समाचार

देवान मातृभाषाबारे प्रशिक्षण

दमक/ झापाको दमकमा एकदिने किरात देवान मातृभाषा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । दमक र आसपासका देवानहरुलाई मातृभाषा बारे जानकारी गराउने उद्देश्यले उनीहरुलाई लक्षित गरी सो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि रहेका देवान भाषाका अनुसन्धानकर्ता प्राध्यापक डाक्टर टंकप्रसाद न्यौपानेले देवान भाषालाई पहिले याख्खा भाषाको रुपमा लिइएपनि अध्ययन अनुसन्धानबाट यो छुट्टै भाषाका रुपमा रहेको पत्ता लागेको जानकारी गराए । उनले भाषा पहिचानसंग जोडिएको र कम जनसंख्याले बोल्ने भाषाभाषीहरुको संरक्षण र सम्बद्र्धन पनि राज्यले गर्नुपर्ने कुरामा जोड दिए । उनले देवान भाषालाई अब सरकारले अन्य भाषाजस्तै सूचीकृत गर्नुपर्ने र यसको अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले आफूले देवान भाषाको छुट्टै शब्दकोष पनि तयार गरिरहेको र त्यो आगामी तीन चार वर्षभित्रमा प्रकाशनमा आउने बताए ।
कार्यक्रमका अतिथिहरु राष्ट्रिय आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष जंग बहादुर देवान र किरात देवान समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष गणेश कुमार देवानले देवान भाषाको छुट्टै मौलिक पहिचान रहेकाले यसलाई सोही अनुरुप बुझ्ने र व्याख्या गर्नुपर्ने साथै संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताए । शुभकामना मन्तव्य राख्दै दमक नगरपालिका–७ का वडाध्यक्ष भिम पौडेलले लोपोन्मुख अवस्थामा रहेको भाषाभाषीको संरक्षणका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे । किरात देवान समाज झापा जिल्ला कार्यसमितिका अध्यक्ष मिलन देवानको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य सो समितिकी सदस्य वर्षा देवान र संचालन समाजका दमक नगर सचिव सुन्दर देवाले गरेका थिए । कार्यक्रममा देवान भाषा सम्बद्ध जातिहरुले घरबाटै बोल्नुपर्ने र त्यसको इतिहासलाई मर्न नदिन अभिलेखीकरण गर्नुपर्ने खाँचो औंल्याएका थिए । देवान मातृभाषाबारे प्रमुख प्रशिक्षक प्रा. डा. टंकप्रसाद न्यौपाने तथा प्रशिक्षकहरु क्रमशः जंग पुत्लुङहाङ देवान र होम पुत्लुङहाङ देवानले गरेका थिए । राई, लिम्बू जस्तै छुट्टै मौलिक पहिचान भएको भनिने सो जातिको भाषालाई जगेर्ना गर्न अध्ययन अनुसन्धान गरी ‘देवान जाति, संस्कार र भाषाः व्याकरण र शब्दभण्डार’ नामक पुस्तक समेत प्रकाशन गरिएको छ । देवान भाषा नेपालका विभिन्न १० जिल्लामा बोलिने गरेको र बोल्नेको संख्या ८ हजारको हाराहारीमा रहेको त्यस अवसरमा जानकारी गराइयो ।

Author

You may also like