देशको व्यवस्था बदल्न पिलरको काम गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्ववियु परिषदको बैठकले  सो मिति तोकेको हो । यसअघि पनि निर्वाचनको मिति नतोकिएको भने होइन । गत वर्ष सम्पन्न त्रिविसभा बैठक (सिनेट) को निर्णयको आधारमा फागुन १५ गते निर्वाचन गर्ने निर्णय भएको थियो । तर, फागुन  १५ मा निर्वाचन गरिने भनिएकोमा  दुईबर्से कार्यकाल नपुग्ने भएपछि निर्वाचनको मिति पछाडि सरेको हो ।
उपत्यकाको ४ र उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने तयारी छ । स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताए । गतवर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १५ मा निर्वाचन गर्ने उल्लेख छ । त्रिविले सामानुपातिक र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन गर्ने भएको छ । स्ववियु अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन् । उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य सामानुपातिक प्रणालीमार्फत चुनिनेछन् । निर्वाचनमा भाग लिने स्ववियु पदाधिकारी र सदस्यको उमेर हद २८ वर्ष नै कायम हुने गरी तयारी थालेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थी हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने निकाय हो । क्याम्पसका शैक्षिक तथा संस्थागत सुधारका लागि सधैँ क्रियाशील रहने हुनाले यसलाई विद्यार्थीहरूको आधिकारिक संस्थाका रूपमा बुझिन्छ । विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको थियो । स्ववियु राजनीतिकभन्दा पनि विद्यार्थीको हक अधिकारका लागि निर्माण गरिएको साझा संस्थाका भएकाले विश्वविद्यालयमा स्ववियुलाई राजनीतिक क्रान्तिको अब्बल संस्थाका रूपमा पनि लिइन्थ्यो । तर विद्यार्थी नेतृत्वले समयको गतिशीलतालाई बुझ्न नसकी पुरानै प्रवृत्तिबाट अघि बढ्न खोज्दा स्ववियुको महत्व र आवश्यकता नै धराशायी हुन पुगेको छ । विद्यार्थी भनेको देशका हरेक परिवर्तन र जनहित विपरितका कामको पहरेदार पनि हो । विगतका इतिहास हेर्ने हो भने विद्यार्थी भूमिका अतुलनीय देखिन्छ । नेपाली समाजमा परेका पिरमर्कादेखि शैक्षिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विद्यार्थीहरु पछिल्लो समयमा सत्ता र शक्तिको वरिपरि घुम्ने कामले उनीहरुलाई लालची बनाएको र विद्यार्थी र समाजका मुद्दा छोडेको आरोप समेत लागेको छ । शिक्षाको मन्दिरभित्र राजनीति निषेध गरिनुपर्छ भन्ने आवाज उठिरहेको बेलामा हुन लागेको यो निर्वाचन विद्यार्थी र समाजका अत्यावश्यक छ भन्ने पुष्टि अबको नेतृत्वले गर्न सक्नुपर्दछ । हुलदंगा र बार भाँच्ने काम मात्र विद्यार्थी संगठनले गर्दैनन समाजमा आइपरेका समस्या, विकृति र विसंगतिका विरुद्धमा बोल्ने र आन्दोलनमार्फत तमाम समस्या समाधानमा लाग्ने जत्थाको रुपमा विद्यार्थीलाई चिनाउन सक्नु पर्दछ । तसर्थ अबका दिनमा समयको बेगलाई बुझेर समाजका विकृति र विसंगतिका विरुद्धमा भेदभावरहित ढंगबाट समाजमा विद्यार्थीको शक्ति स्थापनामा यो निर्वाचन सफल बनोस् ।

Author

You may also like