बुद्ध एयरको विमानबाट काठमाडौमा ओर्लने बित्तिकै राजधानीका अनेकौं अकल्पनीय अवयवहरु पर्दामा देखिए । विमानस्थलमा हिजो जस्तो अव्यवस्थित वातावरण थिएन । कुनै ट्याक्सीवालाले कसैको हात समातेर तानेको पनि देखिएन । सामान लछारपछार गरेको पनि देखिएन । मान्छेका सीमानाहरु प्रष्टै कोरिएका देखिन्थे  । मान्छेका सीमानाहरुले एउटा व्यवस्थित समाजको कल्पना गरिरहेका थिए । एउटा सभ्य समाजको निर्माण गरिरहेका थिए । एउटा सुन्दर राज्यको कल्पना गरिरहेका थिए । एउटा प्रशंशनीय युगको वकालत गरिरहेका थिए ।
माइलो भाइले गाडी लिएर बाहिर पर्खिरहेको थियो । एउटा अव्यवस्थित हिजोको काठमाडौ सम्झदै खाडलमा पसेको मान्छे निकै दङ्ग पर्न पुग्यो । त्यो हिजोको धूलोको साम्राज्य जस्तो पनि थिएन । त्यो हिजोको धुवाँ र धूलोको सिरक ओढेर ताजा र स्वच्छ हावाको खोजीमा हिंडनेहरुको कठीन जीवन जस्तो पनि थिएन । त्यो साँधुरा गल्ली र पेटीमा जीवनको जोखिम मोलेर हिंड्ने भुईंमान्छेहरु त्राशको आकास ओढेर हिंडनेहरुको लावालस्कर पनि थिएन । अनि बाटाका छेउहरु फोहोर प्लाष्टिक र कुहिएका जैविक तत्वहरुले यत्रतत्र दुर्गन्ध पैmलाएर नाक छोपेर हिंड्न बाध्य बुबुरा नेपालीहरुको लावालस्कर पनि थिएन ।
बरु बाटाहरु धुलो पखालेर कञ्चन थिए । धुलो उडाएर आँखाको कसिंगर प्mयाँकिरहेका थिए । बरु कतैकतै पानीका फोहरालाले स्नान गरिरहेका थिए ती सडकहरु । अनि छेउछेउका पेटीहरुमा रोपिएका पूmल र गमलाहरु लहरै स्वागत गरिरहेका थिए खाडलमा सपना देख्न र ती सपना पूरा गर्न आतुर ती नेपाली बबुराहरुको भीडलाई । ती नेपालको कुनाकन्दराबाट आएका थिए । आइरहेकै छन् । भोलि पनि आइरहने छन् । ‘गाउँ गाउँमा सिंहदरवार’ भनेर जवरजस्त भाष्य निर्माण गरेर यो समयलाई कुरुप बनाएरै छाड्नेहरुले बनाएका सपनाका कथाहरुले थिलथिलो पारेका मानिसहरुको लावालस्कर थियो त्यहाँ । ती विहानदेखि बेलुकासम्म सडकका हरेक किनारामा हिंडिरहेका हुन्छन् । तिनका गाडी पनि छैनन् । रिक्सा पनि थिएनन् । तिनलाई बोक्ने बस नीजि सवारी साधनको बृद्धिसंगै पातलिंदै थिए । त्यसैले तिनका गन्तव्य पाइतालामा थिए ।
भोलिपल्ट थियो मंशिर ९ गते, २०८० । स्वास्थ्य व्यावसायी दुर्गा प्रसाईं यो कुरुप समयको खिलापमा काठमाडौंका सडकमा थिए । यो राजनैतिक व्यावस्थाले सिर्जना गरेका कुरुप कोलाजहरुको विरुद्धमा थिए उनी । लाखौं मान्छे भेला भएका थिए काठमाडौमा । र ती भनिरहेका थिए ती सडकहरुलाई, सुनाइरहेका थिए ती सडकहरुलाई — शासन भनेको सत्ता कब्जा मात्रै हो, सडक ? राजनीति भनेको सत्ता, पद, पैसा र शक्ति आर्जन गर्नु मात्रै हो ? साना व्यापारी सिध्याउनु हो ? देशको अर्थतन्त्र सीमित मान्छेहरुको हातमा सुम्पेर कथित संबृद्धिको रटान लगाएर झुक्याइरहनु राजनीति हो ? राष्ट्रले ऋण लिएर राजनीतिको माध्यमले आएका कार्यकर्ताहरु (वडादेखि केन्द्रिय मन्त्रीमण्डलसम्म) र कर्मचारीलाई तलव खुवाउने र राष्ट्रिय पूँजिको विकास नगरी युवाहरुलाई विदेश पलायन गराएर रेमिट्यान्सको बलमा सुन्निएर मोटाएको मान्छे जस्तो देशको अर्थतन्त्रमा गौरव गर्ने मूर्ख शासकहरुका कथा संप्रेषण गर्नेहरुको समय मौलाएको क्षण थियो त्यो । तिनका ती निर्गतिला अभिव्यञ्जनाहरु रिठ्ठो नबिराई संप्रेशण गर्ने राष्ट्रिय सञ्चार माध्यमहरु दुर्गा प्रसाईं र उनको निष्ठालाई धारेहात लगाइरहेका थिए । तिनका आवाजहरुलाई निस्तेज पार्न अनेकौं तगाराहरु निर्माण गर्न महेश बस्नेतहरु ‘गोपीकृष्ण कहो’ भन्दै भनाउँदै आइरहेका थिए ।
त्यहाँ देशको पहिचान खोज्न आएका दुर्गाप्रसाईहरु देशको पहिचान मेटाएर गौरव गर्ने स्वाँठहरुको निशानामा परिरहेका थिए । ती लाठी खाइहेका थिए । ती अश्रुग्याँस खाइरहेका थिए । ती पानीका फोहोरा खाइरहेका थिए । ती तीन सय किलोमिटर टाढाबाट आएका भुईं मान्छेहरुका भुक्के चप्पल, प्लास्टीकका चप्पल र जुत्ता सडकभरि बिस्कुन लगाएर खालिखुट्टा भाग्दै भाग्दै हिंडेका भुईमान्छेहरु सुकिला मान्छेहरुको राज्यको चरित्र बुभ्mदै थिए बल्ल ।
निकै दिन चलेको त्यो आन्दोलन एउटा व्यक्तिले राज्यसंग गरेको आन्दोलन थियो । त्यसैले त्यो आन्दोलनको निर्मम हत्या भयो । सडक गुञ्जिरहेको थियो । हामी सडकको आवाज सुनिरहका थियौं । तर सुनेर पनि सुनेनौं । देखेर पनि देखेनौं । लम्पसार मरणासन्न भएको सडक सिथिल लडिरहेको थियो ।
सडकको आवाज क्लिस्ट थियो । त्यही आवाज सुन्दै हामी सिद्राको व्यापारमा लाग्यौं पशुपतिनाथको मन्दिरतिर । दुख लाग्यो जब त्यहाँ यस्तो लेखिएको सूचनामा आँखा पुगे ‘अन्ली हन्दिुज मे इन्टर’ (हिन्दुहरुका लािग मात्र) । सबैको पहुँचमा बनाइदिएको भए हिन्दु धर्म र पशुपतिनाथको प्रचार संसारभर राम्ररी हुन्थ्यो नि ! खैर, यसका आप्mनै तर्क होलान । अर्को कुरा, हामी लाइनमा उभिँदा सयौं मान्छे थियौं, तर बिडम्बना, त्यहाँ मंगोलीयन अनुहार मुस्किलले तीन प्रतिशत थिए । यसरी नेपाली समाजको एउटा महत्वपूर्ण जुइना खुस्काउँदै गरेको जस्तो लाग्यो । हामी कता जाँदै छौं, र हाम्रो चेतना कता जाँदै छ, मलाई पीडाबोध भयो । किन पशुपतिनाथ आम नेपालीका धरोहर बन्न सकेनन् ? त्यहाँ असी प्रतशित भारतीय मूलका मानिस थिए जो हिन्दी भाषा मात्रै जान्दथे । ‘नजिकको तीर्थ हेला’ किन बनाइयो ? कसले बनायो ?
त्यसपछि हामी बुढानिलकण्ठ गयौं । पुराण चलिरहेको थियो । पण्डीत कथा भन्न भन्दा चन्दादाताहरुको नाम भन्न ब्यस्त थिए । अनि संगीतका पारखीहरु ठूलो स्वरमा भजनमा थिए । कान टटाउनेगरी । अनि महिला र चन्दादाताहरु नाच्नमा व्यस्त थिए । कथा त कता हरायो हरायो । ज्ञान त कता हरायो हरायो । किन चाहियो त्यो ज्ञान जुन ज्ञानको आवश्यकता नपर्ने सभ्यतामा ?
अर्को दिन हामी चोभार ब्लुज हेर्न मञ्जुश्री पार्कतिर गयौं । साथमा जीवन संगीनी जानुका, भाइ अम्बिका र दुलही शोभा थियौं । मञ्जुश्रीले डाँडो काटेर काठमाडौको खाडलको पानी तराइतिर खोलेर बगाएपछि काठमाडौमा बस्ती बस्न थालेका कथा सानैमा पढेको सम्झना आयो । यस्ता मिथकहरुले त यो हाम्रो सभ्यता धनी र सम्पन्न बनाएका छन् । यस्ता लाखौं मिथकहरु यत्रतत्र अलपत्र छन् । गर्भमै छन् । अस्ताएका छन् । लुप्त छन् । माटामुनि छन् । तिनले यो देशलाई चिनाउने थिए । तर दुर्भाग्य, त्यस्ता नीधिहरु मासेर ‘महान’ परिवर्तन ल्याउन उद्दत भीड छ हामीसंग । त्यही भएर होला हामी रित्तिंदै गएका छौं । हाम्रो उचाइ रित्तिँदै गएको छ । हाम्रो आवाज विलय हुँदै गएको छ ।
चोभारको त्यो गन्धे खोलाले काठमाडौको फोहोर नबगाए के हुन्थ्यो ? हामी विराटनगर फर्किंदा श्री एयरको विमान थियो । त्यसमा एउटा बिहे पनि थियो । गज्जव त के भयो भने कांग्रेस सांसद रामहरि खतिवडा सबैभन्दा पछि जहाजमा छिरे । तिनले सर्ट पैंट लगाएका थिए । उनी प्रवेश गर्दै गर्दा बेहुलाका बाले नमस्ते गरे । सायद चिनेका थिए होला । उनी प्रभावशाली युवा सांसद पनि हुन् । तर गज्जव के भयो भने बाँकी कसैले पनि उनलाई नमस्ते गरेनन् । उनी आपैंm के बोल्दै आए र पछाडिको सिटमा बसे । मलाई निकै दुख लाग्यो । हात त मेरा उठेका होइनन्, तर उठाएँ । उनले चिन्ने कुरा पनि थिएन । तर यो समयले देश बनाउँछौं भनेर चर्को आवाज निकाल्नेहरुलाई कसरी किनाराकृत गरिरहेको छ भनेर हेर्ने यो भन्दा अर्को प्रमाण के हुन सक्छ ? किन तिनीहरु किनाराकृत भइरहेका छन् त ? यो सोच्ने गिदी तिनीहरुको भएको भए समय उनीहरुकै लागि यति क्रुर किन बन्थ्यो ?

Author

You may also like