देश–समाज विचार/वहस स्थानीय

समुद्र मन्थन राजनीतिबीच चुनाव चर्चा

प्राचीन कालमा देवता र असुरहरू मिलेर संयुक्त रूपमा विश्व कल्याणार्थ समुद्र मन्थन गर्ने कार्यलाई पूरा गरेका थिए । समुद्र मन्थनबाट देवताहरूले असीमित शक्ति प्राप्त गर्ने र असुरहरूलाई युद्धमा परास्त गरी असुरहरूको नियन्त्रणमा रहेको पृथ्वीलोक ,स्वर्गलोक र देवलोकलाई पुनः देव संस्कृतिको नियन्त्रणमा ल्याउने र संसारमा विधि व्यवस्थालाई बहाल गर्ने अपेक्षा गरिएको थियो भने असुर पक्षहरुले समुद्र मन्थन पश्चात प्राप्त हुने अमोघ शक्तिहरूबाट आसुरी शक्तिहरूलाई अझ अपराजेय, बलियो र अमर बनाउने तथा स्वर्गलोक सहित सम्पूर्ण विश्व ब्रह्माण्डमा आसुरी शक्तिको अखण्ड र चिर स्थायी राक्षस साम्राज्य खडा गरी अनन्त कालसम्म राज्य सत्ताको सुखोपभोग गर्दै रमाइलो गरि रहने अपेक्षा गरिएको थियो। समुद्र मन्थनबाट प्राप्त उपलब्धिहरूलाई देवता र असुरहरूबीच परस्पर सहमतिबाट विभाजन गर्ने कुरालाई स्वीकार गरी देवगुरु बृहस्पति र दैत्य गुरु शुक्राचार्य बीच बराबर बराबर बाँडफाँड गर्ने गरी समुद्र मन्थन गर्ने कार्य प्रारम्भ गरिएको थियो। देवताहरू र दैत्यहरू एकै ठाउँमा भेला भई जुटेर राम्रो काम गर्ने अपेक्षा गरिए पनि अन्तत देवासुर संग्राम भएर नै छाडियो ।
देवासुर संग्राममा देवताहरू विजयी भए भने दैत्यहरु पराजित भएर पाताल लोकमा गएर ज्यान जोगाएर बाँच्नुपरेको शास्त्रीय कथाहरु अहिलेसम्म पनि नेपालीहरूको जनजीब्रोबाट सुन्न र बुझ्न सकिन्छ। त्यस्तै नेपालको अहिलेको समुद्र मन्थन राजनीति पनि नेपालको लागि मात्र होइन सम्पूर्ण भारतीय उपमहाद्वीप लगायत सम्पूर्ण विश्वको राजनीतिलाई पाठ पढाउने र आ आफ्नो देशको दशा र दिशालाई व्यावहारिक रुपमा जनता जनार्दनको पक्षमा परिवर्तन गरी भौतिक र आध्यात्मिक विकासको लागि आधार स्तम्भ र ऐतिहासिक बनाउन सक्ने अपेक्षा गर्न सकिन्छ। नेपाल अहिले यथास्थितिवादी राजनीतिको मूलधार लाई परिवर्तन गरी नयाँ किसिमको अग्रगामी विचारलाई ग्रहण गर्दै देशलाई नयाँ नेतृत्वको लागि उत्प्रेरणा दिइरहेको देखिन्छ। आज देशका युवाहरूले परिवर्तन खोजिरहेका छन्। देशका युवाहरूले नेपालका विगतका सरकारहरूले गर्ने गरेका धाँधली र मनपरीतन्त्रलाई हटाउन कम्मर कसेर लागि परेको देखिन्छन। यस अर्थमा नेपालको आम निर्वाचनको सन्दर्भलाई समुद्र मन्थनको घटना र विचारसँग जोड्न सकिन्छ ।
देशमा राजनैतिक संकट आई परेपछि देशको सर्वोच्च लोकतान्त्रिक प्रतिनिधि मूलक संस्था प्रतिनिधि सभाको चुनाव गराउने अन्तरिम सरकारको निर्णय र आदेशसँगै निर्वाचन आयोगले नेपालैभरि एकै चरणमा चुनाव गराउने गरी फाल्गुन २१ गतेका दिन तोकेपछि नेपालमा समुद्र मन्थन राजनीतिको ज्वारभाटा र उच्च तरङ्गहरूले मधेस तराईका गाउँघरदेखि लिएर पहाडका कुना काप्चा सम्म भोट के मा भन्दै राजनीतिक दलका कार्यकर्ताहरू र नेताहरूले लगाइरहेका नाराहरूबाट नेपालको आकाश गुन्जायमान भइरहेको देखिन्छ। चुनावमा सहभागिता जनाउन निर्वाचन आयोगले निर्धारण गरेको चुनाव चिन्ह लाई अत्यन्त आत्मीय ढंगले उम्मेदवारहरूले जनताको घरदैलोसम्म पुर्याएर आफ्नो पक्षमा जनमतलाई आकर्षित गर्न भरमग्दुर प्रयास गरिरहेका भेटिन्छन्। भोट के मा रुखमा, भोट के मा सूर्यमा, भोट के मा घन्टीमा, भोट के मा तारामा, भोट के मा हलोमा, भोट के मा छातामा, भोट के मा जातोमा, लगायतका अनेकानेक चुनाव चिन्हहरूलाई उम्मेदवारहरूले जनता बीच चिनाइरहेका भेटिन्छन्। असहज समयमा घोषणा गरिएको निर्वाचनका परिणामहरू देशको लागि सहज हुन सक्ने अपेक्षा गरिए पनि जनजीब्रोमा देशलाई राजनीतिक रूपले स्थायित्व दिन सक्ने आधारहरू मतपत्रबाट बन्न सक्ने कुराहरूमा अहिलेसम्म पनि राजनीतिक विश्लेषकहरूबीच माथापच्ची भई रहेको छ। कोहीकोही राजनीतिक विश्लेषकहरूले नेपालमा हुन गइरहेको आम चुनावमा चिनियाँ पक्षलाई सहज हुन सक्ने वा भारतीय पक्षलाई सहज हुन सक्ने भन्ने कुराहरुमा पनि विषय विज्ञता देखाइरहेका पाइन्छन्। सत्य र तथ्य कुरोलाई लुकाएर चुनाव जित्नु चुनावमा भाग लिने दलहरूको एउटा पक्ष हुन सक्दछ ,भने यथार्थमा सत्य र तथ्य कुरा नलुकाई चुनावमा हार्नुपर्ने बाध्यता पनि कुनै दलहरूको अर्को पक्ष पनि हुन सक्दछ। हार र जित मात्र चुनावको अन्तिम लक्ष्य होइन। चुनाव नै नभई पनि देशले हार्नु हुँदैन र चुनाव भएर पनि देशले हार्नु हुँदैन। चुनावमा राम्रा र नराम्रा नेताहरूको हार जितसँगै देशको भविष्यको पनि हार र जित हुने कुरा निश्चित प्राय हुन्छ। त्यसकारणले जनताले असल विचार र असल मनसाय भएका जोशीला, तागतिला, होसियार ,विवेकशील र दूरदर्शी राजनीतिक व्यक्तित्वहरूको पक्षमा मतदान गर्दै देशका नेताहरू माथि लाग्ने गरेको आरोप प्रत्यारोप हरुलाई सदा सर्वदाको लागि नेपाली धर्तीबाट विदाई गराउने गरी जनलहर ल्याउनु अति आवश्यक छ। नेपालबाट खिचडी सरकार बनाउने परम्पराको समुल उन्मुलन हुनु जरुरी छ। खिचडी सरकार नै नेपाली राज नीतिको ठूलो दुर्भाग्य ,विरोधाभास र देशको असफलताको कारक तत्व को रुपमा रहेको छ, जसलाई जनताको भारी जनादेशले सम्बोधन गर्नु जरुरी छ। नेपाली जनताले यसपालिको निर्वाचनमा देशलाई स्थिर सरकार दिने गरी मतदान गर्ने र देश भित्र हुने गरेका र देखिएका हरेक किसिमका वेथिति ,विसंगति, नातावाद ,घृणावाद, क्षेत्रीयतावाद, आफन्तवाद, दलीयतावाद जस्ता देशघाती विचारहरूलाई परास्त गरी लोकतन्त्र भिड तन्त्र र भिडन्त तन्त्रबाट होइन विचारतन्त्रबाट सञ्चालित हुन्छ, भन्ने कुरालाई साबित गरेर देखाउने बेला आइसकेको छ। अहिले संसारमा नै युवाहरू हरेक क्षेत्रमा अगाडि बढिरहेको छ। युवाहरूलाई अवसर दिनुपर्छ, युवाहरूलाई हौस्याउनु पर्दछ, युवाहरूको मनभित्र देशप्रेमको भावना जगाउनु पर्दछ । युवाहरूलाई देशको नेतृत्व गर्न दिने अवसर प्रदान गर्नुपर्दछ,युवाहरुलाई विनाशको होइन विकासको संवाहकको रुपमा जनताले स्वीकार गर्नुपर्दछ। देशभित्रका बालबालिकाहरूलाई भेडा गोठाला , हरुवा चरुवा ,र इटाभट्टामा लगेर काम गराउने होइन बरु उचित शिक्षाको व्यवस्था मिलाउनु पर्दछ, किनकि आजको बालबालिका नै भोलिको देशको भविष्य हो। बालबालिकाको भविष्य बर्बाद भयो भने देशको भविष्य नै चकनाचुर हुन्छ। त्यसकारण देशका हरेक नागरिकले स्वान्तह सुखायको भावनाबाट माथि उठ्नुपर्दछ, देशमा यथास्थितिवादको खेती गर्ने र जनतालाई ढाँट्ने, पक्षपात गर्ने, हैकमी तन्त्र खडा गर्ने र देशमा विधिको शासन बहाल गर्न कुनै तदारुकता देखाउन नसक्ने व्यक्ति वा उम्मेदवारहरुका पाखण्ड रच्ने विचारहरुलाई पाखा लगाउने गरी जनताले उच्च मनोबलको परिचय दिनुपर्दछ। भारी सङ्ख्यामा जनताले मतदान गरी आफ्नो आफ्नो मताधिकारको प्रयोग गर्नु पर्दछ। नदीहरूमा ठूलो बाढी आएपछि जसरी गाउँघर नगरबस्ती खेत र वनजङ्गललाई विनाश गराउँदछ, त्यसरी नै राजनीतिक उधमहरू मचाएर छुत्ल्याहाहरुले देशलाई विनाश गराउने र आफ्नो स्वार्थ सिद्धिको बाटो खुल्ला गर्ने नीति अङ्गीकार गरेको पनि हुन सक्दछ ,त्यस्तो कुटिल राजनीतिलाई जनताले सबक सिकाउनु जरुरी छ । यसपालि देशमा थुप्रै व्यक्तिहरू प्रधानमन्त्री बन्ने कसरत गर्दैछन् ।
तर प्रधानमन्त्री बन्न कुनै किसिमको जालझेल र कसरत गर्नु पर्दैन, प्रधानमन्त्री बन्नको लागि देश र संविधानप्रति निष्ठा राख्नु जरुरी छ। बिना कुनै अहंकार, बिना कुनै दम्भ, बिना कुनै पक्षपात देशको प्रधानमन्त्रीले जनतालाई समान रुपले व्यवहार गर्नुपर्दछ। ठिक्क ठाउँमा ठिक्क व्यक्ति पुगेन भने देशलाई सम्हाल्न मुस्किल पर्न सक्छ, भन्ने कुरा यही भदौ महिनामा भएको जेन्जीको आन्दोलनले साबित गरिदिएको छ। देशमा सधैँजसो आइरहने प्राकृतिक संकटहरूलाई हतपति नियन्त्रण गर्न कठिन हुन्छ। तर मानव निर्मित संकटहरु लाई टार्ने र टाल्ने क्षमता भएको सरकार बनाउने र त्यस्ता खालका जनप्रतिनिधिहरू संसदमा पठाउन सक्ने क्षमता र काबिलियत जनादेशमा निहित हुन्छ। देशभित्र पटकपटक देखापर्ने राजनीतिक संकटहरूलाई जनताको जनादेशबाट नियन्त्रण गर्न र सम्हाल्न सकिन्छ । त्यसकारणले चीन र भारतमा जस्तो राजनीतिक स्थिरताको अभ्यास हुँदैछ, त्यस्तै किसिमको राजनीतिक स्थिरता नेपालमा बहाल गर्ने माहौल र वातावरण देशका आम मतदाता वर्गले बनाउनु जरुरी छ । यसपालिको निर्वाचनमा यो दलले जित्ने अथवा त्यो दलले हार्ने भन्ने कुराको आधारमा जनताले मताधिकार प्रयोग नगरी देश चलाउन नसक्नेले हार्ने र देश चलाउन सक्नेले जित्ने गरी जनता बीच एकजुटता हुनु जरुरी छ। भारतको बिहार प्रान्तमा हालसालै भएको प्रान्तीय सभाको चुनावमा चुनाव जित्न सफल भएकी मैथिली ठाकुर भारतको मात्र होइन विश्वकै सबैभन्दा कम उमेरकी महिला जनप्रतिनिधि बनेकी छिन् जसको उमेर मात्र २५ वर्ष रहेको छ, उनले विश्वका युवा राजनीतिकर्मी हरूको ध्यान आकर्षण गर्न थालेको छ। तसर्थ अनुभवीलाई छानौँ, सक्षमलाई छानौ , देशको उज्ज्वल भविष्य लाई छानौँ यही नै यसपालिको नेपालको समुद्र मन्थन आम निर्वाचनको राजनीतिक उद्घोष हो।

Author

You may also like