दमक/ झापाको दमक–५ मा केन्द्रीय कार्यालय रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थाले संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । चौधौं साधारण सभाका लागि सार्वजनिक गरिएको सो प्रतिवेदन अनुसार संस्थाले गएको आर्थिक वर्षमा ५९ करोड ७६ लाख ८ हजार ९६६ रुपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाको निक्षेप ४८ करोड २५ हजार १२२, शेयर ५ करोड ४२ लाख ५५ हजार १ सय र ऋण लगानी ४५ करोड ७ लाख ५२ हजार ४२० रुपैयाँ बराबर भएको जानकारी गराइएको छ ।
शुक्रबार सो संस्थाको दमकस्थित केन्द्रीय कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रम गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । यही भदौ २० गते हुने साधारण सभाका लागि संस्थाका छ वटा सेवा केन्द्रहरुबाट भदौ १४ देखि १७ गतेसम्म शेयर सदस्यहरुलाई प्रतिवेदन आलोपालो गरी प्रतिवेदन वितरण गरिने जानकारी गराइएको छ । कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरे ।
त्यसक्रममा अध्यक्ष न्यौपानेले संस्थाको प्रतिवेदनमा भएका महत्वपूर्ण कुराहरुलाई संक्षेपमा प्रस्तुत गरे । उनका अनुसार कोरोनाको महामारीका कारण काम गर्न केही कठिनाइ भएपनि संस्थाले आगामी दिनमा विगतको सहज अवस्थामा झैं उपलब्धि हासिल गर्न नीति, योजना तथा कार्यक्रम तर्जुमा गरेर अघि बढ्ने छ । संस्थाका संचालक समितिका सचिव लिलानाथ खनालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सन्तोष कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै लेखा समिति संयोजक हेमचन्द्र खनालले संस्था आर्थिक अवस्था र लेखा सुपरीवेक्षणका बारेमा बोलेका थिए । डाँफे साकोसका अहिले गौरादह, धरमपुर, बुद्धशान्ति र विर्तामोडमा सेवा केन्द्रहरु चालू अवस्थामा छन् । कार्यक्रममा आगामी दिनमा मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकामा रहेका कुनै पनि सहकारी संस्थासंग सहमति गरी एकीकरण गर्ने योजना रहेको पनि जानकारी गराइयो । कार्यक्रममा संस्थाकी कोषाध्यक्ष निर्मला गजुरेल, संचालक सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
सम्मान तथा पुरस्कार
सो संस्थाले यसपाली संस्थामा कारोबार गर्ने ३५ जना उत्कृष्ट बचतकर्ताहरुलाई सम्मान गर्ने भएको छ । त्यस्तै ८८ वर्षीय शेयर सदस्य दमक–५ का ज्येष्ठ सदस्य नारायण प्रसाद गड्तौलालाई पनि नगदसहित सम्मान गरिने भएको छ । त्यसैगरी संस्थाका गौरादह सेवा केन्द्रमा कार्यरत कर्मचारी चुडामणी पौडेललाई ५ हजार १ रुपैयाँ नगद र विर्तामोडबाट पत्रकारिता गरिरहेका साझा मञ्च डट कमका प्रधान–सम्पादक पत्रकार गोपाल काफ्लेलाई नगद ५ हजार १ रुपैयाँ सहित सम्मानित तथा पुरस्कृत गरिने भएको व्यवस्थापक सुदिप खतिवडाले जानकारी गराए ।