अर्थ मुख्य

नेपालको ऋण बढ्यो

दमक, ५ पुस।

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सरकारले आन्तरिक र बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ ऋण लिएको छ ।
आर्थिक वर्ष सुरु भए लगत्तै आन्तरिक ऋणमा केन्द्रित भएको सरकारले पाँच महिनामा अधिकतम ८४.७९ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बाँकी १९ अर्ब ९७ करोड २ लाख रुपैयाँ बाह्य ऋण उठाएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । योसहित मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको आकार २३ अर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।
तथापि, वैदेशिक ऋणतर्फ चालु आर्थिक वर्षको विनिमय दरको प्रभावलाई गणना नगरिएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण कूल २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । पाँच महिनाको अवधिमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानमा ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको रिपोर्ट अनुसार सरकारले मंसिर मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कूल ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ साँवा र ब्याज भुक्तान गरेको हो । आन्तरिकतर्फ कूल ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तान गरेकोमा ऋणको सावाँतर्फ ४२ अर्ब ८४ करोड १६ लाख रुपैयाँ भुक्तान गरिएको र बाँकी ब्याजमा २७ अर्ब ७२ करोड २३ लाख रुपैयाँ भुक्तान गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । बाह्य ऋणतर्फ समीक्षा अवधिमा कूल २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ भुक्तान गरिएकोमा सावाँतर्फ १६ अर्ब ५३ करोड १६ लाख रुपैयाँ घटाइएको र ब्याज ४ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ भुक्तान गरिएको कार्यालयले जनाएको छ ।
प्राप्त रिपोर्ट अनुसार मंसिर मसान्तसम्ममा भुक्तान गर्न बाँकी सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ कायम भएको छ ।

You may also like