Weather देश–समाज समाचार स्थानीय

पहिलो बैठकबाटै सरकारको कडा आलोचना

विराटनगर । कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु हुने वित्तिकै देखि प्रतिपक्षको प्रहार सुरु भएको छ । अधिवेशनको सुरुवातमा दलहरुले आ-आफ्ना धारणा राख्ने क्रममा समय पाएका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले लय समात्न नसकेको टिप्पणी गरे । विपक्षी दल माओवादीको तर्फबाट संसदलाई सम्बोधन गर्दै नेता आङ्बोले सरकार भएको अनुभूति नै नभएको टिप्पणी गरे । ‘सरकारसँगै संसदले पनि लय समात्न नसकेको उनले बताए । सरकारले संसदमा पठाएको कुनै पनि महत्वपूर्ण विधेयक पारित भएको छैन । खाली अध्यादेश प्रतिस्थापनमा मात्र जोड दिएको देखिन्छ’ उनले भने, ‘प्रदेशसभाको नियमावलीको डूाफ्ट भए पनि कहाँ गएर अड्किएको छ ? त्यो नियमावली संसदमा पेश गर्न आग्रह गर्दछु ।’ उनले नयाँ नियमावलीबाट सदन संचालन नगरेमा विरोध गर्ने चेतावनी दिए ।
उनले भाषा आयोगले लिम्बू भाषा र मैथिलि भाषालाई सरकारको कामकाजी भाषाको रुपमा प्रस्ताव गरेको स्मरण गर्दै तत्काल सोसम्बन्धी विधेयक संसदमा पेश गर्न माग गरे । यस्तै उनले दलित सशक्तीकरण सम्बन्धी विधेयक ल्याउन पनि माग गरे । उनले यसअघि कांग्रेस र एमाले सम्मिलित दुई दलीय संयन्त्रले बजेट पुनरावलोकन गर्ने भनेको विषयमा पनि असन्तुष्टि जनाए ।
विपक्षी दल नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले पनि सरकारलाई व्यंग्य कसे । ‘सरकारको हालखबर सोध्न पनि मन लागेको छ । रचनात्मक प्रतिपक्षको भूमिकामा रहेर कुरा उठाउन खोजेको छ । रहरले सरकारको विरोधमा बोलिएको होइन । बहालवाला मन्त्री हिरासतमा पर्दा एक शब्द पनि बोलिएन,’ उनले भने ।
सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्वमन्त्री उद्धब थापाले भने आफूहरुलाई सुरक्षा थ्रेट रहेको बताए । ‘नामकरणको विषयलाई लिएर हामी सुरक्षा थ्रेटमा परेका छौं । मुख्यमन्त्री र मन्त्रीहरू आक्रमणमा परेका छन् । तर अमेरिकामा त सुरक्षा थ्रेट छ भने यहाँ हुनु सामान्य हो,’ उनले भने, ‘फटाहासँग के लाग्छ र ? त्यस्तो कुरासँग सरकार चनाखो र सचेत रहनुपर्छ । हाम्रो सुरक्षा भन्दा जनताको सुरक्षामा ध्यान दिउँ ।’
उनले आफूमाथि भएको आक्रमणको घटना हुँदा उत्साहित हुनेहरु पनि रहेको बताए । यद्यपि त्यो घटना नियोजित भन्दा पनि आकस्मिक भएको बताए । एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले पनि यही समीकरणबाट बाँकी अवधि सरकार चल्ने दाबी गरे । ‘यही समीकरणबाट बाँकी अवधि यो सरकार अगाडि बढ्छ र जनताको अपेक्षा पूरा गर्छ । समृद्ध नेपाल निर्माण गर्ने हाम्रो लक्ष्य हो । राजनीतिक स्थिरता भएन भने त्यो सम्भव छैन । त्यसैले एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने । अहिलेको सरकारले दुरगामी महत्वका योजना र दृष्टिकोण राखेर अगाडि बढेको र सबैले सरकारलाई साथ दिनुपर्ने उनको जोड थियो । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने सरकारले जनताले चाहेअनुसार डेलिभरी दिन नसकेको बताए । ‘भ्रष्टाचारीहरुलाई कारवाहीको दायरामा ल्याउनै पर्छ । उनीहरुलाई मुलुकबाट उम्किन दिनुहुँदैन । त्यो काम यही सरकारले सुरु गरोस्,’ सिटौलाले भने ।
जसपाकी सांसद निर्मला तावा लिम्बूले भने सांसदहरु बीचमा प्रत्यक्ष र समानुपातिक भनेर विभेद गर्ने काम भइरहेको गुनासो गरिन् । उनले ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने विषयले त्यहाँको शान्ति भंग भएको बताउँदै उक्त समस्या समाधान गर्न माग गरिन् । यसअघि प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतिरमण भण्डारीले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन सम्बन्धी अध्यादेश संसदमा पेश गरेका थिए । गत असोज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशसन भने सोमबारदेखि सुरू भएको हो ।

Author

You may also like