० जो व्यक्ति सधैँ “शिष्ट”, “उचित” वा सामाजिक रूपमा पूर्ण रूपमा “ठीक” देखिनुपर्ने दबाबमा बाँच्छ, ऊ प्रायः सधैँ नै दुखी हुन्छ ।०

‘खुसी खोज्दै मान्छे मेरामा आउँछन्, दुख लाग्छ’ भन्ने दलाइ लामाको यो वाक्य आज म सम्झिरहेको छु । हामी पंधेरामा पुगेर तीर्खा लाग्यो भन्ने जमानाका मान्छे परेछौं क्यार । त्यही भएर यो लेख लेख्नु परिरहेको छ ।

दुई हजार वर्षभन्दा बढी समयदेखि गम्भीर नैतिकतावादीहरूको बीचमा सुखलाई तुच्छ, निम्नस्तरीय र सम्मान गर्न नहुने कुरा भनेर निन्दा गर्ने चलन चल्यो । शताब्दीयौँसम्म स्टोइक दार्शनिकहरूले सुखको पक्षमा वकालत गर्ने ग्रीसेली दार्शनिक एपिक्युरसको विरोध गर्दै त्यसलाई “सुँगुरको दर्शन” भने र आफ्नो कथित उच्च नैतिकता देखाउन उनका बारेमा अनेकौँ घृणित झूटा आरोपहरू पैmलाए । उनीहरूमध्येका क्लिन्थेसले, कोपर्निकीय खगोलीय प्रणालीको समर्थन गरेको कारण अरिस्टार्खसलाई कार्वाही गर्नुपर्ने माग गरे ।

अर्का, मार्कस औरेलियसले इसाईहरूको उत्पीडन गरे र सेनेका त निरोका अत्याचारहरूको सहयोगी बने, अपार धनसम्पत्ति जोडे, र बोउडिसियालाई यति चर्को ब्याजदरमा ऋण दिए कि उनी विद्रोह गर्न बाध्य भइन् ।

त्यसपछि करिब दुई हजार वर्ष छोडेर हेर्दा हामी ती जर्मन प्राध्यापकहरूसम्म आइपुग्छौँ, जसले यस्ता विनाशकारी सिद्धान्तहरू प्रतिपादन गरे, जसका कारण जर्मनी आफ्नो पतनतर्फ गयो र बाँकी संसार आजको जोखिमपूर्ण अवस्थासम्म पुग्यो । ती सबै विद्वानहरूले सुखलाई तुच्छ ठाने । बेलायती चिन्तक कार्लाइलले पनि यही धारणा अपनाए । उनले बारम्बार हामीलाई सुखको खोजी त्यागेर “धन्यता” को खोजी गर्नुपर्छ भनेर उपदेश दिए । तर उनले धन्यता निकै विचित्र स्थानहरूमा भेटे—क्रोमवेलद्वारा आयरल्यान्डमा गरिएको नरसंहारमा, फ्रेडरिक द ग्रेटको रक्तपिपासु विश्वासघातमा, र गभर्नर आयरद्वारा जमैकामा गरिएको निर्मम दमनमा र वास्तवमा, सुखप्रतिको तिरस्कार प्रायः अरू मानिसहरूको सुखप्रतिको तिरस्कार नै हुन्छ । र यो मानव जातिप्रतिको घृणालाई सभ्य देखिने आवरणले छोप्ने एउटा सुन्दर उपाय बन्छ । कुनै व्यक्ति साँच्चै कुनै आदर्शका लागि आफ्नै सुख त्याग्छ भने पनि, सामान्य स्तरको सुख उपभोग गर्ने मानिसहरूप्रति उसमा ईष्र्या रहिरहन्छ । यही ईष्र्याले आफूलाई सन्त ठान्ने मानिसहरूलाई पनि धेरैजसो अवस्थामा निर्दयी र विनाशकारी बनाउँछ । आजको युगमा यस मानसिकताको सबैभन्दा महत्तवपूर्ण उदाहरण कम्युनिस्टहरू हुन् ।

मानिसहरूका जससँग जीवन कसरी बिताउनुपर्छ भन्ने आफ्नै सिद्धान्तहरू हुन्छन् नि, त्यसबेला तिनले मानव स्वभावका सीमाहरू बिर्सन्छन् । यदि जीवनशैली कुनै एउटै सर्वोच्च लक्ष्य प्राप्त गर्नका लागि आफ्ना प्राकृतिक इच्छाहरूलाई निरन्तर दबाएर राख्नुपर्ने खालको छ भने, समयसँगै त्यो लक्ष्य नै स्वयंलाई अप्रिय लाग्न थाल्छ, किनभने त्यसलाई प्राप्त गर्न अत्यधिक प्रयास आवश्यक पर्छ । प्राकृतिक अभिव्यक्तिको बाटो बन्द गरिएका इच्छाहरूले अन्ततः अन्य कुनै बाटो खोज्छ, जस्तो कि द्वेष वा कटुताको रूपमा । यदि कसैले आफूलाई कहिलेकाहीँ मात्र आनन्द लिन अनुमति दिन्छ भने, त्यो आनन्द पनि निजको जीवनको मूल प्रवाहसँग सम्बन्धविहीन भई केवल उश्रृंखल, मदमत्त र सतही बन्छ ।

यस्तो प्रकारको आनन्दले साँचो सुख प्रदान गर्दैन; बरु यसले मानिसलाई अझ गहिरो निराशातर्फ धकेल्छ ।

नैतिकतावादीहरूका बीचमा एउटा प्रचलित भनाइ छ—सुखलाई सिधै पछ्याएर सुख प्राप्त गर्न सकिँदैन । तर यो कुरा तब मात्र सत्य हुन्छ, जब त्यसको खोजी अविवेकपूर्ण ढङ्गले गरिन्छ । उदाहरणका लागि, जुवाडेहरू धन कमाउने उद्देश्यले खेल्छन्, तर तिनीहरूमध्ये अधिकांशले धन गुमाउँछन् । यसको अर्थ धन कमाउने सबै उपाय असफल हुन्छन् भन्ने होइन; धन प्राप्त गर्ने अरू धेरै उपायहरू सफल पनि हुन्छन् । सुखको खोजीका हकमा पनि यही कुरा लागू हुन्छ । यदि मान्छे मदिराको सहारामा सुख खोज्छभने, त्यसपछि आउने पीडादायी ‘ह्याङ्गओभर’ लाई उसले बिर्सिरहेको हुन्छ ।

एपिक्युरसले जीवनमा मिल्ने साथीहरूको संगतमा बसेर, सुक्खा रोटी खाएर, र चाडपर्वका दिन मात्र थोरै चीज थपेर आफ्नो सुखको खोजी गरे । उनको हकमा यो उपाय सफल भयो । तर उनी स्वयं दुर्बल स्वास्थ्य भएका व्यक्ति थिए, र अधिकांश मानिसहरूका लागि यति सरल जीवनशैली पर्याप्त हुँदैन; उनीहरूलाई जीवनमा केही बढी सक्रियता र ऊर्जा चाहिन्छ । भोजन पनि नवीन चाहिन्छ ।

धेरैजसो मानिसहरूका लागि, यदि सुखको खोजीलाई अन्य आवश्यक पक्षहरूले सन्तुलित नगरिने हो भने, त्यो अत्यन्तै अमूर्त र सैद्धान्तिक मात्र रहन्छ, जसले व्यक्तिगत जीवनको पर्याप्त मार्गदर्शन गर्न सक्दैन ।

धेरै मानिसहरूसँग सुखका लागि आवश्यक भौतिक आधारहरू—जस्तै राम्रो स्वास्थ्य र पर्याप्त आम्दानी—हुन्छन् । तर पनि तिनीहरू गहिरो रूपमा दुःखी हुन्छन् । यस्तो अवस्था विशेष गरी पश्चिमाहरूमा धेरै देखिन्छ । यस्ता अवस्थामा समस्या बाह्य परिस्थितिमा होइन, बरु जीवन कसरी बिताउने भन्ने गलत धारणामा रहेको जस्तो देखिन्छ ।

जीवन कसरी जिउने भन्ने कुनै पनि कठोर सिद्धान्त अन्ततः अपूर्ण नै हुन्छ । हामी आफूलाई जनावरहरूभन्दा धेरै फरक ठान्छौँ । जनावरहरू आफ्ना स्वाभाविक प्रवृत्तिका आधारमा बाँच्छन्, र बाह्य परिस्थिति अनुकूल रहेसम्म सुखी हुन्छन् । यदि पालेको बिरालोलाई पर्याप्त खाना, न्यानोपन, र कहिलेकाहीँ राति स्वतन्त्र रूपमा घुमफिर गर्ने अवसर मिल्यो भने, त्यो जीवनसँग सन्तुष्ट रहन्छ ।

मानिसका आवश्यकताहरू बिरालाका भन्दा धेरै जटिल छन्, तर तिनको आधार पनि अन्ततः सहज प्रवृत्तिमै रहेको हुन्छ । सभ्य समाजहरूमा यो तथ्य सजिलै बिर्सिने गरिन्छ । मानिसहरूले आफ्नो जीवनका लागि कुनै एउटा सर्वोच्च उद्देश्य निर्धारण गर्छन् र त्यस उद्देश्यलाई सहयोग नगर्ने सबै स्वाभाविक इच्छाहरूलाई दबाउँछन् । जस्तो कि कुनै व्यापारी यति धेरै धनी बन्न चाहन्छ कि त्यसका लागि उसले आफ्नो स्वास्थ्य र पारिवारिक तथा व्यक्तिगत सम्बन्धहरू समेत बलिदान गर्छ । अन्ततः जब ऊ धनी बन्छ, तब उसलाई बाँकी रहने आनन्द भनेको अरूलाई पनि आफ्नो तथाकथित आदर्शको अनुकरण गर्न उपदेश दिँदै सताउनु मात्र हुन्छ । ० अर्को हप्ता क्रमशः

Author

You may also like