सोमबार अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइएको छ । युवा दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले दिनानुदिन विदेश पलायन भईरहेको युवा शक्तिलाई रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने विषय गम्भिर रहेको बताएका छन् । राष्ट्रप्रमुखको हैसियतबाट आएको यो अभिव्यक्तिले नेपालमा युवाहरुको अवस्था के छ भन्ने प्रष्ट पारेको छ । तर कुनै भिजन र योजना विना आउने राष्ट्र प्रमुखको यस्ता भनाई र गराईमा तारतम्य कहिल्यै मिल्न नसक्नु नै नेपाली युवाको दुर्भाग्य भएको छ । १६ देखि ४० वर्ष समूहका झण्डै आधा जनसंख्या ४३ प्रतिशत युवाको देखिन्छ । तर पनि राज्यले ती युवाहरुको उपयोगिता नबुझेकै कारणले लाखों युवा अर्काको गुलामी गर्दै अर्काकै देश बनाउन यौवन शक्ति खर्चिरहेका छन् । नेपाल भने तिनै युवाहरुले पठाउने रेमिट्यान्सले देशको अर्थव्यवस्थामा टिकेको भन्दै खुशीयाली व्यक्त गरिरहेको छ ।
नेपालका शासकहरुको इच्छाशक्ति कम हुने र आफु बाहेक अरुलाई नदेख्ने परिपाटीले गर्दा पनि युवा जनशक्ति अत्याधिक मात्रामा विदेश पलायन भएको देखिन्छ । कहिले काँही त लाग्छ यो देश बुढाहरुको मात्र हो । बुढैले युवामाथि शासन गर्ने देशको रुपमा चित्रित भएको छ । होनाहार एक से एक युवाहरु देश निर्माणमा जुट्न खोज्छन, आफ्नो परफमेन्स देखाउँछन् तर उनीहरुको योग्यता, क्षमता, कला र प्रतिभालाई करकारले कदरै गर्दैन । तब हतोत्साही मन बोकेर परिवार, समाज र राष्ट्र छोडेर विदेशिन्छन् ।
संयुक्त राष्ट्र संघले युवाका मुद्धाहरूलाई स्थापित गर्न प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा १९९९ देखि विश्भर यो दिवस मनाउने गरिएको हो । तर नेपालले २००४ देखि यो दिवस मनाउने प्रचलन ल्याएको थियो । यद्यपि ७ दशक बढी समयसम्म युवा दिवस मनाउँदा पनि युवाप्रतिको सकारात्मक सोच अझै बुढा शासकहरुमा पस्न सकेको छैन । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दलगत र व्यक्तिगत स्वार्थमै केन्द्रीत गराएर प्रयोग गर्ने परिपाटी कायमै छ । तिनीहरुको दिमागमा गुलामी र चाकडी बजाए मात्र हुन्छ भन्ने भावनाको संस्कार बसाईदिएको छ । त्यही कारणले दल वा व्यक्तिकेन्द्रीत युवा आफ्नोले गल्ति गर्दा आँखा चिम्लिने र अरुले गल्ति गर्दा मात्र खोल्ने परिपाटी बसाएका छन् । गलतलाई र गलत र सहिलाई सहि भन्न सक्ने युवाशक्तिको त्यो दिमाग बुढा नेता र तिनको नेतृत्वले दबाईदिएको छ । कुनै घटना परिघटनामा अरुको हुँदा बेस्सरी खरो रुपमा उत्रिने र त्यही घटना आफ्नोमा भयो भने दैधचरित्र प्रदर्शन गर्ने परिपाटीले युवाहरुले समेत विश्वास गुमाउँदै गएको देखिन्छ । अनि दिवसमा युवाहरुका कुरा गरेर नथाक्नेहरुले युवाका लागि ल्याइएको योजना कार्यान्वयनबाट फाइदा खोज्ने प्रचलन पनि बसेकै छ ।
युवाका नाममा धेरै कार्यक्रम सरकारले ल्याएको छ । उनीहरुको व्यक्तित्व विकासदेखि रोजगारसम्मका ती कार्यक्रममा पनि दलगत र व्यक्तिगत स्वार्थमा केन्द्रीत भएका छन् । सरकारको पहुँचमा नभएको व्यक्तिले त्यस्ता सुविधा पाउनै निकै कठिन छ । समान दृष्टिकोण र सोचको विकास नेपालमा भएको छैन ।
रोजगार बनाउनका सरकारले विभिन्न कार्यक्रम ल्याएपनि ती प्रभावकारी कार्यान्वयनका नभई भान्सेहरुले मनपरितन्त्र गरेको देखिन्छ । मुलुकमा रोजगारी र स्वरोजगारमुखी कार्यक्रम नहुँदा लाखौं युवा विदेशिनुको विकल्प पनि देखिँदैन । भएका कलकारखाना सबै सिध्याएका छन् । नयाँको परिकल्पना गर्न सक्ने सामथ्र्य नै अहिलेसम्मको नेतृत्वमा देखिएको छैन । अनि तिनै युवाका सन्दर्भमा बोल्ने नेताका कुरा सुन्दा नेपालमा युवालाई धेरै प्राथमिकतामा राखेर काम गरे झै पारेको देखिन्छ । यथार्थपरक समस्याहरू खोजिनीति गरी अध्ययन, विश्लेषण र समस्या समाधान गर्ने गतिलो रणनीति राज्यसँग छैन् । बरु आन्दोलन, बन्द–हड्ताल गर्न, भौतिक संरचना तोड्फोड् गर्न अघि सारिन्छ । युवामा भएभरको क्षमता यस्तै खालका विध्वंसात्मक कार्यमा प्रयोग हुंँदै आएको छ । बौद्धिक तथा सकारात्मक क्रियाकलापहरूमा आप्mनो क्षमता प्रस्तुत गर्ने र ध्यान केन्द्रित गर्ने अवसर पाएका छैनन् । यो अत्यन्त दुखको कुरा हो । आजका युवा नै भोलिका राष्ट्रका कर्णधार हुन् । उनीहरूलाई उचित शिक्षा दिक्षा, रोजगारको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । यसतर्फ सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर सरकारले सिर्जना गर्न सक्नु पर्दछ । हिजोको इतिहास कालखण्डलाई साक्षी राखेर युवाहरुकै सहभागिताबाट आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा निर्णायक सहभागिता योगदानका आधारमा पनि युवा लक्षित कार्यक्रम र योजना बन्नुपथ्र्यो । युवालाई राज्य सञ्चालकको हकदार, नीति नियम बनाउने र त्यसलाई अक्षरशः पालनामा अगाडि बढाउन सक्नु पर्दछ । रोजगारमूलक शिक्षाका माध्यमबाट उनीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने र उसले लिएको त्यो ज्ञान, सीप र क्षमतालाई कम्तीमा १० वर्ष देशका निम्ति योगदान दिनुपर्ने बाध्यताकारी व्यवस्था नल्याएसम्म अब युवा देशमा अडिन गाह्रो र असम्भवप्राय देखिन्छ ।