स्थानीय

कमलमा ट्रयाक्टर भाडा निर्धारण

कमल, ५ पुस।

झापाको कमल गाउँपालिकामा कृषि प्रयोजनमा लागि प्रयोग हुने ट्याक्टरको दररेट तोकिएको छ । मनपरी ढंगबाट रकम असुल्ने प्रवृत्ति बढेपछि त्यसमा एकरूपता ल्याउन र किसानलाई ठगिनबाट रोक्नका लागि दररेट निर्धारण गरेको हो । झापामा नै पहिलो पटक पालिकाले किसानले जोताइमा प्रयोग गर्दाको दररेट तोकेको हो ।
गाउँपालिकाका अध्यक्ष हुकुमसिं राईका अनुसार रोडाभेटरबाट जो जोतेबापत किसानले प्रतिघण्टा दुई हजार तिर्नु पर्नेछ । यसभन्दा अघि २५ सय रुपियाँसम्म ट्याक्टरहरूले असुल्दै आएका थिए । टयाक्टरहरुले मनपरी रूपमा किसानबाट रकम असुल्दा पनि स्थानीय सरकारको चासो नगएको भन्दै विरोध हुँदै आएको थियो ।
यसैगरी कल्टिभेटरबाट जोताइगर्दा प्रतिघण्टा १५ सयमात्र तोकिएको छ । यो मूल्य निर्धारण नहुँदा किसानबाट दुई हजारभन्दा बढी रकम ट्याक्टर सञ्चालकहरूले लिँदै आएका थिए । बारम्बार इन्धनको भाउ बढेको भन्दै किसानबाट बढी रकम ट्याक्टर सञ्चालकहरूले लिने गरेको पाइएको थियो ।
धान झार्दा थ्रेसर प्रयोग गर्दा २० टिनको १ टिन किसानले दिनुपर्नेछ । यसभन्दा अघि १५ टिनको १ टिन किसानले दिनुपर्ने अवस्था थियो । किसानले पछिल्लो समयमा राँगागोरुको प्रयोग गर्न छाडेपछि ट्रयाक्टरमा नै निर्भर रहनु परेको छ । ट्याक्टरले बढी मूल्य लिँदा उत्पादनमा लागत मूल्य बढ्ने गरेको छ ।
पालिका अध्यक्ष राईका अनुसार तोकिएको मूल्य भन्दा बढी लिएको अवस्थामा किसानबाट गुनासो आउनसाथ आवश्यक कारबाही गरिने छ । ‘हामीले लामो छलफल र वैज्ञानिक रूपमा मूल्य निर्धारण गरेका हौँ, यसको पालना सबैले गर्नुपर्छ र नगरे कारबाही भोग्न तयार हुनुपर्छ ।’ उनले भने ।

Author

You may also like