अपराध कला/साहित्य/संस्कृति देश–समाज समाचार

रौनकतालाई थाँती राख्दै हरितालिका तीज र गणेश चतुर्थी

दमक/ तीज भन्नेबित्तिकै धेरैका आँखामा रातो सारी, हरियो चुरा, पोते, दर र नाचगानको दृश्य आउँछ । तर यस वर्षको तीजमा त्यो उल्लास केही मधुरो देखियो । देशका विभिन्न स्थानमा भएका बाढीपहिरो र विपद्का घटनाले धेरै परिवार शोकमा छन् । यही पीडाबीच पनि नेपाली महिलाले तीजको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन् ।
हरितालिका तीजका अवसरमा दमकसहित झापाका विभिन्न देवालय तथा कोशी प्रदेशका शिवालयमा सोमबार बिहानैदेखि महिला भक्तजनहरु पुजापाठमा सरिक भएका थिए । महिलाहरू निराहार व्रत बसेर शिव–पार्वतीको पूजा, आराधना र दर्शनमा सहभागी भए । विहानीको समयमा विगतमा जस्तो तीजको चहलपहल र तडकभडक नदेखिए पनि मन्दिर पुगेका महिलाहरूले पूजापाठसँगै आफन्त तथा साथीभाइसँग भेटघाट गरे । कतिपयले मोबाइलबाट तस्बिर खिचे, सामाजिक सञ्जालमा तीजका गतिविधि सार्वजनिक गरे, टिकटक बनाए, सेल्फी खिचेर मनोरञ्जन लिए ।
दमकका विभिन्न शिवालयमा बिहानैदेखि पुगेका व्रतालु महिलाले श्रीमानको दीर्घायु, परिवारको सुख–शान्ति र समृद्धिको कामना गरे । दमकको पशुपति मन्दिरमा साँझमा आरतीसँगै महिलाहरुको उपस्थिति भव्य थियो ।
अविवाहित महिलाले योग्य जीवनसाथीको कामना गर्दै पूजा आराधना गरे । कतिपयले भने यसपटक आफ्नो व्यक्तिगत खुसीभन्दा देशमा विपद्मा परेका परिवारको उद्धार, घाइतेको उपचार र घरवारविहिन भएकाको चाँडै घरबार होस भन्ने शान्तिको कामना गर्दै
शिवको आराधना गरे ।
‘देश दुखेको बेला तीजको खुसी पनि अधुरो हुन्छ’ भन्ने भाव धेरै भक्तजनमा देखिन्थ्यो । बाढीपहिरोमा ज्यान गुमाएका, घरबार गुमाएका र आफन्त गुमाएका परिवारको पीडाले तीजको उत्सवलाई समेत संयमित बनाएको उनीहरूको भनाइ थियो ।
तीजको स्वरूप भने समयसँगै बदलिँदै गएको छ । एक समय विवाहित चेलीका लागि तीज माइती पुग्ने दुर्लभ अवसर थियो । वर्षभरि कर्मघरको काममा व्यस्त हुने महिलाका लागि माइतीको आँगनमा पुगेर दिदीबहिनीसँग भेट्नु, सुखदुःख साट्नु र मनका कुरा गीतमार्फत पोख्नु नै तीजको ठूलो खुसी थियो ।
अहिले यातायात, सञ्चार र सामाजिक सञ्जालको विस्तारसँगै तीजको स्वरूप फेरिएको छ । तीज आउनुअघि नै दर खाने कार्यक्रम सुरु हुन्छन् । रेस्टुरेन्ट, पार्टी प्यालेस र विभिन्न संघसंस्थाले कार्यक्रम आयोजना गर्छन् । रातो पहिरन र गरगहनासहितका तस्बिर सामाजिक सञ्जालमा छाउने गरेका छन् । दमकमा पनि यस्ता गतिविधि बढेका छन् ।
तर पुरानो पुस्ताका लागि तीज अझै पनि माइती, चेलीबेटी र आत्मीय सम्बन्धसँग जोडिएको पर्व हो । नयाँ पुस्ताले भने यसलाई धार्मिक आस्थासँगै भेटघाट, मनोरञ्जन र सामाजिक अभिव्यक्तिको अवसरका रूपमा लिन थालेको देखिन्छ ।
यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीजले सांस्कृतिक परम्पराको संरक्षणसँगै महिला अधिकार, समानता र सशक्तीकरणको अभियानलाई बलियो बनाउनुपर्ने बताएका छन् । शुभकामना सन्देशमार्फत उनले भोटेकोशी बाढीबाट मुलुक शोकमा रहेकाले यसपटक तीज संयमित र सहयोगी भावनाका साथ मनाउन आग्रह गरे । तीज केवल व्रत र पूजाको पर्व मात्र होइन, नेपाली महिलाको जीवन, सम्बन्ध, संस्कार र बदलिँदो सामाजिक अवस्थाको कथा पनि हो । यसको रूप बदलिँदै जाँदा मौलिकता जोगाउने चुनौती पनि थपिएको छ ।
यस वर्षको तीजले एउटा सन्देश भने दिएको छ–खुसी मनाउन दुःख बिर्सनुपर्दैन, बरु आफ्नो खुसीमा दुःखमा परेकालाई सम्झन सकिन्छ । त्यसैले देश पीडामा रहेका बेला दमकदेखि कोशीका शिवालयसम्म पुगेका महिलाहरूले आस्थासँगै सहानुभूति र मानवीयताको प्रार्थना गरेका छन् ।

Author

You may also like