हरेक वर्ष जेठ १५ गते आउँदा नेपाली जनताले एउटा ऐतिहासिक दिन सम्झिन्छन् । यो केवल पात्रोमा अंकित एउटा मिति मात्र होइन, यो हजारौं ज्ञात–अज्ञात सहिदहरूको बलिदान, जनताको आँसु, संघर्ष, विद्रोह र परिवर्तनको सपना बोकेको दिन हो । २००७ सालयता गत भदौको २३, २४ गते भएको जेनजी विद्रोहसम्मका अनेकन राष्ट्रिय, क्षेत्रीय, जातिय, पेशाकर्मी, अधिकारकर्मीहरुका आन्दोलन, जनआन्दोलन, जनयुद्ध, क्रान्ति जे जे नाम दिइए पनि यसको रुप अनि प्राण नै यहि गणतन्त्रभित्र अडिएको छ । यही दिनलाई हामी गणतन्त्र दिवसका रूपमा मनाउँछौं । तर आज प्रश्न उठ्न थालेको छ – के हामीले प्राप्त गरेको गणतन्त्र जनताको अपेक्षाअनुसार चलिरहेको छ ? वा यो केही सीमित व्यक्तिहरूको सुविधाभोगी संरचनामा सीमित हुँदै गएको छ ?
नेपालमा गणतन्त्र स्थापना हुनु कुनै सामान्य घटना थिएन । शताब्दीयौं लामो राजतन्त्रको अन्त्य गर्दै जनताले आफ्नै भाग्य र भविष्य आफैं लेख्ने अधिकार प्राप्त गरेका थिए । २०६५ साल जेठ १५ गते संघीय संसदबाट गणतन्त्र घोषणा हुँदा नेपाली जनताको मनमा एउटा नयाँ आशा जन्मिएको थियो । अब देशमा समानता हुनेछ, विभेद हट्नेछ, भ्रष्टाचार अन्त्य हुनेछ, नागरिकले स्वतन्त्र रूपमा बोल्न पाउनेछन्, र राज्य साँच्चिकै जनताको हुनेछ भन्ने विश्वास थियो ।
त्यो समय सम्झँदा अझै पनि धेरैका आँखामा पुराना दृश्यहरू ताजै छन् । गाउँ–सहरमा बोल्न पाइँदैनथ्यो । स्वतन्त्र विचार राख्नु अपराध मानिन्थ्यो । आलोचना गर्नेहरूलाई रातारात पक्राउ गरिन्थ्यो । डर र त्रासले समाज बाँधिएको थियो । जनताले लोकतन्त्र र स्वतन्त्रताको सपना देखेका थिए, तर त्यो सपना साकार बनाउन धेरैले जेल, नेल, यातना र मृत्युसम्म भोगे ।
झापा, इलाम, रोल्पा, रुकुमदेखि काठमाडौंसम्म जनताका आवाजहरू दबाइएका थिए । तर गीत, कविता, नाटक र सांस्कृतिक अभियानहरूले परिवर्तनको चेतना फैलाइरहेका थिए । विद्यालयका प्रांगणहरूमा गुञ्जिने जनवादी गीतहरूले समाजलाई प्रश्न गर्न सिकाइरहेका थिए । गिटार, मादल, हार्मोनियम र बासुरीका धुनहरूमा केवल मनोरञ्जन थिएन, त्यहाँ विद्रोहको आवाज थियो ।
त्यो समयका युवाहरूले समाजलाई बदल्ने सपना देखेका थिए । उनीहरू विश्वास गर्थे कि परिवर्तनपछि एउटा न्यायपूर्ण देश निर्माण हुनेछ । तर आज त्यही पुस्ताले प्रश्न गरिरहेको छ– के परिवर्तन साँच्चै जनताको पक्षमा भयो ?
गणतन्त्रपछि देशको राजनीतिक संरचना बदलियो, संविधान बन्यो, संघीयता आयो, निर्वाचन भए । तर आम जनताको जीवनमा अपेक्षित परिवर्तन देखिन सकेन । जनताको स्तर उकासिनुभन्दा नेताहरूको जीवनशैली बदलियो । हिजो जनताको नाममा आन्दोलन गर्नेहरू आज शक्तिको केन्द्रमा पुगे । सहिदका सपना ओझेलमा परे ।
गणतन्त्रको मूल मर्म भनेको जनताको सर्वोच्चता हो । तर अहिले जनताले महसुस गर्न थालेका छन् कि सत्ता फेरियो, शैली फेरिएन । भ्रष्टाचार, भागबन्डा, नातावाद, अवसरवाद र सत्ताको दुरुपयोगले गणतन्त्रको आत्मालाई कमजोर बनाइरहेको छ । जनताले बलिदान दिए, तर लाभ सीमित वर्गले उठायो भन्ने अनुभूति बढ्दै गएको छ ।
आज नेपाली राजनीति गम्भीर मोडमा उभिएको छ । पुराना दलहरू जनविश्वास गुमाउँदै गएका छन् । नयाँ पुस्तामा निराशा बढिरहेको छ । सामाजिक सञ्जालमा आक्रोश छ, सडकमा असन्तुष्टि छ, र युवाहरू देश छोड्ने लहरमा छन् । यो केवल आर्थिक समस्या मात्र होइन, यो राजनीतिक भरोसाको संकट पनि हो ।
जनताको मनमा एउटा गहिरो प्रश्न छ– यदि गणतन्त्रले जनताको जीवनमा न्याय, अवसर र सम्मान दिन सकेन भने यसको औचित्य के रहन्छ ?
यही असन्तुष्टिबाट नयाँ राजनीतिक चेतना जन्मिन थालेको छ । पछिल्ला निर्वाचनहरूले जनताले विकल्प खोजिरहेको संकेत दिएका छन् । युवापुस्ता अब पुराना भाषण होइन, परिणाम चाहन्छ । उनीहरूलाई नाराभन्दा काम चाहिएको छ ।
तर यसबीच एउटा अर्को खतरनाक प्रवृत्ति पनि बढिरहेको छ– गणतन्त्रप्रति नै वितृष्णा फैलाउने प्रयास । केही शक्तिहरू जनताको असन्तुष्टिलाई प्रयोग गरेर फेरि पुरानो व्यवस्थालाई महिमामण्डित गर्न खोजिरहेका छन् । सामाजिक सञ्जाल, युट्युब र विभिन्न माध्यममार्फत “गणतन्त्र असफल भयो” भन्ने भाष्य निर्माण गरिँदैछ ।
तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने असफलता गणतन्त्रको होइन, गणतन्त्र सञ्चालन गर्ने नेतृत्वको हो । एउटा प्रणाली आफैं खराब हुँदैन, त्यसलाई चलाउने व्यक्तिहरूको नियत र व्यवहारले त्यसको मूल्य निर्धारण गर्छ ।
लोकतान्त्रिक गणतन्त्र संसारभर सफल अभ्यासका रूपमा स्थापित प्रणाली हो । जनताको सहभागिता, अभिव्यक्ति स्वतन्त्रता, समान अधिकार र विधिको शासन यसको आधार हो । नेपालमा पनि यही मूल्य स्थापित हुनुपर्ने थियो । तर दुर्भाग्यवश सत्ता केन्द्रित राजनीति, दलगत स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले प्रणालीलाई कमजोर बनायो ।
आजको आवश्यकता भनेको दोषारोपण होइन, आत्मसमीक्षा हो । राजनीतिक दलहरूले विगतका गल्ती स्वीकार गर्नुपर्छ । जनताबाट टाढिएको राजनीति फेरि जनतामाझ फर्किनुपर्छ । सहिदहरूको बलिदानलाई भाषणमा मात्र सीमित राखेर हुँदैन, व्यवहारमा उतार्नुपर्छ ।
मिडियाको भूमिकामाथि पनि प्रश्न उठेको छ । कुनै समय परिवर्तनका पक्षमा उभिएका केही सञ्चारमाध्यमहरू अहिले सनसनी र स्टन्टबाजीमा केन्द्रित देखिन्छन् । सत्य र जिम्मेवारीभन्दा ‘भ्यूज’ र ‘ट्रेन्ड’ प्राथमिकतामा परेका छन् । यसले समाजमा भ्रम, घृणा र विभाजन बढाइरहेको छ ।
लोकतन्त्र र गणतन्त्रको रक्षा केवल नेताहरूको जिम्मेवारी होइन । नागरिक समाज, बुद्धिजीवी, पत्रकार, युवा, विद्यार्थी र आम जनता सबैले आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । आलोचना गर्नुपर्छ, तर विनाश होइन सुधारको बाटो देखाउने गरी ।
आजको पुस्ताले इतिहास बुझेको छ । उनीहरूले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया र राजनीतिक संक्रमण सबै पढेका छन् । त्यसैले उनीहरूलाई झुटो राष्ट्रवाद, खोक्रा भाषण र भावनात्मक नाराले धेरै समयसम्म भ्रमित राख्न सकिँदैन ।
नेपाललाई अब नयाँ राजनीतिक संस्कार चाहिएको छ । सत्ता कब्जाको राजनीति होइन, सेवा र उत्तरदायित्वको राजनीति चाहिएको छ । जनताको करबाट विलासिता होइन, विकास हुनुपर्छ । युवाले विदेशिने बाध्यता होइन, देशमै सम्भावना देख्न पाउनुपर्छ । किसानले उत्पादनको मूल्य पाउनुपर्छ । श्रमिकले सम्मान पाउनुपर्छ । न्यायालय स्वतन्त्र हुनुपर्छ । प्रशासन पारदर्शी हुनुपर्छ ।
गणतन्त्रको वास्तविक सफलता त्यतिबेला प्रमाणित हुन्छ, जब नागरिकले आफूलाई राज्यको मालिक महसुस गर्छन् । जब एउटा सामान्य नागरिकले पनि अन्यायविरुद्ध खुलेर बोल्न सक्छ । जब राज्यले पहुँचवालाको होइन, कानुनको शासन चलाउँछ ।
हामीले बुझ्नुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने व्यवस्था बदल्नु मात्र पर्याप्त हुँदैन, सोच बदलिनुपर्छ । यदि मानसिकता पुरानै रह्यो भने नयाँ व्यवस्था पनि पुरानै रोगबाट ग्रसित हुन्छ ।
आज गणतन्त्र संकटमा छ भने त्यसको कारण जनता होइनन् । जनता अझै पनि आशावादी छन् । उनीहरू अझै पनि देश बन्न सक्छ भन्ने विश्वास गर्छन् । तर त्यो विश्वास जोगाइराख्ने जिम्मेवारी नेतृत्वको हो ।
राजनीतिक दलहरू एकअर्कालाई दोष दिएर मात्र उम्किन सक्दैनन् । गणतन्त्रलाई यो अवस्थामा कसले पुर्यायो भन्ने प्रश्नबाट भाग्न मिल्दैन । अब पनि समय छ( आत्मसमीक्षा गर्ने, गल्ती सच्याउने र जनताप्रति इमानदार बन्ने ।
हामीले फेरि सम्झनुपर्छ, यो गणतन्त्र कुनै नेताको उपहार होइन । यो लाखौं नेपाली जनताको संघर्षको उपलब्धि हो । सहिदहरूको रगतले लेखिएको इतिहास हो । त्यसैले यसलाई व्यक्तिगत स्वार्थ, दलगत घमण्ड र सत्ताको खेलमा समाप्त हुन दिनु हुँदैन ।
आज गणतन्त्र दिवस मनाइरहँदा सबैभन्दा ठूलो आवश्यकता राष्ट्रिय एकताको हो । दलहरूबीच मतभेद हुन सक्छ, विचार फरक हुन सक्छ, तर देश र व्यवस्थामाथि खेलबाड गर्ने छुट कसैलाई हुनु हुँदैन ।
गणतन्त्रलाई बलियो बनाउन जनताको विश्वास जित्नुपर्छ । विश्वास भाषणले होइन, कामले जितिन्छ । पारदर्शिता, सुशासन, उत्तरदायित्व र जनसेवामार्फत मात्र गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ ।
यदि हामीले अहिले पनि चेतेनौं भने इतिहासले फेरि कठोर प्रश्न सोध्नेछ । भावी पुस्ताले सोध्नेछन्– यति धेरै बलिदानपछि प्राप्त व्यवस्था किन जोगाउन सकिएन ?
त्यसैले आजको दिन केवल उत्सवको दिन होइन, आत्ममूल्यांकनको दिन पनि हो । हामीले आफूलाई सोध्नुपर्छ– हामी गणतन्त्रका सच्चा संरक्षक हौं कि केवल नाराका व्यापारी ?
अब अनिर्णयको बन्दी बनेर बस्ने समय छैन । परिवर्तनको सपना देख्ने हो भने जिम्मेवारी पनि बोक्नुपर्छ । जनताको बलिदानको सम्मान गर्ने हो भने गणतन्त्रलाई सही दिशामा डो¥याउनुपर्छ ।
आउनुहोस्, सहिदहरूको सपना अधुरो नरहोस् भनेर प्रतिबद्ध बनौं । विभाजन होइन, एकता रोजौं । निराशा होइन, सुधारको बाटो समातौं ।
गणतन्त्रलाई कमजोर बनाउने होइन, जनताको वास्तविक शासन प्रणाली बनाउने अभियानमा जुटौं ।
– गणतन्त्र जिन्दावाद ।

Author

You may also like