८ जेठ, दमक । गत वैशाख २१ मा दमकमा गोली प्रहारबाट सख्त घाइते भएकी एक किशोरी खर्च अभावले अस्पतालबाट डिस्चार्ज हुन सकेकी छैनन् ।
दमकमा गोली प्रहारबाट घाइते उदयपुर घर भएकी किशोरी एरिका गजमेरलाई उपचार खर्च अभाव भएपछि अस्पतालबाट डिस्चार्ज हुन नसकेकी हुन् । हिमालय माविमा अध्ययन गरी मोडल क्याम्पसको परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर निस्किदै गरेकी उनलाई बाटोमा गोली प्रहार भएको थियो । गर्धनमा प्रहार गरिएको गोली उनको पेटमा लागेको थियो । गोलीको छर्रा लागेर उनको आन्द्रामा सात वटा प्वाल परेको थियो । स्थानीय लाइफलाइन अस्पतालमा उपचाररत उनलाई अस्पतालले तीन दिनअघि नै डिस्चार्ज दिएको थियो । उपचारका क्रममा करिब ६ लाख बिल भएको र सो रकम तिर्न नसक्दा उनी डिस्चार्ज हुन नपाएकी हुन् । उनकी दिदीले ऋण गरेर करिब डेढ लाख अस्पताललाई बुझाएको र बाँकी रकम तिर्न असमर्थ भएको बताइन् ।
यसैबीच, उनी अध्ययरत हिमालय माविका शिक्षक र विद्यार्थीहरुले उनको उपचारका लागि ४५ हजार बढी रकम आर्थिक सहयोग संकलन गरेर बुझाएका छन् । नगरपालिका कार्यालय, उद्योग वाणिज्य संघ सहितका संघ संस्थासँग सहयोगको अपेक्षा गरेर माग गरेको प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले जनाए ।
‘उपचार खर्च तिर्न नसक्दा अस्पतालले बिदा दिएकै छैन । अब यत्रो पैसा कसरी तिर्ने थाहै छैन ।’ एरिकाले भनिन् । दमकमा दिदीसँगै डेरा गरेर उनलाई करिब दुई वर्ष अघि सिराहाका शिक्षक सिरहाका अमितकुमार यादवले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि यादव विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । त्यसयता फरार उनले मुद्दा फिर्ता लिन नमान्दा एरिकालाई ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरेको हुनसक्ने परिवार र पीडितको भनाई छ । सोही बमोजिम प्रहरीमा यादव विरुद्ध उजुरी दिइएपनि अहिलेसम्म प्रहरीप्रहरीले पक्राउ गर्न नसकेको भन्दै परिवारले दुःख व्यक्त गरेको छ । परिवारले असुरक्षा महसुस गरिरहेको छ ।