मधेशमा एउटा उखान प्रचलित छ, लव घर उठे, पुरान घर खसे। अर्थात् नयाँ घर बनाउनुपर्छ र पुरानो घर भत्काउनु पर्छ।
अहिले नेपाली राजनीतिमा झन्डै उस्तै उस्तै परिदृश्य हरु निर्माण भइरहेको देखिन्छ। नेपालमा भदौ २३–२४ गते पछि विकसित राजनीतिक घटनाक्रमले नेपालको यथास्थितिवादी राजनीतिक धरातललाई आमूल परिवर्तन गर्ने गरी जनादेश दिएर नेपाली जनताले विश्वलाई नै आश्चर्यचकित तुल्याई दिएको छ। फाल्गुन २१ गते सम्पन्न गरिएको महानिर्वाचन को ऐतिहासिक परिणामले मूलधारका राजनीतिक शक्तिहरूलाई पूर्णरुपमा पराजित गरिदिएको छ र नेपालको संविधान २०७२ लाई पूर्णता दिने राजनीतिक दलहरू करिब करिब पत्ता साफ हुने अवस्थामा पुगिसकेका छन्। औँलामा मात्र गन्न सक्ने गरी आफ्ना प्रतिनिधिहरू जिताउन सफल भएका नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका अन्य मधेसवादी राजनीतिक दलहरू अहिले शिखरबाट सुन्यमा झरेको अनुभव गरिरहेका छन्। दशकौँदेखि सत्तावृत्तमा घरजम गरेर बसेका नेपाली कांग्रेस एमाले ,माओवादी र मधेशवादी दलहरूले आलोपालो गरी पटकपटक सरकारमा जाने र सरकारी सुख सुविधाहरू तथा अवसरहरूको उपभोग गर्दै जाने र आत्मरतिमा रमाइरहने गरी ढुक्क भई बसिरहेको अवस्थामा आकस्मिक रुपमा गराइएको उपनिर्वाचनमा उनीहरुले आफ्नो दलहरूको पहिचान समेत बचाउन नसकेको अवस्थामा उनीहरु झसँग भएर बसेका छन् र आफूले कहाँ कहाँ गल्ती गरे के के कुराहरुमा भूल चुक र त्रुटिहरु भयो जनताका जल्दाबल्दा समस्याहरू मुद्दाहरू र सवालहरुलाई के कति कारणले सम्बोधन गर्न सकिएन भन्ने कुराहरुमा उनीहरुले आत्मचिन्तन र समीक्षा गर्न थालेका छन्। देशका जम्मै निर्वाचन क्षेत्रहरूको परिणाम हरू धमाधम आउन थालेपछि देश परिवर्तन को दिशातर्फ उन्मुख छ र जनादेशमा विगतका सरकारहरूले गरेका भेदभाव हरू अपारदर्शिता, नातावाद ,कृपावाद, अनिर्णयवाद जस्ता अलोकतान्त्रिक विधि प्रक्रिया र कार्यहरूलाई पन्छाउँदै तथा सुधार गर्दै विकासका कार्यहरूलाई तदारुकताका साथ कार्यान्वयन गर्न उत्प्रेरणा दिइरहेको छ। देशलाई सकारात्मकता को दिशामा अग्रसर गराउनु जरुरी छ । यतिखेर पूरा देश नै घन्टीमय बनिसकेको छ। मेचीदेखि महाकालीसम्म र मधेस तराईदेखि पहाडसम्म राष्टिूय स्वतन्त्र पार्टी रास्वपाको संसदमा दुई तिहाई बहुमत पुग्ने गरी प्रतिनिधि सभाका सदस्य हरू ठूलो मतान्तरका साथ निर्वाचनमा विजय हासिल गर्दै गइरहेका छन्। अन्तर्राष्टिूय मिडियाहरूले नेपालको आम चुनावलाई महत्व दिँदै बालेन शाहको नेतृत्वमा रास्वपाले प्राप्त गरेको अभूतपूर्व र ऐतिहासिक सफलतालाई प्रमुख खबरहरू बनाइराखेका छन्। सम्भवतया बालेन शाह नेपालको प्रधानमन्त्री बन्न सफल भए भन्ने उनी नेपालको मात्र होइन ,३५ वर्ष उमेर नकटेका व्यक्तिको रूपमा विश्वकै पहिलो प्रधानमन्त्री बन्ने अवसर प्राप्त गर्ने छन्। निर्वाचनको परिणाम हरू धमाधम आउन थालेपछि मुलुकमा नयाँ किसिमको राजनीतिक धारहरूले प्रमुखता पाइरहेको अवस्था छ। पुरानो राजनीतिक शक्ति हरू बारे अब इतिहासमा पढ्ने कुरो मात्र रहन्छ भन्ने अड्कल गर्न सकिन्छ
एमालेको सूर्यमाथि घन्टीको ट्याङटङ टङ टिङ टिङ टिङ सुन्न थालिएको छ। कम्युनिस्टहरूको लालकिल्ला भनिएको पूर्वी नेपालको झापाको लालकिल्ला हरू अब घन्टीमय बनेको छ। नेपालको संसदमा प्रतिनिधित्व गर्ने कट्टर कम्युनिस्ट विचार धारालाई प्रतिनिधित्व गर्ने सात पटकको सांसद र चारपटकको प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो निर्वाचन क्षेत्रमा लज्जास्पद हार बेहोर्नु परिरहेको छ। एक किसिमले भन्ने हो भने नेकपा एमालेको झापाबाट मात्र होइन पुरै नेपालबाट नै पत्ता साफ भइसकेको छ। केही सिट बाहेक नेकपा एमालेले आफ्नो गढ र आधार क्षेत्रहरू पूर्णरूपमा गुमाइसकेको छ। कुनै किसिमको लप्पन छप्पन नजान्ने नेपालका सिधा साधा जनता जनार्दनहरुले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी पार्टी जस्ता इतिहास रच्ने पार्टीहरूलाई चुपचाप शिखरबाट शून्यमा झारि दिएर उनीहरुले वर्षौं वर्षदेखि गर्दै आएको जनभावनामाथि खेलवाडको सही प्रत्युत्तर दिइसकेका छन्। जनताले दिएका मतहरू बाकसबाट झिकिँदै छन्। छिटोछिटो मतगणनाका कार्यहरू चलिरहेको छ। मतगणनाको दोस्रो तेस्रो दिनको सम्मको चुनावी परिणामले राष्टिूय स्वतन्त्र पार्टीका प्रतिनिधि सभाका लागि उम्मेदवार भएका सबै प्रतिस्पर्धी उम्मेदवारहरू धमाधम आफ्नो निर्वाचन क्षेत्रबाट विजयी बन्दै गइरहेका छन्। झापाबाट हार्नेहरूको लिस्टमा सबैभन्दा माथि खडग प्रसाद ओली शर्माको नाम सर्वाधिक चर्चामा छ। मोरङबाट कांग्रेसका दिग्गज नेता मानिएका शेखर कोइराला आफूले पाएका मतभन्दा तेब्बर मतले रास्वपाका उम्मेदवारका हातले पराजय भोग्नु परिरहेको छ। मधेस प्रदेशमा कांग्रेसका प्रभावशाली नेता मानिएका विमलेन्द्र निधि रास्वपाका उम्मेदवार मनिष कुमारझा बाट नराम्रो हार बेहोर्नु परिरहेको छ। मधेशलाई काठमाडौँसँग जोडेर मधेसीहरूलाई राजनीतिक रुपमा सबल बनाउने र संसदको नेतृत्व गर्ने विचारले सर्लाही चारबाट चुनाव लडेका नेपाली कांग्रेस पार्टीका अध्यक्ष युवा नेता गगन थापाले त्यहीँका रास्वपाका बाहुबली उम्मेदवार अमरेश नारायण सिंहबाट पराजय स्वीकार गर्नु परिरहेको छ। यो त केही चर्चित उम्मेदवारहरूको नाम हरू मात्र हो। समग्र रुपमा नै देशका जनता जनार्दनले देश को पुरानो पुस्ताका राजनीतिक दलहरूलाई धुलो नै चटाइदिएको छ भनेर भन्न सकिन्छ। मधेशबाट करिब करिब पुरै मधेशवादी दलहरूको सुपडा साफ नै भई सकेको छ । मधेसको पहिचान ,स्वाभिमान, आनबान, शान र अधिकारको लागि लड्ने राजनीतिक दलहरूलाई मधेसी जनताहरूले नै अस्वीकार गरिदिएका छन् र देशमा सांस्कृतिक राष्टूवादको विकास गर्न राष्टिूय स्वतन्त्र पार्टी का प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहको नाउँमा मतदान गरेर देशको संसदमा आफ्नो अधिकारको लागि आवाज उठाउन निर्णायक मोडमा आएर देशका जनप्रतिनिधिहरूलाई छनोट गरेका छन्।। मधेसबाट उपेन्द्र यादव, सीके राउत, रघुवीर महासेठ जुली महतो, राजेन्द्र महतो, शरद सिंह भण्डारी लगायतका सबै झुर मधेसी नेता हरू आफ्नै मधेसमा आफ्नै मतदाताहरूबाट पराजित भएका छन्। अब देशको नेतृत्व युवाहरू को हातमा आइसकेको छ।
जनताले दिएका म्यान्डेटहरू अब नेतृत्व तहसम्म पुगिसकेको छ र संसदको पटलमा ल्याउनु पर्दछ देशमा हुने गरेका कानुनविहिनताको अवस्थालाई समाप्त पार्नुपर्दछ। विधिको शासन र कानुनी राज्यको अवस्थालाई बहाल गर्नुपर्दछ। वर्षौं वर्षदेखि उठाइएका मुद्दाहरू र सवालहरूलाई समय र परिस्थिति अनुसार समाधान गर्ने कार्यदिशाहरू तयार गर्नुपर्दछ। देशमा पाँच वर्षसम्म चल्ने र टिक्ने स्थिर सरकार बनाउने पूर्वाधार जनमतबाट आइसकेको हुनाले टिकाउ सरकार ले गर्नुपर्ने कार्यहरूबाट जनता जनार्दनको चित्त बुझाउनुपर्ने आवश्यक छ।
अहिले विश्वको राजनीति जटिल मोडमा प्रवेश गर्दैछ। अमेरिका इजरायल इरान मध्यपूर्वका देश हरू,रूस युक्रेन लगायतका राष्टूहरु युद्धमा फसेका छन्। इन्धन लगायतका आवश्यक सरसामान हरू दुर्लभ र महगो बन्दै गइरहेका छन्। अमेरिका को दादागिरी विश्वमा बढ्दैछ। रुस र चीन प्रतिस्पर्धामा उत्रिरहेका छन्। यस्तो अवस्थामा विश्वको राजनीति कतातिर ढल्किने हो भन्न गाह्रो छ। नेपाल र नेपालको भूराजनीतिक आर्थिक सामाजिक दशा र दिशा भारत मुखी छ। विगतका सरकारहरूले भारतसँग सहज बनाउन नसकेको सम्बन्धहरूलाई देशका नयाँ सरकारले सुधार गर्नु जरुरी छ। नेपाल र भारत बीच बेटी रोटीको सम्बन्ध छ। सामाजिक धार्मिक र सांस्कृतिक तथा राजनीतिक सम्बन्धले भारत र नेपाललाई अत्यन्त घनिष्ठ बनाइदिएको छ। नेपाल भारतको लागि अति सौविद्य प्राप्त राष्टूको रूपमा पनि रहेको छ। तर यसको अपेक्षित लाभ नेपाललाई प्राप्त हुन सकेको छैन। नेपाल र भारतबीचको सम्बन्ध लाई अझ बलियो बनाउन नेपालको विदेश नीतिले कुन रूपमा त्यसलाई स्वीकार गर्दछ भन्ने आधारमा पनि नेपालका विकास कार्यहरूले प्राथमिकता प्राप्त गर्दै जानुपर्ने आवश्यकता छ। चीन पनि नेपालको अत्यन्त घनिष्ठ र मित्र राष्टूको रूपमा रहेको छ। नेपालमा चीन र भारत को स्वार्थ को सम्बन्धमा नेपालले नयाँ तरिकाबाट विमर्श गर्नु जरुरी छ। नेपालले भारतमुखी अथवा चिनमुखी भएर मात्रै पनि आफ्नो अर्थतन्त्रलाई टेवा दिन सक्दैन। कतिपय सवालहरूमा अमेरिकाले पनि नेपालमा आफ्नो उपस्थिति देखाउन केही पनि बाँकी राख्दैनन्। अमेरिकाले बाङ्गलादेशमा ,श्रीलंकामा पाकिस्तानमा, अफगानिस्तानमा सबैतिर कुनै न कुनै तरिकाबाट त्यसलाई अस्थिर बनाउने प्रयास गरिरहेको हुन्छ त्यसबाट पनि नेपालले आफूलाई जोगाउनु जरुरी छ। नेपालमा संघीयता, समावेशिता ,प्रादेशिक अखण्डता, पहिचान, र मधेशलाई देशको मूलधारमा ल्याउनुपर्ने लगायतका कतिपय सवालहरूमा पनि ठूलो विचार मन्थन गर्नुपर्ने आवश्यकता छ यस कारणले नेपालमा बन्न लागेको नयाँ सरकारले यी कुराहरूबारे अध्ययन गरी संयमित भएर विचार गर्नुपर्ने हुन्छ। जनताले जनादेश दिइसकेको छ अब संसदले आफ्नो मर्यादा पहिचान र जन सामथ्र्यको कदर गरेर विश्वमा नेपालको विश्वसनीयता बढाउनु पर्दछ र नेपाली जनताले झेल्दै आएका समस्याहरु लाई समाधान गर्ने दिशामा ठोस कदम चाल्न अलिकति पनि समय खेर फाल्नु हुँदैन ।