मुख्य स्थानीय

‘धर्मको नाममा विभेद हुनु हुँदैन’

दमक, ५ पुस।

दमक नगरपालिका प्रमुख रामकुमार थापाले धर्मका नाममा समाजमा विखण्डन आउन नहुने बताएका छन् । उनले आपसी समन्वयले मात्र समाजलाई सही दिशामा अघि लान सकिने बताए । धर्मका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेला उनले धर्मका नाममा समाज विभाजित गर्न नहुने कुरामा जोड दिएका छन् ।
उनले भने- ‘जुन धर्म लिए पनि धर्म कसैको पेवा नहुने बरु सबै धर्मको एउटै उद्देश्य भनेको पापबाट मुक्त पाउँनु रहेको छ । चाहे बाइवलमा होस् या रामायणमा, बेदमा या कुरानमा र पुराणमा जुन धर्मग्रन्थ अध्ययन गरेपनि पापको बाटो छोड्नु र पुण्यको बाटो समाउनु अर्थात कसैले पनि अधर्म नगर्नु भन्ने नै पाइन्छ ।’
ख्रीष्टमसको वडा दिन मनाउँदै दमकमा दमक नगर इसाई समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले धर्मका नाममा हुने विभेद मान्य नहुने बताए । ‘मान्छे समान हुन् । धर्म सबैले मान्छन्, सबैको धर्मलाई आफूले सम्मान गर्नेछु ।’- उनले भने ।
कार्यक्रममा इसाई धर्मावलम्बीका अग्रज पास्टरहरु, अनुयायीहरुको उपस्थिति रहेको थियो । समाजले बर्षेनी ख्रीष्टमसका अवसरमा आफ्ना अनुयायीसंगै सामाजिक कार्यमा विभिन्न गतिविधिहरु गरिआएको छ । समाजका अध्यक्ष आकास थुलुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख थापा, दमक ६ का वडाअध्यक्ष टेकबहादुर थापा, अन्तर धार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष राजकुमार राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा इसाई समाजमा आवद्ध संगीतकर्मीहरुले गीत, नृत्यहरु समेत प्रस्तुत गरेका समाजका सचिव अजय पाठकले जानकारी दिए ।
यसैबीच, दमक- १ निवासी विशिष्ट लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी ) सम्मानित भएका छन् । ख्रीष्टमसको अवसर पारेर दमक नगर इसाई समाजले शुभकामना आदानप्रदान कार्यक्रमका वीच ८७ वर्षीय जोशीलाई गीतसंगीतको क्षेत्रमा योगदान पुर्‍याएबापत सम्मान गरेको हो । कार्यक्रममा सम्मानित व्यक्तित्व जोशीले आफना पूराना लोकगीतहरु प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । उनलाई नगर प्रमुख थापाले सम्मानपत्र, नगद प्रदान गरे ।

Author

You may also like