कला/साहित्य/संस्कृति मुख्य

दमकमा भव्य रुपमा श्रीकृष्ण रथयात्रा सम्पन्न

१२ भदौ, दमक । कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले श्रीकृष्ण रथयात्रालगायतका मौलिक संस्कृतिले समाजमा सद्भाव कायम गर्न मद्दत पुग्ने बताएका छन् । श्रीकृष्ण रथयात्रा ब्यवस्थापन समिति दमकले मंगलवार यहाँ आयोजना गरेको श्रीकृष्ण रथयात्राको शुभारम्भ गर्देै सभामुख विष्टले हिन्दु धर्मले भेदभाव नगर्ने, सबैको आस्थाको केन्द्र बन्न सक्ने हुँदा हिन्दु धर्म बनाउनु पर्नेमा जोड दिए । उनले हामी कला, संस्कृतिका धनी भएपनि त्यसको समुचित विकास तथा संरक्षण, सम्बद्र्धन हुन नसक्दा कतिपय मौलिक संस्कतिहरु हराउँदै जानु चिन्ताको विषय भएको औंल्याए ।
नेपाल र नेपाली भित्रको विविधताले देशको समृद्धि तथा विकासमा टेवा पुग्ने उनको भनाई थियो । रथयात्रा शुभारम्भ कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईलगायतका जनप्रतिनिधिहरु, सामाजिक क्षेत्रका अगुवा तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
दमक ७ स्थित राधा कृष्णमन्दिरबाट निकालिएको रथयात्रा दमकको चौक, बजारमा परिक्रमा गरिएको रथयात्रा ब्यवस्थापन समितिका अध्यक्ष रोहित आचार्यले जानकारी दिए ।
रथयात्रामा नेवारी समुदायको लाखे नाच, प्राचिन नौमती पञ्चे बाजा, सन्थालको नाच, लिम्वूको च्याबुङ्ग नाच, सशस्त्र प्रहरीको बाजा लगायतको विभिन्न झाँकीसहित निकालिएको थियो।
अध्यक्ष आचार्यका अनुसार रथयात्रा हनुमान मन्दिर, पशुहाट पूर्व–पश्चिम राजमार्ग, दमक चोक, फर्निचर लाइन पशुपति मन्दिर, शंखधर शाख्वा चोक, भृकुटी चोक, भानुभक्त चोक, फाल्गुनन्द चोक हँुदै पुनः राधाकृष्ण मन्दिरमा आएर औपचारिक रुपमा समापन भएको थियो । वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’को भोलिपल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने धार्मिक प्रचलन छ । सोही अनुसार दमकमा पनि वृहत् रथयात्रा निकालिएको हो ।
दमकमा रथयात्रा निकालिएको रथयात्रा विगत वर्षहरुभन्दा धेरै आकर्षक र सहभागिता भएको विश्लेषण गरिएको छ । विभिन्न धार्मिक सम्प्रदाय, संघसंस्था र दमकबासीहरुको अधिक सहभागिताबाट यो रथयात्रा वृहत् हुन पुगेको हो । रथयात्राको क्रममा ठाउँ ठाउँमा पानी, फलफूल, मोही भुजियाहरु विभिन्न संस्थाहरुले वितरण गरेका
थिए । रथयात्राले नगरपरिक्रमा पछि राधाकृष्ण मन्दिर अगाडि गएर समापन गरिएको थियो । सो अवसरमा नगर प्रमुख रामकुमार थापाले सबैलाई धन्यवाद दिएका थिए ।

Author

You may also like