देश–समाज मुख्य राष्ट्रिय समाचार स्थानीय

रसुवागढीको बाढीमा ९ को शव फेला, दर्जनबढी बेपत्ता

मृतकका परिवारलाई राहत २ लाख पाउने, बुधबार ३० को उद्दार
दमक/रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा एक्कासी बाढी आउनुमा ‘हिमताल विस्फोट’ मुख्य कारण रहेको विपद् प्राधिकरणले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बुधवार पत्रकार सम्मेलन गरेर ‘ग्लेसियल लेक’ विस्फोट भएर एक्कासी बाढी आएको प्रारम्भिक अध्ययनको निष्कर्ष सुनाए । उनले भने, ‘बाढी ह्वात्तै आएर नदीको उचाई एकै पटक साढे ३ मिटर बढेको छ ।’
वर्षाको कारण बाढी आउँदा एक्कासी नदीको उचाई साढे ३ मिटर नबढ्ने उनले बताए । उपग्रह तस्बिरको विश्लेषण गर्दा चीनबाट आउने लेन्दे नदी भन्दा माथिको भागमा हिमतालहरू देखिएका छन् । सो हिमताल विस्फोट भएर बाढी आएको प्राधिकरणको प्रारम्भिक निष्कर्ष छ ।
असार २४ मा बिहान आएको लेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिँदा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीका कारण १९ जना सम्पर्कविहीन भएका छन् । त्यस्तै ९ जनाको शव भेटिएको छ । मृतकका परिवारलाई २ लाखका दरले राहत दिने सरकारले निर्णय गरिसकेको छ । रसुवाको स्याफ्रुवेशीदेखी टिमुरेसम्म करिब १६ किलोमिटर सडक बाढीले क्षति गरेको कार्यकारी प्रमुख भट्टले बताए ।
प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखेकले हेलिकप्टरबाट ३० जनाको उद्दार भईसकेको बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत बताए ।
पहिरोमा परेर बाबुछोरा बेपत्ता
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न गएका बाबुछोरा पहिरोमा परेर बेपत्ता भएका छन् । आज दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Author

You may also like