्तो लगाव देखेकी थिइन । गर्मीले हामी खुइ खुइ गर्दै पंखामुनि बसिरहेका बेला उनीहरु तन्मयताका साथ तरकारी बारी गोडिरहेका हुन्छन् । दर्के झरी थामिनेबित्तिकै कोदालो लिएर जमेको पानी कटाउने काममा जुटिहाल्छन् ।
‘पानीले त गर्नु ग¥यो नि भाइ ?’ म अलि चासो देखाउने स्वरमा सोध्छु । ‘केही छैन आन्टी । सब ठिक भैहाल्छ,’ ऊ निर्ढुक्क भएर भन्छ । उसलाई केहीको हतारो छैन । निस्फिक्री भएर आफ्नो काममा लागिरहन्छ । बेकामे भएर मानिसहरु आफ्ना आफ्ना घरमा थुनिएका बेला पनि पटेलको दिनचर्या बिग्रेको छैन । उसको सेरोफेरो त्यति ठूलो छैन । एउटा गाई, केही बाख्रा र एक टुक्रा जमीन । बस् यतिमै ऊ रमाएको छ ।
ऊ बिहानै उठ्छ, दुध दुहुन्छ र पुरानो साइकल टिपेर दुध पु¥याउन बजारतिर हुँइकिन्छ । करिब एक घण्टापछि ऊ फर्किन्छ र फेरि श्रीमतीले टिपेर ठिक्क पारेका तरकारीका पोका लिएर त्यही साइकलमा बस्तीतिर छिर्छ । हिजोआज लकडाउनले गर्दा ऊ मानिसका घरघरै पुग्छ र व्यापार गर्छ ।
‘म के देख्छु सपना ! सपना त तपाईं जे देख्नुहुन्छ त्यही देख्छु ।’ पटेललाई ख्यालख्यालमा सोधेको प्रश्नको उत्तर थियो यो । हो, हामी सबै एउटै सपना देख्छौं । पटेल आफ्ना ससाना तीन छोराछोरीको सुन्दर भविष्यको सपना देख्तो हो । उनीहरु सफल भएका र ऊ सुखपूर्वक बुढो हुन पाएको सपना देख्तो हो । उमेरमा तीसको वरिपरिको पटेलले मलाई पर्ल एस. बकको प्रसिद्ध उपन्यास ‘द गुड अर्थ’ को मुख्य पात्र वांङलुङ्गको सम्झना गराउँछ । वांङलुङ्ग जस्तै पटेलका पुस्तौं पुस्ता माटोमै लडिबुडी गरिरहेछन् । कच्चै उमेरमा पटेललाई माटोले धेरै गहिरो पाठ पढाएको छ । ऊ यदाकदा मलाई झसङ्ग पार्छ । ‘तपाईं पढालिखा हुनुहुन्छ । पढालिखा गरेर कमाएर भात खानुहुन्छ; लुगा लगाउनुहुन्छ, गाडी चढ्नुहुन्छ त म पनि त्यहिँ गर्छु ।’ ‘कसरी पटेल भाइ ?’ भन्ने प्रश्नमा ऊ भन्छ, ‘तपाईं पनि कमाउनुहुन्छ, खानुहुन्छ, सुत्नुहुन्छ, बच्चाबच्ची हुर्काउनुहुन्छ । त तपाई र म मा के अन्तर छ र ?’ हो झलक्क हेर्दा फरक देखिए पनि पटेल र ममा केही फरक छैन; हाम्रो जीवन जिउने क्रम उस्तै छ ।
‘संसारमा कोरोनाको यस्तो बिगबिगी छ । महामारी छ । देशमा संकट छ । राजनीतिक उथलपुथल छ । यसको चिन्ता छैन पटेल भाइ ?’ म उसको विचार जान्न खोज्छु ।
‘के गर्ने आन्टी ,जे भएपनि आफ्नो काम त छोड्नु हुन्न नि ! होइन ? मेरो त राजनीति नै यही हो ।’ पटेल भाइको एउटै उत्तर हुन्छ । हुन पनि हो, आम मानिसको जीवनलाई राजनीतिक खिचातानीले के नै पो गर्न सकेको छ र ? राजनीति जनताको थियो भने त अहिलेको कोभिड–१९ को महामारीमा उनीहरुले सम्भव भएसम्मको राहत पाउँथे होला नि । डाक्टरहरु एकै स्वरमा भनिरहेका छन् – अहिलेको आवश्यकता भनेको खोप मात्र हो । तर खै त सरकारको कानमा बतास लागेको ? यहाँ, जो आफ्नो ज्यानको समेत माया मारेर अहोरात्र बिरामीको सेवामा लागेका छन्, त्यस्ता डाक्टर र नर्समाथि नै हमला हुन्छ । खोइ कसले लिएको छ उनीहरुको सुरक्षाको जिम्मा ? अपराधीलाई सजाय दिने संयन्त्र कहाँ छ ? सरकार भनेको जनताको सेवाको लागि हो कि होइन ? देशमा लकडाउन छ, बहुसंख्यक मानिसको काम छैन, काम नभएपछि माम छैन । जताततै त्रास छ । रोगले भन्दा भोकले अझ ठूलो समस्या ल्याएको छ । जनतालाई साथ र सहयोग दिनुको सट्टा सरकार आफ्नै सत्ता कसरी टिकाउने भनेर अनेक तानाबाना मिलाउनमै व्यस्त छ । अनि यो राजनीतिमा कसरी विश्वास गर्नु ? हुँदा हुँदा अब त नेपाल सबैभन्दा भ्रष्ट राष्ट्रहरुको सूचीमा समेत परेछ ।
अरु देशका जनताको लागि यो संकटपूर्ण समयसँग लड्नका लागि सरकारको साथ भए पनि नेपाली जनताले आफ्नो जिम्मा आफैं लिनुपर्छ । आफ्नो वशभन्दा बाहिरको कुरो हो भने ईश्वर भरोसा ! यस्तै यस्तै कुराले मन बहकिँदा म बाहिर निस्केर पटेलको दिनचर्या नियाल्छु । मलाई उसकै राजनीति ठीक लाग्छ । उसले मलाई निरन्तर आफ्नो कर्ममा लाग्न प्रेरणा दिन्छ; म ठान्छु अहिलेको स्थितिमा मैले गर्न सक्ने त्यति नै हो । पटेललाई उसका बाबु बाजेले तरकारी खेती गर्न सिकाए । त्यसैले ऊ माटोसँग खेलिरहन्छ । मेरा बाबु बाजेले मलाई अक्षरको खेती सिकाए । त्यसैले मेरो काम अक्षरसँगै खेल्नु हो भन्ने कुरालाई आत्मसात गर्दै म फेरि एकपटक रुमीलाई सम्झँदै कोठा भित्र पस्छु ।
हरेक श्वासमा
म भक्तिको बीज रोप्छु
म किसान हृदयको ।