अर्थ देश–समाज मुख्य समाचार स्थानीय

कोशीका उत्पादनलाई विश्व बजारमा पु¥याउने

दमक/ कोशी प्रदेशमा उत्पादित बस्तुलाई विश्व बजारमा पुर्याउन प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ । उत्पादित चिया, अलैँची, रुद्राक्ष, छुर्पी, सुन्तला, अल्लो, ढाका, खाडी लगायतका वस्तुको उच्च सम्भावना रहेको उल्लेख गर्दै यिनलाई विश्व बजारसँग जोड्न प्रदेश सरकारले सहजीकरण गर्ने भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशभित्र उत्पादित उच्च मूल्ययुक्त कृषि तथा वन पैदावारजन्य वस्तुको ब्राण्डिङ र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि प्रदेश सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । विराटनगरमा आयोजित ‘निर्यात सम्भावना प्रवद्र्धन प्रदेशस्तरीय कार्यक्रम’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
नेपालमा उत्पादन हुने ९० प्रतिशतभन्दा बढी चिया कोशी प्रदेशमै उत्पादन हुने स्मरण गराउँदै उनले भने, “हाल करिब ६ अर्बको चिया निर्यात भइरहेकामा यसको सम्भावना ५० अर्बभन्दा बढीको छ, यसका लागि अन्तर्राष्ट्रिय बजार विस्तार अपरिहार्य छ ।” छुर्पीको बजारमा अझै ८५ प्रतिशत ‘ग्याप’ रहेको र अलैँचीको बजारसमेत पुनः लयमा फर्किरहेकाले गुणस्तर कायम राख्न कृषक र व्यवसायी सचेत हुनुपर्नेमा उनले जोड र्दिए ।
उत्पादन ढुवानीका क्रममा स्थानीय तहहरूले ठाउँ–ठाउँमा दोहोरो कर असुल गर्दा व्यवसायी मारमा परेको भन्दै मुख्यमन्त्री कार्कीले कडा आपत्ति जनाए ।
ताप्लेजुङमा उत्पादन भएको अलैँची झापा पुग्दासम्म विभिन्न पालिकाले कर लिने परिपाटीले व्यवसायी धराशायी हुने चेतावनी दिँदै उनले भने, ‘स्थानीय स्वायत्त शासन तथा कानुनविपरीत बाटोपिच्छे कर उठाउने कार्य तत्काल रोक्न प्रमुख सचिव र सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छु ।’
मुख्यमन्त्री कार्कीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई कोशी प्रदेशमै निम्त्याएर स्थानीय उत्पादनको अन्तरक्रिया र प्रदर्शनी गराइने योजना सार्वजनिक गरे । साथै विदेशस्थित नेपाली दूतावास र गैरआवासीय नेपालीहरूमार्फत पनि उत्पादनको बजारीकरणमा सहजीकरण गरिने उनको भनाइ थियो। प्रदेशका कर्मचारीलाई स्थानीय अल्लो, ढाका र खाडीको पोसाक अनिवार्य गरिएको र घरेलु उद्यमीलाई परियोजना धितोमा सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान उपलब्ध गराइरहेको उनले जानकारी दिए ।

Author

You may also like