दमक÷ प्रतिनिधी सभाले नयाँ नेतृत्व पाएसँगै संसदीय अभ्यासले गति लिएको छ । आईतबार संसदको सवै भन्दा ठुलो दल रास्वपाका डीपी अर्यालले सभामुखको कार्यभार सम्हालेका थिए । उनले कार्यभार सम्हाले लगत्तै सोमबार देखि संसदीय अभ्यास अघि बढाएका छन् । यसै क्रममा सोमबारको संसद बैठकमा विभिन्न दलका सांसदहरुले आआफ्नो धारणा राखेका छन् ।
संसद बैठक चलि रहँदा अधिकांश दलका शिर्ष नेताहरु भने अनुपस्थित रहे । यस प्रति संसदकै सवै भन्दा ठुलो सद रास्वपाकै सांसदले कटाक्ष गरेका छन् । रास्वपाका सांसद मनिष झाले अग्रभागमा व्यवस्था गरिएको शिर्ष नेताहरुको कुर्सी खालि देखे पछि संसदमा मन लागे आउने, नलागे नआउने परिपाटीको अन्त्य हुनु पर्ने बताए । उभनले भने, ‘सदन चिया पसल वा चौतारी होइन । जहाँ मन लागे आउँछु, मन लागे बोल्छु । मन लागे बस्छु नमन लागे जान्छु भन्ने होइन ।’ सदन गुरुकुल जस्तो, विश्वविद्यालय जस्तो हुनुपर्ने उनको आग्रह छ । संसदमा सिद्धान्तको बहस हुने र सबैको उत्तिकै मेहनत आवश्यक रहेकोमा उनले जोड दिए । २०१५ साल देखि नेपालमा संसदीय अभ्यास हुँदै आएको र प्रतिपक्षलाई बलियो बनाउन त्यसबेलाका नेतृत्वले समेत काम गरेको उनले स्मरण गरे । नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले कुशल अविभावकको रुपमा काम गर्ने विश्वास रहेको पनि उनले बताए ।
सार्वजनिक ऋण प्रति राप्रपाको प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिनेबारे गरेको निर्णयप्रति प्रश्न गरेकी छन् । सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे प्रश्न गरेकी हुन । मन्त्रिपरिषद् बैठकले एशियाली विकास बैंक र विश्व बैंकबाट डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर र दिगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन अमेरिकी डलर बराबरको ठूलो सहुलियत ऋण स्वीकार गरेको प्रसंग उनले निकालेकी हुन् । उनले कुन संसदिय समिति, कुन नीतिगत बहस, र कुन आवश्यकता प्रथामिकीकरण मूल्यांकनका आधारमा यो आकारको निर्णय लिईयो ? भने प्रश्न गरिन् । उनले ऋण मागिएको होकि अनुरोधपछि लिने निर्णय गरिएको हो भन्नेबारे पनि प्रश्न उठाएकी छन् । सांसद वा संसदीय समितिमा छलफल नै नगरी यो आकारको ऋण लिने निर्णय सरकारले हतारमा गरेको उनले बताईन् ।
एमालेले दियो चेतावनी
नेकपा एमालेका सांसद ऐन महरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले अहिलेका सरकार प्रमुखका लागि पनि भविष्यमा बदला लिने बाटो बनाएको टिप्पणी गरेका छन् । बैठकमा पहिलोपटक बोल्दै एमाले युवा नेता समेत रहेका महरले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रतिशोध नै साध्ने हो भने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो लागि पनि ‘डोको सुरक्षित राख्न’ चेतावनी दिए ।
उनले अहिलेको सरकार पनि भविष्यमा पूर्व हुने र प्रतिशोधको पुनरावृत्ति हुनसक्ने बताए । एक छोराले आफ्नो बाबु बुढो भएपछि डोकोमा लगेर फाल्न लाग्दा उसको छोराले हजुरबुबालाई फालेको डोको सुरक्षित राख्न भनेको कथा सुनाउँदै महरले यस्तो चेतावनी दिएका हुन् । महरले लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने हो भने पूर्वाग्रह रप्रतिशोधको कुनै पनि स्थान हुनु नहुने बताए ।
परम्परा हटाउन कांग्रेसको आग्रह
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा नाम टिपाउनुपर्ने परम्परा हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आकस्मिक विषय जुनसुकै बेलामा पनि राख्न पाउनुपर्ने उनको भनाइ छ । उनले परम्परा भए पनि सबैको साझा प्रयासले हटाउन सकिने बताए। स्थापित लोकतान्त्रिक मान्यता र संसदीय परम्परालाई स्थापित गर्दै पुराना गलत मानकहरूलाई परिवर्तन गर्दै सभामुखको नेतृत्वमा नयाँ नयाँ मानक स्थापित हुने विश्वास व्यक्त गरे ।
रवि–सुधन कुराकानी
प्रतिनिधि सभा बैठक जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरूङलाई बोलाएर कुराकानी गरेका छन् । हलबाहिर करिडोरमा गृहमन्त्री गुरूङलाई बोलाएर सभापति लामिछानेले कुराकानी गरेका हुन् । उनीहरूबीच झन्डै १५ मिनेट कुराकानी भएको थियो । कुराकानी के विषयमा भएको थियो भन्ने चाहिँ खुलेको छैन ।

Author

You may also like