झापा । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाको सेवा प्रवाह र व्यवस्थापन अवस्थाबारे जानकारी लिन बाँसबारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र लखनपुर स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा बाँसबारी स्वास्थ्य केन्द्रमा अव्यवस्थित अवस्था र अवाञ्छित गतिविधि देखिएपछि अध्यक्ष राईले तत्काल सीसीटीभी क्यामेरा जडान प्रक्रिया अघि बढाउने बताएका छन् ।
२०८३ मंसिर ११ गते अध्यक्ष राई र स्वास्थ्य शाखा प्रमुख दीपकप्रसाद दाहालसहितको टोलीले दुवै स्वास्थ्य संस्थाको निरीक्षण गरेको हो । निरीक्षणका क्रममा स्वास्थ्य सेवा, सेवाग्राहीको अवस्था, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता, स्वास्थ्यकर्मीको उपस्थिति, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, सरसफाइ र सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमबारे जानकारी लिइएको थियो ।
बाँसबारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यालय परिसर तथा शौचालय फोहोर र अव्यवस्थित अवस्थामा भेटिएपछि अध्यक्ष राईले घटनाबारे चासो व्यक्त गरेका थिए । २०८३ भदौ ११ गते बिहान करिब ९ बजे कर्मचारी कार्यालय पुग्दा कण्डम वितरणका बाकस भुइँमा फालिएको, शौचालयमा हार्पिक पोखिएको र पान–सुपारी खाएर विभिन्न स्थानमा थुकिएको अवस्थामा फोहोर भेटिएको थियो ।
घटनाबारे जानकारी पाएपछि अध्यक्ष राई स्वास्थ्य केन्द्र पुगेर वस्तुस्थिति बुझेका थिए । कार्यरत अ।न।मी। बिन्द्रा राईले यसअघि पनि यस्तै प्रकृतिको घटना भएको र पुनः दोहोरिएको जानकारी गराएकी थिइन् । कार्यालयको सुरक्षा र स्वास्थ्य सामग्रीको संरक्षणका लागि सीसीटीभी क्यामेरा जडान गर्ने प्रक्रिया तत्काल अघि बढाइने अध्यक्ष राईले बताए ।
त्यसपछि लखनपुर स्वास्थ्य चौकीको निरीक्षण गर्दै अध्यक्ष राईले सेवा प्रवाह, स्वास्थ्य कार्यक्रमको कार्यान्वयन, औषधि तथा सामग्रीको उपलब्धता र सेवा सञ्चालनमा देखिएका समस्या तथा चुनौतीबारे जानकारी लिएका थिए ।
सो अवसरमा जनस्वास्थ्य निरीक्षक देवराज पराजुली, सि।अ।न।मी। निरीक्षक बिनुता सङ्ग्रौला, डम्बरकुमारी शर्मा, अ।न।मी। विद्या प्रधान र कार्यालय सहयोगी नारदमणि बर्देवासँग छलफल गरिएको थियो । अध्यक्ष राईले नागरिकलाई गाउँमै सहज, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन जिम्मेवार, अनुशासित र सेवामैत्री भएर काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका थिए ।
स्वास्थ्य शाखा प्रमुख दाहालले स्वास्थ्य संस्थाको सेवा अवस्था, पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि भइरहेको घरधुरी सर्वेक्षण, मातृ तथा नवशिशु स्वास्थ्य कार्यक्रम र सेवा प्रवाहका चुनौतीबारे जानकारी गराएका थिए ।
गाउँपालिकाले स्वास्थ्य संस्थाको व्यवस्थापकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र गुणस्तर अभिवृद्धिका लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको जनाएको छ ।