समाचार

दमकमा चैतदेखि फोहोरबाट ग्याँस उत्पादन सुरु

दमक/ झापाको दमकमा फोहोरबाट ग्याँस र प्राङ्गारिक उत्पादन गर्ने योजनाको भौतिक काम सम्पन्न भएको छ । यहाँबाट चैत महिना भित्रमा ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको हो । निर्माणको जिम्मा लिएको नेक्स्ट इरा इनर्जी प्रालि÷रोहन ड्रेडर्स प्रालि जेभीद्वारा निर्माण उक्त योजनाको  काम सम्पन्न भएको जेभीका प्रवन्ध निर्देशक विमल खतिवडाले बताए ।
फोहोर सुन्दै पनि हाम्रो दिमागमा नराम्रो लाग्ने शब्द । शब्दले यतिको प्रभाव राख्दछ भने साँच्चिकै फोहोरको असर त कति पर्नसक्छ भन्ने नेपालका अधिकांश शहर बजार क्षेत्रमा बसोबास गर्ने सबैले भोगिरहेका छौं । फोहोरले दुर्गन्ध, मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असरदेखि शहरी सुन्दरता समेत लुट्ने गरेको छ ।
यसको दीगो व्यवस्थापन र प्रशोधन गर्न नसक्दा फोहोर वर्षौंदेखि ठूलो टाउको दुखाईको विषय बन्दै गएको छ । केही क्षेत्रमा डम्पिङ साइटमा फोहोर फाल्नु पर्ने बाध्यता छ । धेरै शहरमा डम्पिङ साइट नहुँदा राजमार्ग नजिकका नदी किनार, वन क्षेत्रमा जथाभावी फाल्ने गरिएको छ । प्रत्येक घर कार्यालय भवन उद्योगबाट निस्कने फोहोरबाट ऊर्जा उत्पादन गरी आम्दानीको दीगो स्रोत बन्ने भएको छ ।
यसरी सुन्दर शहरको रुपलाई बिगार्ने फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मल समेत उत्पादन हुने भएको छ । झापाको दमक नगरपालिकामा कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न धमाधम काम अघि बढेको छ । फोहोरबाट ऊर्जा अन्तर्गत ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए । यसका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र स्थापना गरिएको प्रशोधन केन्द्रमा नगरको फोहोर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ । यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहोरबाट मिथेन वायोग्याँस उत्पादन हुन्छ,  उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डर मार्फत् वितरण गरिने छ । बाँकी कुुहिएको फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ  भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गारिक मल उत्पादन गरिने छ ।
प्रशोधनका लागि २२ मिटर चौडाई र ८ दशमलव ५ मिटर उचाई भएको विशाल पक्की ट्याङ्की निर्माण भइरहेको छ । यहाँबाट दैनिक १ हजार ८४ किलोग्राम वायोग्याँस उत्पादन गर्न सकिन्छ । यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल उत्पादन गर्न सकिने छ । त्यस्तै ७ हजार ५ लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहोर ब्यवस्थापन प्रमुख दोर्ण थापाले
दमकमा…. जानकारी दिए । कुल २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत रहेको उनको भनाइ छ । यसमा लागत सहभागिता १४ करोड ७० लाख बढी नेक्स्ट इरा इनर्जी प्रालि÷रोहन ड्रेडर्स प्रालि जेभीको रहेको छ । बाँकी ५ करोड ८ लाख बढी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रहेको जनाइएको छ । जेभीले २०७७ साल माघ १० गते सम्झौता भएको थियो ।
कुहिने पदार्थबाट प्राङ्गारिक मल र ग्याँस उत्पादन गरिने छ भने प्लाष्टिक जन्य फोहोर र पुनः प्रयोग गर्न सकिने वस्तुलाई प्रशोधनमार्फत् छुट्याइने छ । यसरी छुट्याइएका प्रशोधन गर्न नसकिने फोहोर मात्र व्यवस्थापन गरिने योजना रहेको छ ।  दमक क्षेत्रमा दैनिकजसो २० टन फोहोर उत्पादन हुने गरेको छ  भने १५ टन फोहोर संकलन हुने गरेको छ । जसमध्ये दमक नगरपालिका क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहोर रहने गरेको छ । कागज तथा कागजजन्य ६ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य ५ दशमलव ३७ प्रतिशत फोहोर निस्किने गरेको छ ।

You may also like