समाचार

बाढीले बगायो ‘सीमा स्तम्भ’

दमक/मेची नदीमा आएको बाढीले जिल्लाको एउटा मुख्य सीमा पिलर बगाएको छ । नदीले कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा ११२ नम्बर सीमा पिलर बगाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका प्रवक्ता तथा डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
केही दिनको अविरल वर्षाले नेपाल–भारतको सीमा भएर बग्ने मेची नदीमा पानीको बहाव बढेको थियो । नदीले पाठामारीको तटीय क्षेत्र कटान गर्ने क्रममा सोमबार दिउँसो ४ बजे नेपाल–भारतको एउटा मुख्य सीमा पिलर बगाएको डिएसपी भण्डारीले बताए ।
मेचीमा पानीको बहाव बढेपछि नदी आसपासका रहेका दुई दर्जन बढी सानो सीमा पिलर पनि डुबानमा परेका उनले जनाकारी दिए । नदीले तटीय क्षेत्र कटान गर्नेमा क्रममा केही दिनअघि मात्र पिलर नजिकै रहेका रुखहरू बगाएर लगेको थियो । स्थानीय कमल गणेशले भने, ‘त्यसबेला पिलर मात्र बाँकी थियो, त्यो पिलर पनि बगाएर लग्यो ।’ पिलर बगाएको दक्षिणतर्फ भारतीय बस्ती छ, पूर्वतर्फ नेपाली बस्ती । ‘समयमा तटबन्ध गरिएको भए सीमा पिलरसँगै तटीय क्षेत्रका जमिन जोगाउन सकिन्थ्यो,’ उनले भने । मेची नदीले यसरी नै तटीय क्षेत्र कटान गर्दै लैजाने हो भने भारतीय बस्तीसँगै नेपाली बस्ती पनि बगाएर लैजाने खतरा बढ्न सक्ने भारतीय नागरिक उपेन्द्र साहले बताए ।
११२ सीमा पिलर नजिकै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पाठामारीले सुरक्षा दिइरहेको छ । सशस्त्र प्रहरीको पोस्ट पनि बगाउने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । सीमा पिलर जोखिममा रहेको भन्ने बारेमा एक वर्षअघि नै सम्बन्धित निकाय जानकार थियो । तर, कोरोना महामारीका कारण त्यसलाई जोगाउन सकिएन । नेपाल–भारतको संयुक्त सीमा फिल्ड सर्वे टोलीले सीमा पिलरहरू केही समस्या देखिएमा संयुक्त रुपमा काम गर्नुपर्ने दुवै देशको सरकारको नीति छ । कोरोनाले गर्दा डेढ वर्षदेखि झापासँग जोडिएको सीमा पिलरको स्थलगत निरीक्षण हुन नसकेको डिएसपी भण्डारीले बताए ।

Author

You may also like