मुख्य सम्पादकीय

कृषिमा महिला ः रहर कि बाध्यता ?

नेपालको परम्परामा पुरुषहरुले कृषि कार्य गर्ने गरेको पाइन्छ । पुरुषहरुले बाहिरको र समाजको काममा लाग्ने चलन छ । भनाई नै छ, महिलाहरुको घर । यस्तैगरी महिलाहरुले भने घरभित्र अर्थात् भात भान्सा र पाहुना सत्कारको काम गर्ने भन्ने पुरानो मान्यता छ । तर यो मान्यतामा पछिल्ला दिनमा केही बद्लाव आएको देखिन्छ । महिलाहरु घर परिवारमा मात्र सीमित नभएर घर बाहिरको काममा समेत संलग्न हुन थालेका छन् । अझ कतिपय अवस्थामा त उनीहरुले पुरुषले गर्दै आएका चुनौतीपूणर् काममा समेत हात हाल्ने गरेको भेटिन्छ । यसैक्रममा पुरुषहरुले गर्ने कृषि कार्यमा समेत कतिपय महिलाहरु सकृय हुन थालेको देखिन्छ ।
कृषि कार्यमा महिलाको संलग्नता र सकृयता उनीहरुको रहर भन्दा पनि बढी बाध्यता रहेको प्रष्ट छ । यसको कारणमा घरका मूली पुरुषहरु वैदेशिक रोजगारीमा जानु या देशभित्रै पनि कामको सिलसिलामा टाढा रहनु रहेको छ । आजभोली नेपालका हरेक जिल्लाहरुमा घरैपिच्छेका पुरुषहरु रोजगारीका लागि विदेशमा छन् । यतिबेला विदेशमा कुन घरका पुरुष अर्थात् लोग्ने मान्छे छैन भनेर चाहीँ सोध्ने बेला छ । कोही विदेशमा अध्ययनका लागि गएका छन् भने कोही रोजगारीका लागि गएको पाइन्छ । देश भित्र रोजगारीको अवसर छैन । उच्च शिक्षा अध्ययनका लागि पनि उपयुक्त वातावरण छैन । यहाँ त २ वर्षको कोर्षलाई ३ वर्ष, ३ वर्षको लाई ४ र ४ वर्षको लाई ५ वर्ष लागिरहेको छ । फेरि राजनीतिक अस्थिरता, बन्द, हड्ताल, विद्यार्थी संगठनहरुको गतिविधिका कारण भनेजस्तो अवस्था छैन । युवा र वयस्क पुरुषहरु खाडी राष्ट्रदेखि लिएर युरोप, अमेरिका र जापान जस्ता देशहरुमा गएका छन् । विदेशीने युवाहरुको संख्या हेर्दा स्थिति कहालीलाग्दो छ । यो दुर्भाग्यको कुरा हो ।
नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश मानिसहरु खेतीकिसानीमै निर्भर छन् । धेरैजसो निर्वाहमुखी खेती हुने गरेको छ । व्यावसायिक खेती कमै हुने गरेको छ । उद्योग धन्दा र कलकारखानाहरु भनेजति छैनन् । पहिले भएका पनि बन्द भएका छन् । राज्य र सरकारले जनतालाई आय आर्जनका लागि उपयुक्त वातावरण दिन सकेको छैन । युवाहरु विदेशीनुका पछाडी यही कारण हो । यस्तो अवस्थामा महिलाहरु बाध्यताले पुरुषले गर्ने काममा अग्रसर हुनुपरेको छ । यो उनीहरुको रहर होइन, बाध्यता हो । घर भित्रको पनि र घर बाहिरको पनि काम गर्नुपर्दा त्यसै पनि सकस त हुनेनै भयो । तर यो दोहोरो जिम्मेवारी र सकस सँधै भरि महिलाहरुले थेग्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न तपाई हामी सामुन्ने खडा छ ।
झापाको गौरादह नगरपालिका वडा नम्बर ७ गछियामारीका महिलाहरु पछिल्लो समय कृषि उद्यममा सकृय बन्दै गएको पाइएबाट पनि उनीहरुको स्थिति झल्किन्छ । पशुपालनदेखि तरकारी खेती समेत उनीहरुले गर्दै आएका छन् । कतिपयले राम्रै कमाइ पनि गरेको पाइन्छ भने कतिपयको मिहेनत भनेजति उपलब्धि प्राप्त नगरी पनि सकिएको पाइन्छ । महिलाहरुले गरेको आम्दानीबाट घर परिवारको खर्च धान्नेदेखि छोराछोरी पढाउने सम्मको काम भएको देखिएको छ । यसबाट पुरुषहरुलाई पनि सघाउ र सहयोग त भएको छ । तर पुरुषहरुले घरबाहिरै जानुपर्ने या रहनुपर्ने बाध्यताले भने परिवारलाई विखण्डीत गरेको कुुरालाई सुखद मान्न सकिँदैन ।

You may also like