दमक/ जन्मदेखि मृत्यु संस्कार समेतलाई बुझाउने गरी स्थापना गरेको धिमाल जातिको संस्कार संस्कृति झल्काउने खालका प्रतिमा स्थापना गर्ने काम धमाधम भइरहेको छ ।
झापाको दमक–९ स्थित चकडपाडास्थित धिमाल संस्कृति संग्रहालय भित्र चालु आर्थिक वर्षमा मात्र ६ वटा थप गरी जम्मा २० प्रकारका पूर्णकदका प्रतिमा राखिएको छ । यि प्रतिमा स्थापनाका लागि संघीय सरकारको तर्फबाट १२ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । संग्रहालयमा अझै १० वटा थप गरी जम्मा तीस वटा जति प्रतिमा राख्ने योजना रहेको घिमाल संस्कृति संग्रहालयका अध्यक्ष लोकबहादुर धिमालले बताए ।
केही महिलाहरु मुस्लीले ओखलमा धान फल्र्दै गरेका छन् । एक जना बृद्ध जस्तै देखिने पुरुष माछा मार्ने जाल बुन्दै छन् । कोही ढोलक बजाउँदै छन् । एउटा समूह कुकुरसहित शिकार बोकेर फर्कँदै गरेको छ । एकजना बृद्धाको जस्तो अनुहार झल्किने महिला हुक्का तानेर बसेकी छन् । सबैको अवस्था फरक फरक ढंगको छ । एक जना युवा आफ्नी प्रेमीकालाई केही मायाको सन्देश स्वरुप सगुन, पान, (कोसेली) दिँदैछन् । यहाँ राखिएका प्रतिमाले धिमाल समुदायको बिभिन्न अवस्था प्रष्ट पार्ने गरेको छ । दमक नगरपालिकाले घोषणा गरेको प्रथम नागरिक घिमाल समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार झल्किने प्रतिमा संग्रहालयमा राखिएका छन् । यही प्रतिमा हेरेर अध्ययन गर्दा घिमाल जातिको संस्कार प्रस्ट बुझ्न सकिन्छ ।
माथि उल्लिखित सबै प्रसंग तस्वीर हेर्दा नै छर्लङ्ग बुझ्न सकिन्छ । सबै प्रतिमा आफँै केही कुरा बोल्न खोजे जस्तै लाग्छ । नबोली पनि आफ्ना विषयमा प्रतिमाले झल्काएका छन् । झट्ट हेर्दा सबैको अनुहारबाट नै कुन जातिको हो भन्ने सहजै अनुमान लगाउन सकिने खालका छन् ।
धिमाल जातिका विषयमा अध्ययन, अनुसन्धान, खोज, जानकारी एकै थलोबाट गर्न सकिने उद्देश्यले संग्रहालय निर्माण गरिएको हो । यहाँ यो जाति समुदायमा बच्चा जन्मँदा गरिने जन्म संस्कारदेखि किशोर हुँदै युवा अवस्थाको जानकारी समेत दिनेगरी प्रतिमा नै निर्माण गरिएको छ । बच्चा जन्मने बित्तिकै सुत्केरी आमालाई काग भलायोको दाउराको आगो तपाउने र कोइलाबाट बच्चा तेल लगाएर सेकताप गरेको दृश्यसमेत यसैमा समेटिएका छन् । यस्तै युवा अवस्थामा पुगेपछि वैवाहिक बन्धनमा बाँधिने प्रकृया, मेला बजार केटाकेटी हेर्ने र त्यही विवाहको कुरा छिन्ने प्रकृया समेत यहीँ झल्किने गरेको सन्देश यिनै प्रतिमाबाट दिन खोजिएको छ ।
त्यस्तै परिवार मिलेर जंगलमा शिकार खेल्न जाने, मारेर ल्याएको शिकार पुजापाठ गरी जल, जमिन, हावा, पानी जस्ता प्रकृतिलाई चढाएर खाने गरेको पाइन्छ । यस्तै एउटा जातिको सम्पूर्ण परम्परा संस्कृतिलाई एकै स्थानमा संकलन गरी प्रस्तुत गरिएको छ । स्थानीय र प्रदेश सरकार लगायतका बिभिन्न दाताहरुबाट प्राप्त आर्थिक सहयोगबाट निर्माण गरिएको संग्रहालयमा अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी खर्च भइसकेको अध्यक्ष धिमालले जानकारी दिए ।
यहाँ १८ वटा साना स्थायी स्टल निर्माण गरिएको छ । जहाँ यि प्रतिमा राखिएको छ । यस्तै धिमाल जातिका परम्परागत घरदेखि यो समुदायले प्रयोग गर्ने कृषि औजार, यन्त्रदेखि बाजागाजा समेत यहाँ राखिएको छ । आदिम कालमा धिमालका पुस्ता घुमन्ते जातिका रुपमा रहेका थिए । उनीहरु एक ठाउँमा खेती गर्ने र त्यहाँको बाली पाकेपछि अर्को स्थानमा खेतीयोग्य जमिन खोज्दै हिंड्ने गरेको ऐतिहासिक तथ्यबाट बुझ्न सकिने उनले जानकारी दिए । धिमाल जातिको मुख्य पेशा कृषि नै थियो । खेती गर्ने, माछा मार्ने, शिकार खेल्न निक्कै कुशल रहने गरेको इतिहास छ ।
यसरी शिकार खेल्दै खेतीयोग्य जमिन खोज्दै जाँदा झापाको दमक–९ र ४ वडाका अधिकांश क्षेत्रमा आएर बसोबास गर्न थालेको हुनसक्ने अनुमान धिमाल अगुवाहरुको छ । यो क्षेत्रमा राम्रो उब्जनी भएका कारण घिमाल जातिले स्थायी बसोबास गरेको अनुमान गरिएको छ । दमक नगरपालिकाको पहिलो नगरसभाले धिमाल जाति दमक नगरपालिका भित्रको पहिलो जातिको रुपमा स्वीकार गरेर घिमाललाई प्रथम नागरिकको रुपमा घोषणा समेत गरेको छ ।