डा. व्यन्जना शर्मा –
हिजोआज मेरा प्रायः विद्यार्थी मसँग सोध्ने गर्छन्, “म्याम, यहाँको डिग्री राम्रो कि विदेशको ?, म्याम, म कहाँ जाँदा राम्रो होला ? म्याम, म कोरिया/जापान जाने तयारी गर्दैछु, मैले यो जाँच दिनुपर्छ र ?” आदि आदि । म छक्क पर्दै उनीहरुको अनुहारतिर हेर्छु । ती विद्यार्थी स्नातक तहको पहिलो वर्षका, दोस्रो वर्षका, तेस्रो वर्षका र चौथो वर्षका सबै तहका छन् । मलाई उनीहरु बीचमा नै पढाइ छोडेर कतै जाउन् जस्तो लाग्दैन । कमसे कम स्नातक तहचाहिँ पूरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ । तर उनीहरुको अनुहारको अधैर्यताले कुरा मिले आजभोलि नै उडिहाल्ने जस्तो देखाउँछ ।
कसैकसैलाई म फकाउन पनि खोज्छु, “तिमीहरुजस्ता युवा किन देश छोडेर जानू हँ ? यहिँ पढ । पढेपछि भनेजस्तो काम यहिँ पाइहाल्छ नि ! फेरि, तिमीहरु सबै विदेश लागे हाम्रो देश चाहिँ कसले बनाउँछ ?” उनीहरु तुरुन्त जवाफ दिन्छन्, “आ म्याम, केही पनि हुँदैन यहाँ । कामै छैन । साथीहरु सबै कोही जापान, कोही कोरिया, कोही अष्ट्रेलिया अनि कोही क्यानाडा गैसके । म नि जाने प्रोसेसमा छु ।” उनीहरुको उत्तर सुनेर म निरुत्तर हुन्छु । हुन पनि हो, दिनानुदिन देशको खच्किँदै गएको अवस्था देखेर मेरो मनभित्रसमेत यिनीहरुको सुनिश्चित् भविष्यको बारेमा शंकै छ नि !
यसरी कक्षा १२ सकिनेबित्तिकै विदेश पलायन हुन चाहने विद्यार्थीको जमात मैले पढाउने क्याम्पसमा मात्र देखिएको होइन । वरिपरिका क्याम्पसका शिक्षकहरु पनि यसै भन्नुहुन्छ । अनि यो हाम्रो क्षेत्रको मात्र समस्या होइन, देशैभरि यही लहर चलेको छ । आम सञ्चारका माध्यमले यही कुराको पुष्टि गर्छन् । हालसालै प्रकाशित एउटा समाचारका अनुसार आर्थिक वर्ष २०२३/२४ मा मात्रै एक लाखभन्दा बढी विद्यार्थीले नेपाल छोडे । यो निकै सोचनीय कुरा छ ।
हुन त नेपालको परिप्रेक्षमा ‘ब्रेन ड्रेन’ कुनै नौलो कुरो होइन । तुलनात्मक रुपमा पहिले पहिले मानिसहरु यहाँ स्नातकोत्तर तह पूरा गरिसकेपछि विद्यावारिधि गर्नका लागि विदेशका विश्वविद्यालय रोज्ने गर्थे । अनि स्नातकोत्तर गर्ने सबै व्यक्तिको छनोट विद्यावारिधि पनि हुने गर्दैनथ्यो । जसलाई अध्ययनमा रुचि छ र छात्रवृत्ति पाउने सम्भावना छ अथवा जसले आफ्नो कार्यालयबाट अध्ययनको सुविधा पाउँथे ती मात्र पढ्न विदेश जान्थे र उता आफ्नो उन्नयनको अवसर राम्रो देख्ता कतिपय उतै पलायन हुन्थे भने कतिपय फर्केर नेपालमा नै आइ यसैलाई कर्मभूमि बनाउँथे । अलिपछिदेखि स्नातकोत्तर गर्न नै विदेश जाने चलन आयो । यो जमात पहिलो जमातभन्दा अलि बढी नै विदेशी भूमितिर लोभियो । यसको मुख्य कारण नेपालमा दिनानुदिन बढ्दै गएको बेरोजगारीको समस्यालाई लिन सकिन्छ । त्यो समयमा स्नातक तहमा नै विदेश पढ्न जानेहरुको संख्या न्यून नै थियो । जो आर्थिक रुपमा सम्पन्न थिए, उनीहरुका छोराछोरीको मात्र पहुँच थियो विदेशी विश्वविद्यालयमा ।
अहिले यो चित्र पूरै फेरिएको छ । अब १२ कक्षा पास गरेपछि नेपालमै बसेर पढ्छु भन्ने विद्यार्थीको संख्या खच्कँदै गएको छ । के उच्च वर्गको, के मध्यम वर्गको, के निम्न वर्गको — सबै वर्गका केटाकेटीको रोजाइ विदेश नै भएको छ । यसरी स्नातक तहमा नै बाहिर पढ्न जाने विद्यार्थीको चाप बढी भएर शिक्षा मन्त्रालयले १२ पास गरेर विदेश पढ्न जाने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ (जुन विदेशमा पढ्न जाने सबै विद्यार्थीका लागि अनिवार्य हुन्छ) दिन पनि बन्द गरेको थियो तर विद्यार्थीको दबाबलाई यस्तो नियमले थाम्न सकेन र पुनः यो फुक्का गरियो ।
हिजोआज बुद्धिजीवी वर्गमा यस्तो किसिमको व्यापक ब्रेन ड्रेन नै चासो र चिन्ताको विषय बनेको छ । यसरी नै माध्यामिक तहको शिक्षा पूरा गर्नेबित्तिकै विद्यार्थीको बाहिर पढ्न जाने क्रम चलिरहने हो भने अबको ५/७ वर्षमा नेपालमा विश्वविद्यालय स्तरको शिक्षा नै समाप्त भएर जान सक्ने उनीहरुको अनुमान छ । तर बिडम्बना के छ भने जुन पक्षले यो विषयमा चासो लिनुपर्ने हो, त्यो पक्षचाहिँ यतातिर उदासीन देखिन्छ । देशको शैक्षिक स्थिति किन यसरी खच्किँदैछ भनेर राज्यले यसको सुधारका लागि पहल गर्नुपर्ने हो तर त्यस्तो देखिँदैन । किन हाम्रा युवाहरुको आफ्नो देशप्रति पटक्कै विश्वास छैन ? अहिले टड्कारो रुपमा देखिएका कारणमा देशको अस्थिर राजनैतिक अवस्था, चरम भ्रष्टाचार र नातावाद कृपावाद नै देखिन्छन् ।
एकातिर यसरी देश छोड्नेको जमात दिनानुदिन बढ्दैछ भने अर्कातिर एउटा राजनैतिक दलले विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा नै आएर काम गर्नका लागि आव्हान गरेको छ । यति मात्र होइन, यो दलले यहाँ आउने व्यक्तिहरुका लागि काम उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यसरी स्वदेश बोलाइएका व्यक्तिमा मूलतः डाक्टर, नर्स र इन्जिनियरहरु छन् । के विदेशमा स्थापित भैसकेका र नेपालको तुलनामा तलव पनि उच्च तहकै खाने यी डाक्टर, इन्जिनियर फर्केर आउलान् त ? उनीहरु आफ्नालागि यहाँको वातावरण उचित् देख्लान् ? हालसालै नेपालमा अन्धाधुन्ध बिरामीका आफन्तले स्वास्थ्यकर्मीलाई कुट्ने प्रचलन बढेको देखेर त केहिले देशको मायाले फर्किने सोचेको भए पनि आफ्नो योजना तुरुन्त रद्द गरे होला ।
देशको नैराश्यपूणर् परिस्थिति र जनमनोविज्ञानको प्रभावमा परेर हाम्रा युवाहरु देश त छोड्दैछन् । तर के उनीहरुले विदेशमा आपूmले सोचेजस्तो जीवन बिताउन पाएका होलान् त ? नेपालमा हुँदा केहि काम नगरेका, भरखर १८ वर्ष टेक्दै गरेका यी केटाकेटीले विदेशी भूमिमा टेक्नेबित्तिकै दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ — पढ्नु र आफ्नो खर्च जुटाउनका लागि काम गर्नु । कतिपयका आमाबाबुले त छोराछोरीलाई विदेश पढ्न पठाउनका लागि ऋण लिएको हुन्छ । त्यो ऋण चुकाउने जिम्मा पनि यिनै कलिला काँधमाथि थपिन जान्छ । सक्छन् उनीहरु यति ठूलो जिम्मेवारी वहन गर्न ? यसरी पढ्न जाने युवाहरु आफ्नो लक्ष्यप्राप्तीमा कत्तिको सफल भएका छन् ? यसको केहि लेखाजोखा छ हामीसँग ?
विदेशी विश्वविद्यालयहरुको त हाम्रोजस्तो देशका विद्यार्थी लगेर पढाउनु एउटा ठूलो व्यापार मात्र हो । उनीहरुले ती देशको अर्थतन्त्र विकास गर्न पनि निकै ठूलो भूमिका खेलेका हुन्छन् । नेपाल राष्ट्र बैंकको एउटा आंकडाअनुसार बितेका केहि महिनाभित्र मात्रै नेपाली विद्यार्थीले विभिन्न देशका विश्वविद्यालयमा शुल्क तिर्न करीब ७५ अरब नेपाली रुपैयाँ खर्च गरे । एकातिर देश कंगाल हुँदैछ, अर्कातिर यत्रो पैसा विदेसिँदैछ ।
यसरी हेर्दा अहिले १२ कक्षा पास गर्नेबित्तिकै विदेश ताक्ने विद्यार्थीहरुको जुन प्रचलन बढेको छ, यसलाई तत्काल राज्यले सम्बोधन गर्नुपर्छ । नत्र यसले चाँडै नै विकराल समस्याको रुप लिने देखिन्छ । स्नातक तहमा घट्तै गएको विद्यार्थी संख्या अलि अलि गर्दै निकट भविष्यमा शून्यमा पुग्न के बेर ? अनि हाम्रो विश्वविद्यालय शिक्षाको अस्तित्व के हुन्छ ?
benumonash@gmail.com