दमक/ नेपालको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत झापाको दमकमा निर्माणाधीन देशकै सबैभन्दा अग्लो दमक भ्यू टावरको ५८ प्रतिशत भौतिक प्रगति भएको छ । जसअन्तर्गत भ्यू टावरको काम ११ औं तल्ला सम्पन्न भएर १२ औं तलाको काम भइरहेको छ ।
दमक नगपालिमा–३ स्थित दापगाछीमा १०० मिटर अग्लो निर्माणाधीन भ्यू टावर निर्माणको काम धमाधम भइरहेको छ । गत पुस महिनामा सम्पन्न गर्नुपर्ने सम्झौता भएको उक्त टावरको काम नसकीएपछि पुनः साढे ७ महिना समय थप गरिएको छ । अहिले १२ औँ तल्लाको काम भइरहेको दमक भ्यू टावर निर्माणको काम जिम्मा लिएको जेठसिजीएलसी÷ आषिश÷ओम÷साइराम जेभीका परियोजना प्रमुख सर्जल बिडारीले जानकारी दिए । भ्यू टावर निर्माणमा बिहीबार सम्ममा कामको भौतिक प्रगति ५८ प्रतिशत पुगेको प्रमुख विडारीको भनाइ छ । अहिलेको गतिमा काम भएपनि थपिएको समयमा सम्पन्न गर्न नसकिने देखिएको छ ।
निर्माणको काम सुरु भएपछि नै कोरोना भाइरसको महामारीका कारण दुई पटक लकडाउन भयो । टावरको काम गर्दै जाँदा यहाँको भौतिक अवस्था र माटोको गुणस्तर नमिल्दा, पटक–पटक यसको डिजाइन परिवर्तन गर्नुपर्दा समेत समय बढी लागेर सम्झौता अनुसार काम हुन नसकेको निर्माण पक्षको दावी छ । टावरसँगै यस भित्रका एसी, विद्युत वायरीङ, फायर फाइटिङ, पार्टिसन, प्लास्टर लगायतका काम समेत धमाधम भइरहेको जनाइएको छ । भवनको तला थपिदै जाँदा फिनिसिङको काम समेतसँगै अघि बढाउँदै लगिएको छ ।
भ्यू टावर अग्लो हुने भएकाले यसको भार थेग्न सक्नेगरी यसको जग जमिनको सतहभन्दा ४५ मिटर गहिरो २ सय ८९ वटा पायलिङ पिलर गाडिएको छ । यस्तै ३ सय २४ वटा १० मिटर गहिरो ग्राभेल पायलिङ गरिएको थियो । यो साताभित्रमा अण्डरग्राउण्ड पार्किङ ढलाईको काम समेत सम्पन्न गर्ने योजना रहेको सघन सहरी विकास कार्यालय झापाबाट भ्यू टावर निर्माणको प्राविधिक पक्षको जिम्मेवारी तोकिएका इन्जिनियर सुरेन्द्र कुमार साहले जानकारी दिए ।
यहाँ अत्याधुनिक सपिङ महलसहित स्वीमिङ पुल तथा बिभिन्न आकर्षक पानीको फोहोरा समेत निर्माण हुने जनाइएको छ । २५ तलासम्म रहने यो भ्यू टावरको १८ तलासम्म कङ्क्रिट गरिने र यही तलासम्म व्यावसायिक प्रयोजनका लागि प्रयोग गरिने योजना रहेको छ । त्यो भन्दा माथि हलुका आल्मुनियमबाट तल्ला थप गरिने छ । अन्य स्वास्थ्य चौकी, चिल्ड्रेन पार्क, गार्डेन समेत निर्माण गरिने छ । करिव ५ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भ्यू टावरको लगभग ८ कठ्ठा क्षेत्रफलमा टावरमात्र निर्माण हँुदैछ । ४९ वर्गमिटरको यो टावरको कुल लगानी १ अर्ब ५८ करोड २२ लाख रहेको छ ।
भ्यू–टावर निर्माणले स्थानीयलाई उत्साहित समेत बनाएको छ । दमक भ्यू–टावर नजिकै घर भएकी सकुन्तला दवाडी अब आफ्नो ठाउँ पनि परिवर्तन हुने भयो भन्नेमा आशावादी छन् । श्रीमान विदेशमा कमाउन गएको ३० औं वर्ष पुगेर पनि फर्र्किएका छैनन् । घरभएको स्थानमा डेढ कठ्ठामात्र जमिन छ । के गरेर खाने भन्ने सँधै चिन्ता लाग्थ्यो तर अब घर अगाडी २५ तलाको टावर निर्माण भएपछि सानो तिनो होटल वा पसल नै गरेर पनि खान सकिने उनले बताइन् । उनी जस्तै यो क्षेत्रका बासिन्दालाई यो विकासले गाउँको मुहार फेरिने अपेक्षासहित उत्साहित समेत बनाएको छ ।