देश–समाज शिक्षा समाचार स्थानीय

हिमाविले आगामी वर्षबाट सातसय विद्यार्थी थप्ने

दमक/ दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधार्न अभिभावकसँग परामर्श गरेको छ । विद्यालय परिषरमा शुक्रबार अभिभावकसँगको अन्तरक्रियामा विद्यालयका प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले विद्यालयकासाथै घरपरिवारको बातावरण र अभिभावकको भूमिका उदाहरणीय हुने बताएका छन् । अभिभावकसँगको छलफल र अन्तरक्रियामा उनले विद्यार्थी कस्तो उत्पादन गर्ने भन्ने विषय अभिभावकमा पनि भरपर्ने बताएका हुन् । प्रधानाध्यापक श्रेष्ठले विद्यालयको पढाइको भरमामात्रै अभिभावकले सोचेअनुसार विद्यार्थीको शैक्षिक उन्नती हुन नसक्ने भएकाले विद्यालयसँगै घरमा पनि अध्यायनको बातावरण बनाई अभिभावकले गाइड गर्नुपर्नेमा जोड दिए ।
विद्यालयले विद्यार्थीको सहजताकालागि भवन निर्माणलाई प्राथमिकता दिएको छ । निर्माणाधिन अवस्थामा रहेका २ भवनसहित अब नौ वटा एकेडेमिक भवन
निर्माण भइसकेकाले अब विद्यार्थीलाई सहज हुने उनको भनाइ छ । यस आर्थिकवर्षभित्र २ वटा भवन तयारी भएका छन् । उनले भने–‘ केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा संघीय बजेटबाट विनियोजित करिव ५ करोडको (ब्लक एच) को भवन अहिले फिनिसिङ भइरहेको छ । यसैगरी संघीय बजेट मार्फत नै शिक्षा विभाग मार्फत ४ करोड बढीको अर्को १२ कोठे भवन निर्माणाधिन रहेको छ । अब यी दुवै भवन फिनिसिङ सकिएपछि कक्षाकोठाको समस्या अहिलेलाई सहज हुने अपेक्षा गरेका छौं ।’ उनको भनाइ छ ।
आगामी वर्षवाट करिव ६ देखि ७ सय विद्यार्थी थप गर्ने क्षमता भवनले राख्छ, अभिभावकको साथ र समर्थन रहे शैक्षिक गुणस्तरमा अझै सुधार ल्याउन सकिन्छ, उनले भने ।
हिमाविमा कक्षा १२ सम्म विभिन्न संकाय तथा विषयहरूमा अध्ययन–अध्यापन भइरहेको छ । कक्षा १० सम्म नेपाल सरकारको पाठ्यक्रमअनुसार अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ भने प्राविधिक धार (कक्षा ९–१२). माध्यमिक तह (कक्षा ९ देखि १२) मा कम्प्युटर इन्जिनियरिङ, र विज्ञान विषयको विशेष प्राविधिक कक्षा सञ्चालनमा छन् । विद्यालयले शैक्षिक गुणस्तरका साथै खेलकुदलाई पनि प्राथमिकता दिएको छ । भलिवल र वास्केटबलको लागि अन्तराष्ट्रिय मापदण्ड अनुसारको रात्रीकालिन खेल खेल्न सकिने खेलमैदान तयारी गरेको प्रधानाध्यापक श्रेष्ठले बताए ।
यस विद्यालयमा हाल १ सय ३१ जना शिक्षक कर्मचारीको टिम छ भने ४ हजार १ सय ७२ विद्यार्थी अध्यायनरत छन् ।

Author

You may also like