अनेकन जाल, झेल, षडयन्त्र, सत्ताको मोहले ल्याएका तरङ्गहरुसङ्गै जेलिएको नेपाली राजनीतिक मोड आज अन्यौलतामा रुमलिएको छ । नेपाली जनताको हिजो जुन उत्साह, जोस, जाँगर, एकता, मिलन थियो, यो पटक त्योसम्म रहेको देखिएन । देशका योग्य जनशक्तिहरु वैदेशिक पलाएन भए, बूढापाकाहरु चौतारीमा एकआपसमा भलाकुसारीमै ब्यस्त रहेको देखियो । कति त सडकमा छोराबुहारीले घरबाट गलहत्याएर लखेटेपछिको आर्तनाद सुनियो । हुन पनि हो दया, माया र करुणाभाव भने अहिलेका मानवहरुमा एकरत्ति पनि देख्न सकिएन । सबै आ–आफ्नै डम्फूमा नाच्नेहरुमात्र भए । कोहि कसैमा दयाको भावना पटक्कै देखिएन यो बडादशै र शुभ दीपावली अनि छठ पर्वमा । यहाँ खै केको कारणले गर्दा हो यो पटकको भाइटीकामा कसैको घरमा गोदावरी र मखमली फूल फुलेको देखिएन। सदाको बर्षझै यो पटक नाचगान, देउसे–भैलो बहुल जमात देखिएन । देखिएपनि छिटफुट – छिटफुट नाचगान र देउसे – भैली नाचेको र आशीर्वाद ÷ असिस दिएको देखियो तर कुनै दलहरुको प्रचारप्रसार भने गरेको देखिएन । यहाँ अर्को भित्री कुरा भन्नैपर्दा कतिको त घरघरमा रातीको समय या मध्यान्हको समयमा लुकिलुकी रकम संकलन गर्न अगुवा कार्यकर्ता भोक न तिर्खा समेत त्यागेर आर्थिक संकलनमा दलीय सिण्डिकेटमा रकम उठाउन पुगेको स्वयं यो पङतिकारले समेत देखेको छ । एउटा अचम्म लाग्दो कुरा योसम्म छ कि हिजो जनतालाई कसरी उल्लु बनाए, आज किन संसद विघटन हुन पुग्यो र यो रकम उठाउन के देउसे – भैलो खेल्नै पथ्र्यो र ? उठेको रकम कहाँ पुग्छ ? पारदर्शिता छ कि छैन ? कुनै अधिवेशन गर्नुपर्दा त्यसमा लाग्ने तुल, ब्यानर, पोष्टर, पम्प्लेट, खाना, खाजा खर्चमा कति रकम खर्चिएको छ– यस्तो बेलामा । त्योसम्म लेखाजोखा गरेको देखिन्न, सबैभन्दा ठूला दलहरुले । हिजो गरिब – दुःखीहरुलाई नेताहरूले दिएको आश्वासन आज कहाँ पुग्यो ? हिजो पटकपटक जनताहरुलाई गरेको राजनीतिक प्रतिवद्दता आज कति पुगे या पुगेनन् । त्यसको हिसाबकिताब खोई ? पटकपटक धोका जनतालाई दिने अनि आफू अहिले पन्छिने काम नेताहरूले गरिरहेका छन ।
आज के कारणले गर्दा भित्र– भित्रै युवाहरूको बिद्रोह जन्मियो ? यो आन्दोलन जेन – जी युवाहरूको मात्र थिएन, जनताको निराशाको बिद्रोह थियो । यहाँ के – के घटना घटेनन्, के – के काण्ड भएनन् ? निष्पक्ष छानविन कसले गर्यो, हिजोको सरकारले गर्नुपथ्र्यो तर गरेन किन ? यहाँ राजनीति छवि राम्रो भएका युवाहरू एउटा न एउटा मुद्दामा फसेकै छ । उनीहरूबाट आशा थियो तर सबै निराशामा परिणत भयो । केहीदिन अघिमात्र भएको प्रमुख दलहरुको राजनीतिक बहस तथा छलफलमा किन घम्साघम्सी भयो ? त्यो त हामीले देखेकै हो अनि एउटै ब्यक्तिलाई पटकपटक महत्वपूर्ण नेतृत्व दिनैपर्ने बाध्यता कसले उत्पन्न गर्यो ?
यहाँ अहिलेपनि समूह – समूहको राजनीति बढ्दो छ । एकले अर्काको राजनीति नामेट पार्न पीतपत्रकार र नक्कली युट्युबेलाई प्रयोग गरिरहेकै छन । यतिबेला यो अवस्था आयो कि यहाँ खुलेर कोहि पनि बोल्दैनन । राजनीतिको कुरै सुन्न मान्दैनन जनता । सुनुन् र बोलुन् पनि कसरी ? यहाँ आन्दोलन तुहिएका छन, जनबिद्रोहमा खिया लागेको छ, जनताको अभिमत पटकपटक खेर गएको छ । यति हुँदासम्म चुप लागेर बस्नु नी किन तमासा देखाउनु ? किन अनपढ, गवारहरुलाई साइबर आतंक मच्चाउन लगाउनु ? अब त अति भो है । अति गर्यो भने खति हुन्छ भनेझैं हिजोको अवस्था आफ्नो पद गुमाएर जङ्गल – जङ्गल बस्नुको पीडा कस्तो भो थाहा छ नि नेताज्यूहरु ? किन यस्तो भयो होला ? के कारणले गर्दा भयो ? अबको निकास के हो त ? यसमा पुनः मुल्यांकन गरेर अघि बढन सकेमात्र देशले निकास पाउनेछ । अशान्ति सदाका लागि अन्त्य हुनेछ , ढुक्क हुनुहोस ।
अहिले पनि कोहि नेताहरूमा हिजो गल्ती गरेको आभाष देखिन्न । उनीहरूको सामाजिक संजालमा रोइलोबाट स्पष्ट हुन्छ– गल्ती उनीहरुका लागि स्वीकार्य छैन । गल्तीलाई स्वीकार गरेर अघि बढ्न सकिएन भने भोलि यसको परिणाम के हुनेछ ? जनताले अब साथ दिने छैनन् भन्ने कुरा मनन गर्नु जरुरी छ । नेताहरूले जस्तोसुकै षड्यन्त्र गरून्, जनता अब प्रतिकारमा उत्रनु हुन्न । यो बेला उनीहरूको नक्कली नयाँ रणनीतिको पछि अब जनता लाग्नु हुन्न । यहाँ राजनीतिक उतेजना जनतामा उर्जा ल्याउने काम नेताहरूले गरेका छन । यहाँ यो, उ, त्यो, उनी, तिनीहरू, वहाँहरु भनेर कोहि नपन्छिए हुन्छ, अब । हिजोको पुरानो पिँडीको विरासत अहिलेका नयाँ पुस्ताले बुझिसकेका छन । तपाईं ढाट्ने, छल्ने नेताहरूको विरुद्धमा अब उनीहरूले नै बिचारका आवाजहरु बुलन्द गर्ने छन हेक्का रहोस् । हिजोका दिनमा सत्ता आफ्नो हातमा हुँदा कसैलाई हेर्यौ, गन्यौ ? थाहा छ कि छैन त्योपनि, सुनपानीले पखालियो होला हैन ? बाकी नै के राख्यौ र ? बचेखुचेका साखहरु, आत्मीयता, सदभावमा राजनीतिक रङ्ग छरेर कति दुःख दियौ जनतालाई ? कित्ताकाट गर्यौ, मन बिभाजित गर्यौ, एकले अर्कालाई दोषारोपण गर्यौ, केवल सत्ता र भत्ताका लागि ।
हुन त हिजोका दिनमा सत्ताको लिस्नो चढेर मह काढ्नेहरु मालामालै भए तर सर्वसाधारण जनताजस्तो खुलम्खुल्ला भने नेताहरू बाहिर हिडेको देखिएन । हिजो छलेर, ढाँटेर, ब्रह्मलुट मच्चाएर कमाएको कालो धनसम्म लुकाउन पाएनन्, घरबार बिहिन भए । वास्तवमा यो बनायो कसले ? जनताले कि आफैले ? यो प्रश्नको उत्तर साना बालबालिकाले समेत सहजै दिन सक्छन । खोज्न कहिँ जानै पर्दैन । हिजोको दिनमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका निम्ति हतियार उठाएका हातहरुले ल्याएको जनमतको हरण गर्यो कसले ? अनि दोषबाट पन्छिनुपर्ने कारण किन ? आज सामाजिक संजालका बेफ्वाकका भिडियो हेर्नुस, अनावश्यक टीकाटिप्पणी हेर्नुहोस, त्यसमा न कुनै दम छ न कुनै बिश्वसनियता छ, केहीपनि रहेको देखिन्न ।
३४ बर्षदेखि रुप र सार फेर्दै सत्ताको रस आफै चुसेर जनतालाई भेडाबाख्रा जस्तो सोच्ने मानसिकता अब कहिले परिवर्तन हुने ? जतिखेर पनि जनता, जनता, जनता भनेर न अघाउने नेताहरू फेरि सत्ताको त्रिपासा फर्काउन लागिरहँदा सडक संघर्षका लागि जनता अब सडकमा जाने छैनन् । गए भने तिनै जान्छन जो हिजोपनि ढाँटेर, छलेर खान पल्केकाहरुमात्र लामबद्द हुनेछन जो अहिलेपनि मौन छन । पुनः संसद ब्यूँताउन आज निवर्तमान सरकारका ब्यक्तिहरु कम्मर कसेर लागिपरेका छन, अहिले पनि । यो कर्म अब असम्भव हुन्न बरु हिजो गरेका गल्तीहरु जनता सामु घरमा गएर प्रायश्चित गर्नसक्नुपर्छ, नेतृत्वहरुले । अन्त्यमा जे जस्तो भएपनि हाम्रा पर्वहरु सकिए सङ्गै हिंसा र बिद्रोहका खबरभित्रका बेखबर आइरहेकै छन यसलाई पनि भुलेर सम्पूर्ण जेन – जी पुस्ता लगायत नेताहरू अशान्तिलाई शान्तिमा परिणत गर्नका निम्ति गोलबद्द बनौ । हाम्रा पर्वहरुले ल्याएका मिश्रित खुसीहरु एकआपसमा साटासाट गरौं । सबैले शान्तिको कामना गरौं ।