दमक/ फागुन २१ का लागि तोकिएको निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक र आर्थिक गतिविधि तीव्र बनेका छन् । राजनीतिक दलहरू प्रचार–प्रसार, सभा–सम्मेलन र घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् भने उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित छन् । निर्वाचनको माहोलले स्थानीय बजारमा पनि चलायमानता बढाएको छ । मुद्रा, यातायात, प्रचार सामग्री उत्पादन, होटल तथा साना व्यवसायमा कारोबार बढेको देखिन्छ । चुनावकै कारण विभिन्न क्षेत्रमा अस्थायी रोजगारीका अवसरसमेत सिर्जना भएका छन् ।
चुनाव नजिकिएसँगै आर्थिक गतिविधि बढेको पछिल्लो समय बैंकहरुबाट बाहिरिएको रकमले पनि संकेत गरेको छ । उम्मेदवारहरु चुनावी प्रचार र घरदैलोमा जुटेपछि माघको तीन सातामा मात्रै बैंकबाट तीन अर्ब ३० करोड रुपैयाँ बाहिरिएको छ । यो दल, उम्मेद्वार तथा सम्वद्ध क्षेत्रको रकम हो । फागुन २१ को चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारहरुले घरदैलोसँगै डिजिटल प्रचारलाई समेत तीब्र बनाएका छन् । नेता–कार्यकर्ता निर्वाचन क्षेत्रमा पुगिसकेकाले होटल तथा यातायात क्षेत्रमा समेत चहलपहल देखिन थालेको छ । यही बेला बैंकबाट रकम झिक्ने क्रम पनि बढेको छ । गत पुसमा बैंकमा ३ अर्ब ८० करोड रकम जम्मा भएकोमा २ अर्ब २ करोड बाहिरिएको थियो । तर माघका १९ दिनमा ८० करोडमात्रै जम्मा भएको छ भने ३ अर्ब ३० करोड बाहिरिएको छ । पुसमा बाहिरिएको भन्दा यो महिनाको १० दिनमै १ अर्ब २८ करोड बाहिरिएको छ ।
२०७९ को चुनावमा ६ खर्ब ६० अर्ब रकम प्रचलनमा रहेकोमा सोही वर्षको दशैंमा ६ खर्ब ६३ अर्ब रकम बजारमा थियो । तर, चुनावका बेलामा बाहिरिने रकमले छोटो समयका लागि अर्थतन्त्र चलायमान बनाए पनि दीगो भने नहुने विज्ञ बताउँछन् । पछिल्ला वर्षमा नेताहरुले कुनै व्यावसायिक घरानामार्फत् गरेको लगानीबाट चुनावमा रकम प्रयोग गर्ने गरेको बिज्ञ बताउँछन् । चुनावमा ३४ सय ९० उम्मेदवार प्रतिष्पर्धामा छन् भने उनीहरुलाई चुनावका समयमा भूगोलका आधारमा ३३ लाखसम्म खर्च गर्ने अनुमति दिइएको छ ।
राज्यको १९ अर्व
राजनीतिक दल, उम्मेद्वार तथा प्रतिनिधीहरुले गर्ने खर्च मात्र बजारमा आएको छैन । निर्वाचत तयारी तथा आवश्यक सामाग्री खरीद र व्यवस्थापनका लागि पनि राज्य श्रोतबाट ठुलो रकम निकाशा भई सकेको छ । अहिले नै चुनावका लागि अर्थ मन्त्रालयले १९ अर्ब रकम निकासा गरिसकेको छ । सो रकम समेत बजारमा परिचालित हुने क्रममा रहेको छ । राज्य र उम्मेद्वार तथा दलको रकम एकसाथ बजारमा आउँदा अर्थतन्त्र चलायमान बनेको पाईएको छ ।
चुनाव लागेसँगै बजारमा पैसा बाहिरिने क्रम बढ्दा चलनचल्तीको यस्तो रकम ८ खर्ब हाराहारीमा पुग्नसक्ने राष्ट्र बैंकका अधिकारीहरुको आकलन छ । दशैंमा भन्दा चुनावका बेला कम रकम बाहिरिने गरेको भए पनि यसले अर्थतन्त्र भने चलायमान बनाएको विगतको अनुभव छ । दशैं तथा तिहारसँगै चुनावका बेला बैंकबाट ठूलो परीणाममा पैसा बाहिरिने गरेको राष्ट्र बैंक श्रोतले जनाएको छ । अहिले बजारमा ७ खर्ब ६५ अर्ब बराबरको रकम चलनचल्तीमा छ, जुन गत दशैंमा ८ खर्ब हाराहारीमा थियो ।