दमक/ प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार निर्माणबारे छलफल शुरु गरेको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको छ । सभापति र वरिष्ठ नेताबीच निरन्तर कुराकानी भइरहेको र सो विषयमा चाँडै नेताहरु विच भेटवार्ता हुने उनको भनाई छ ।
काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले रवि लामिछानेसँग छलफल गरेर भावी प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरू छान्ने बताएका छन् । मन्त्री छनोट गर्ने कुरा लिने–दिने सम्झौताको विषय नहुने भन्दै रवि र बालेनबीच छलफल भएर टुंगिने उनको भनाइ छ ।
रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नो क्याबिने आफैँ छनोट गर्ने उल्लेख गरेका छन् । रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा छन् । रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौँको मेयर हुँदाका प्रमुख स्वकीय सचिव भूपदेव शाहले पनि पछिल्लो अवस्थाका बारेमा बालेन शाहलाई भेटेका छन् । अछाम–२ मा भूपदेवको पराजयबारे बालेनले गहिरो चासो राखेका थिए । सरकार निर्माणका विषयमा औपचारिक कुराकानी सुरु नभएको भन्दै परिणाम सार्वजनिक भएपछि पार्टीको बैठक बस्ने शाहले बताएका छन् ।
रास्वपाले चैत ५ गतेसम्ममा आफ्नो संसदीय दलको नेता चुन्ने तयारी गरेको छ । चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले संसदीय दलको नेता पनि उनैलाई नै बनाउने उच्च सम्भावना छ । प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ ।
सरकार गठनका प्रकृया
निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम पछि बन्दसुचीमा रहेका नामबाट सांसदहरुको छनौट प्रकृया शुरु गर्छ । यसका लागि झण्डै एक साता लाग्छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाउँछ । त्यसपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न बाटो खुल्छ ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाउनुअघि आयोगले केही काम गर्न बाँकी रहेको जानकारी उनले दिए । प्रवक्ता भट्टराईका अनुसार समानुपातिक मतगणना सकिएपछि आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गर्छ। सिट संख्या निर्धारणपछि राजनीतिक दलहरूसँग ती सिटमा मनोनयन गर्ने सांसदको सूची माग्छ । त्यसपछि उक्त सूची विभिन्न ‘क्लस्टर’ अनुसार मिले–नमिलेको जाँच गर्ने गर्छ । नमिलेको रहेछ भने फेरि मिलाउन लगाउँछ ।
यसरी क्लस्टर अनुसार प्रतिनिधित्व सुनिश्चित गरेपछि आयोगले समानुपातिकबाट चुनिएका सबै सांसदलाई प्रमाणपत्र दिन्छ । यी काम सकिएपछि प्रतिनिधिसभा निर्वाचनमा कुन दलले कति सिट जितेको छ भन्नेबारे पूर्ण प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुन्छ । उनका अनुसार यसका लागि चैत पहिलो सातासम्मको समय लाग्ने छ । चैत पहिलो साताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्ने उनले बताए ।
दलले गर्नु पर्ने काम
प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ । यस आधारमा सरकार गठनको बाटो खुलेपछि रास्वपाले आफ्नो संसदीय दलको नेता चुन्नुपर्ने छ । रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । त्यसैले परिस्थिति नउल्टिएमा संसदीय दलको नेता पनि बालेनलाई नै बनाउने अनुमान छ ।
ठुलो दलले संसदीय दलको नेता चुनेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् ।
निर्वाचन आयोगको विधि र संसदीय दलको नेता चुन्ने आन्तरिक प्रक्रियाका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन चैत दोस्रो साता लाग्ने देखिन्छ ।