कला/साहित्य/संस्कृति देश–समाज मुख्य समाचार स्थानीय

दमक ज्येष्ठ अभिभावक समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

दमक  । दमक ज्येष्ठ अभिभावक सेवा समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले विधान संशोधन गर्दै यसअघि रहेको सात सदस्यीय कार्यसमितिलाई ११ सदस्यीय बनाएको छ । संशोधनपछि विद्यमान कार्यसमितिमा चार जना सदस्य थप गरिएको हो ।
शनिबार पशुपतिनाथ मन्दिरको सभाहलमा दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले अध्यक्षमा अमृतबहादुर विष्ट, उपाध्यक्षमा भुपेन्द्रप्रसाद नेउपाने, सचिवमा गंगा लिम्बु र कोषाध्यक्षमा रमेश गौतमलाई निरन्तरता दिएको छ ।
विधान संशोधनपछि कार्यसमितिमा खगेन्द्र बास्तोला, नवीन पाठक, तुलसा सिग्देल बस्नेत, त्रिप्ता ढकाल, तोया ढकाल, राधिका कार्की र अम्बर कुमाल सदस्यका रूपमा रहेका छन् । यसअघि सात सदस्यीय रहेको कार्यसमितिलाई संस्थाको कार्यक्षेत्र विस्तार तथा सबै वडाको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले ११ सदस्यीय बनाइएको समाजले जनाएको छ ।
साधारणसभाका अवसरमा ५० जना ज्येष्ठ बुबासहित उत्कृष्ट वडा कार्यालय तथा समाजका विभिन्न उपसमितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, वडाध्यक्ष, जनप्रतिनिधि, समाजका सल्लाहकार, संस्थापक, पूर्वपदाधिकारी तथा विभिन्न सामाजिक र धार्मिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
सभामा संस्थाको प्रगति प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, भावी कार्यक्रम तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनअनुसार समाजले ज्येष्ठ नागरिकको संरक्षण तथा सम्बद्र्धनका लागि विभिन्न वडामा अनुगमन, अन्तरक्रिया तथा गोष्ठी सञ्चालन गर्दै आएको छ ।
त्यस्तै, पशुपतिनाथ मन्दिरमा प्रत्येक शुक्रबार सन्ध्याकालीन भजनकीर्तन तथा आरती, आमाहरूलाई सम्मान, मानव उद्धार आश्रममा खाद्यान्न वितरण, बालआश्रमका बालबालिकालाई झोला तथा खाद्यान्न वितरण र दातालाई सम्मानलगायतका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
साधारणसभाले नगर कार्यसमिति, उपसमिति तथा वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यका लागि ६० वर्ष उमेर सीमा तोक्नुका साथै सबै वडाको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । बैंक खाता सञ्चालनमार्फत आर्थिक पारदर्शिता कायम गर्ने तथा विभिन्न नीति, नियम र नियमावलीसमेत संशोधन गरिएको छ ।
संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा १२ लाख १० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको जनाएको छ । सो अवधिमा कुल मौज्दात ४ लाख २३ हजार रुपैयाँभन्दा बढी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

Author

You may also like