खेल मुख्य

ग्लोबलका विद्यार्थीले जिते फुटसलको उपाधि

३० साउन, दमक । झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीका विद्यार्थीको टिम डिपीएल टिन्स बोर्डले आयोजना गरेको फुटसल प्रतियोगिताको मुख्य विजेता बन्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार दमक–५ स्थित गोर्खाली टोलको फुटसल मैदानमा भएको कक्षा ११ र १२ तहका विद्यार्थीहरुबीचको फुटसल प्रतियोगितामा सर्वोत्कृष्ट भएर ग्लोबल एकेडेमी उपाधि हात पार्न सफल भएको हो । आफ्नो विद्यालय फुटसलमा विजेता बनेकोमा गर्व लागेको भन्दै खेलमा सहभागी विद्यार्थी खेलाडीहरुलाई ग्लोबल एजुकेशनल एकेडेमीका प्रिन्सिपल गुणराज अधिकारीले बधाई दिएका छन् ।
झापा र मोरङको माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ तह स्तरीय सो प्रतियोगितामा दमकका १३, कमल गाउँपालिकाका १ र मोरङको उर्लाबारीका २ वटा गरी जम्मा १७ वटा टिमको सहभागिता रहेको थियो ।
दुई दिने सो प्रतियोगितामा ग्लोबलले प्रथम भएर २० हजार नगद, ट्रफी र प्रमाण पत्र हात पारेको छ । दोस्रो हुने उर्लाबारीको पशुपति आवासीय मा.वि.ले नगद १० हजार सहितको पुरस्कार प्राप्त गरेको छ ।
डाइनामिक पब्लिक लाइब्रेरी अन्तर्गतको डिपीएल टिन्स बोर्डले विद्यार्थीहरुमा खेलप्रतिको रुचि जगाउन र उनीहरुमा भएको क्षमता प्रदर्शन गर्दै प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले सो प्रतियोगिताको आयोजना गरेको जनाएको छ । फुटसल प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि आर.एन. थुलुङ्ग र बेष्ट किपरको उपाधि दिप्सन धमलाले पाएका छन् ।

Author

You may also like