मुख्य

धुलोको चपेटामा दमक बजार

दमक/ झापाको दमकका भित्री बजारका अधिकांश सडक भत्काएर लथालिङ बनाएर छोडेपछि अहिले स्थानीय बासिन्दाले धुलोको यस्तै सास्ती भोगिरहेका छन् । त्यतिमात्र होइन बालबालिका र बृद्धबृद्धालाई त स्वास्थ्यमा गम्भीर असर देखापर्न थालेको दमक–५ को आदर्श टोल निवासी तेजबहादुर खत्री (गोपाल) ले बताए । यो सडक भत्काएर धुलो उड्न थालेपछि अधिकांश बालबालिका र बृद्धबृद्धालाई रुघाखोकी लाग्ने श्वास प्रश्वासमा समस्या आउने सम्मका समस्या बढेको स्थानीयको दावी छ ।
हामीले यो समस्याका विषयमा पटक पटक सम्बन्धित वडा कार्यालयसम्म पनि जानकारी गराइसकेका छौं । तर कतैबाट पनि समस्या माथि सुनुवाइ नभएको सोही टोलका पुष्प थापाले बताए । एक वर्ष अघि नै सडक सबैजसो भत्काइयो तर अहिलेसम्म पनि पिचको काम नभएकाले धुलोले पूरै शहर अस्तव्यस्त भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरले दमकमा ढल व्यवस्थापनको काम गरिरहेको छ । जसमा ढलको पाइप गाड्न यहाँका सडक भत्काइएको छ । जुन सडक निर्माणको ठेक्का स्वामीनारायण निर्माण सेवा विराटनगरले लिएको छ । उत्त निर्माण सेवाले पिचको काम जति दमककै वल्र्ड ट्रेड निर्माण सेवाका सञ्चालक पशुपति बराललाई पेटी ठेक्का दिएको स्वामीनारायण निर्माण सेवाका प्रोजेक्ट मेनेजर भोलाप्रसाद चौधरीले बताए ।
हाल वल्र्ड ट्रेड निर्माण सेवाले पिच गर्नलाई सडक भत्काएर अलपत्र पारेको स्थानीयको गुनासो छ । यसरी भत्काएर छोडिएको सडक तत्काल पिचको काम अघि बढाउन स्थानीयले माग गरेका छन् । झापाको दमक नगरपालिकाका १० वटै वडामा ढल व्यवस्थापन गर्न खोज्दा बनेका सडकहरु अधिकांश भत्काइएका छन् । नगरवासीका हरेक घरबाट निस्केको ढल पाइपलाइनमा जोडेर सिधै ट्रिटमेन्ट प्लान्टमा पु¥याउने योजना रहेको जनाइएको छ ।
दमकको रातो पुलदेखि ढलको पाइप बिछ्याउने काम शुरु गरिएको बजारका ४० वटा सडक भत्काउने कार्य अन्तर्गत ३८ किलोमिटर सडक भत्काइँदै छ । यो कार्य खानेपानी तथा सरसफाई मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाई व्यवस्थापन विभाग मोरङको ढल व्यवस्थापन परियोजना अन्तर्गत ठेक्का लगाइएको हो ।
तर यो ठेक्का लिएर काम गरिरहेका जेएससी समिनारायण आशिर्वाद वल्र्ड ट्रेड दमकका प्रबन्ध निर्देशक पशुपति बराल भने सडक भत्काउँदा केही समय आसपासका नगरवासी र यात्रीहरुलाई सास्ती भएपनि आगामी स्थानीय निर्वाचन अगाडीनै सडक कालोपत्रे गरिसक्ने योजनाअनुसार काम भइरहेको बताए  । उनले अब बनाइने सडक आस्पाल प्रविधिबाट बनाइने र प्रविधियुक्त गुणस्तरीय हुने जानकारी गराए ।
२०७७ असोज ११ गते ठेक्का सम्झौता गरिएको सो ठेक्काको रकम ७४ करोड ३१ लाख २ हजार रहेको र आगामी २०७९ चैत्रसम्ममा सम्पन्न गरिसक्नु पर्ने रहेको छ । तर अहिलेसम्म सडक भत्काउने कार्य मात्र गरिएकाले अधिकांश नगरवासीहरु दिक्क भएका छन् । यसरी भत्काइएका सडक तत्काल पिच नभए चरणबद्ध आन्दोलनमा उत्रिने स्थानीय बासिन्दाले चेतावनी दिएका छन् ।
यसै सन्दर्भमा आवश्यक जानकारी लिन जेएससी स्वामिनारायण आशिर्वादन वल्र्ड ट्रेड जेभीका प्रबन्ध निर्देशक पशुपति बरालले आज आइतबारदेखिनै धुलोको समस्या हटाउन रातो पुलदेखि यलम्बर चोक हुँदै सेतुमारी हाइवे सम्म कालोपत्रेको काम थालिने जानकारी गराए । सडक सफा गर्दा केही समय धुलो उड्नु स्वाभाविक भएको तर त्यो लामो समयसम्म नरहने र नरहेको पनि उनले बताए । तर अब भने कालोपत्रेको काम पनि निरन्तर चल्ने भएको विद्यमान समस्या समाधान भएर जाने पनि उनले प्रष्ट पारे  ।

Author

You may also like