प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ राजनीतिक विश्वास र सहकार्यको दिशामा अघि बढाउने अवसर सिर्जना गरेको छ । प्रधानमन्त्री बनेपछि पहिलो द्विपक्षीय भ्रमणका लागि भारतलाई प्राथमिकता दिनुले दुई देशबीचको सम्बन्धलाई नेपालले दिएको महत्व मात्र होइन, आर्थिक तथा विकास साझेदारीलाई गति दिने चाहना पनि व्यक्त गरेको छ । भ्रमणका क्रममा सार्वजनिक १९ उपलब्धि र संयुक्त दृष्टिकोण दस्तावेजले सम्बन्धलाई परम्परागत कूटनीतिक सद्भावबाट अघि बढाएर पूर्वाधार, ऊर्जा, व्यापार, प्रविधि, शिक्षा र संस्थागत सहकार्यमार्फत परिणाममुखी बनाउने सम्भावना देखाएका छन् । तर, भ्रमणको सफलता उपलब्धिको सूचीले होइन, ती प्रतिबद्धता कार्यान्वयन भएर नागरिकको जीवनमा ल्याउने परिवर्तनले मापन हुनेछ ।
सन् २०१४ मा ‘हिट’ (राजमार्ग, सूचना मार्ग र प्रसारण मार्ग), सन् २०२३ मा ‘सुपर हिट’ र सन् २०२६ मा १९ उपलब्धिको चर्चा भएको छ । हरेक उच्चस्तरीय भ्रमणपछि सहकार्यका नयाँ क्षेत्र पहिचान हुनु सकारात्मक हो । तर, विगतका प्रतिबद्धता पूरा नगरी नयाँ सम्झौता थप्दै जाने प्रवृत्तिले कूटनीतिक उपलब्धिको विश्वसनीयता कमजोर बनाउन सक्छ । त्यसैले यसपटकको मुख्य चुनौती घोषणा र हस्ताक्षरलाई समयबद्ध काम तथा देखिने परिणाममा रूपान्तरण गर्नु हो ।
भ्रमणका उपलब्धिले नेपाल–भारत सहकार्यको दायरा फराकिलो बनाएका छन् । अयोध्या–जनकपुर धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोड्ने रेल सेवा, एकीकृत जाँचचौकी, सीमा पूर्वाधार, धार्चुला–दार्चुला मोटरेबल पुल, रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण, ऊर्जा परियोजना, पेट्रोलियम पाइपलाइन, औद्योगिक क्षेत्र र पारवहन सुविधाजस्ता विषयले दुई देशबीचको अन्तरआबद्धता बढाउने आधार दिएका छन् । तल्लो अरुण जलविद्युत् परियोजना, मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दोस्रो चरण, झापामा पेट्रोलियम भण्डारण गृह तथा सिलिगुडी–झापा पाइपलाइन, थप बन्दरगाह पहुँच र चितवन कृषि–औद्योगिक क्षेत्रका पहल नेपालको ऊर्जा सुरक्षा, व्यापार र उत्पादनका लागि महत्वपूर्ण हुन सक्छन् ।
भारतले घोषणा गरेको भारु १५ हजार करोडको आर्थिक सहयोग प्याकेजमा भारु ३ हजार ५०० करोड अनुदान र भारु ११ हजार ५०० करोड ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण समावेश रहेको उल्लेख छ । यो सहयोगलाई नेपालको उत्पादन क्षमता, रोजगारी र निर्यात बढाउने परियोजनामा प्रभावकारी रूपमा उपयोग गर्नुपर्छ । भारतको ठूलो बजार, पुँजी, प्रविधि र आपूर्ति सञ्जाल नेपालका लागि अवसर हुन् । तर, अवसर आफैँ उपलब्धिमा बदलिँदैन । त्यसका लागि नेपालले स्पष्ट प्राथमिकता, सक्षम परियोजना व्यवस्थापन र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ ।
यस भ्रमणको अर्को महत्वपूर्ण पक्ष संस्थागत क्षमता विकाससँग सम्बन्धित सहकार्य हो । भारतको राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबीचको सहकार्य, राष्ट्रिय रक्षा विश्वविद्यालय तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, सुशासन केन्द्र तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीचको क्षमता विकास, स्वास्थ्य, आयुर्वेद, पशुपन्छी तथा मत्स्य विकास, दिगो सहरी विकास र भू–उपग्रह सञ्चारसम्बन्धी पहलले नेपालका संस्थालाई ज्ञान, सीप र प्रविधिसँग जोड्ने अवसर दिन सक्छन् । तर, समझदारीपत्रमा हस्ताक्षर हुनु नै क्षमता विकासको प्रमाण होइन । संयुक्त तालिम, अनुसन्धान, प्रविधि हस्तान्तरण र मापनयोग्य उपलब्धि सुनिश्चित गर्नुपर्छ ।
नेपालले भारतसँगको सम्बन्धलाई आर्थिक सहायता प्राप्त गर्ने सम्बन्धमा मात्र सीमित राख्नु हुँदैन । ऊर्जा, पर्यटन र व्यापारसँगै कृषि प्रशोधन, उद्योग, सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र सेवा क्षेत्रमा उत्पादनमूलक साझेदारी विस्तार गर्नुपर्छ । नेपाली वस्तु भारतीय बजारमा प्रतिस्पर्धी रूपमा प्रवेश गर्ने वातावरण, सीमा क्षेत्रमा औद्योगिक गतिविधि, कृषि प्रशोधन केन्द्र र रोजगारी सिर्जना गर्ने लगानीलाई प्राथमिकता दिनुपर्छ । नेपाल भारतसँग आर्थिक मूल्य सिर्जना गर्ने सक्रिय साझेदार बन्न सक्नुपर्छ ।
शिक्षा, प्रविधि र नवप्रवर्तन सहकार्यका थप सम्भावनायुक्त क्षेत्र हुन् । नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को सम्भावित शाखा स्थापना गर्ने पहललाई उच्च शिक्षा र अनुसन्धान प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ । पोखरालाई गुणस्तरीय शिक्षा, अनुसन्धान र अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने केन्द्रका रूपमा विकास गर्ने सम्भावना पनि खोजिनुपर्छ । बिर्ला प्रविधि तथा विज्ञान संस्थान (बिट्स) लगायतका संस्थासँग सहकार्य विस्तार गर्न सकिन्छ । कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, डिजिटल सार्वजनिक पूर्वाधार, वित्तीय प्रविधि, तथ्यांक केन्द्र र नवउद्यममा सहकार्यले युवालाई नयाँ अवसर दिन सक्छ । सम्बन्धको आगामी पुस्ता राजनीतिक भेटघाटबाट मात्र होइन, ज्ञान, सीप, रोजगारी र उद्यमशीलताबाट जोडिनुपर्छ ।
नेपाल र भारतले बाढी, पहिरो, जलवायु परिवर्तन र हिमाली नदी प्रणालीका साझा चुनौती सामना गरिरहेका छन् । भोटेकोशीलगायतका घटनाले विपद्का बेला तत्काल समन्वय र सहयोगको महत्व देखाएका छन् । तर, संकट आएपछि उद्धार गर्नु मात्र पर्याप्त हुँदैन । साझा पूर्वसूचना प्रणाली, जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदान, सीमा क्षेत्रमा उद्धार क्षमता, संयुक्त अभ्यास र जोखिम न्यूनीकरणमा सहकार्य आवश्यक छ । छिमेकीको वास्तविक अर्थ संकट आउनुअघिको तयारी र संकटपछिको पुनर्निर्माणमा पनि देखिनुपर्छ ।
दुई देशबीचका ऐतिहासिक संवेदनशीलता र मतभेदलाई बेवास्ता गरेर विश्वास निर्माण हुन सक्दैन । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) लगायत विगतमा उठेका विषयलाई सम्मानपूर्वक सम्बोधन गर्दै दुवै देशले भावी पुस्ताका लागि साझा मार्गचित्र बनाउनुपर्छ । नेपालको सार्वभौमिकता, राष्ट्रिय हित र स्वतन्त्र निर्णयको सम्मान गर्दै भारतका सुरक्षा तथा विकाससम्बन्धी चासोलाई पनि समझदारीपूर्वक सम्बोधन गर्ने ढाँचा आवश्यक छ । व्यापार, ऊर्जा, सीमा व्यवस्थापन, शिक्षा, प्रविधि, जलवायु र जनस्तरको सम्बन्ध त्यसका आधार बन्न सक्छन् ।
प्रधानमन्त्रीको २५ घण्टे भ्रमणले सबै सम्भावना समेट्न नसकेको हुन सक्छ । भारतीय राज्य सरकार, उद्योगी, लगानीकर्ता, रणनीतिक नेतृत्व र प्रवासी नेपाली समुदायसँग थप प्रत्यक्ष संवादले आगामी दिनमा सम्बन्धलाई अझ गहिरो बनाउन सक्छ । यस अघि गरिएका सम्झौताले दुरगामी असर पर्ने, आलोचना भईरहने विषय समेटिने गरेका थिए, सँधे विवाद हुने र सम्बन्धमा दरार आउने खालका विषय यो पटक समेटिएनन्, छुटेका अवसरको आलोचना मात्र होइन, भावी कूटनीतिक पहलका लागि सुझाव पनि हो । राजनीतिक लोकप्रियतालाई स्थायी सम्बन्ध, संस्थागत संवाद र आर्थिक साझेदारीमा बदल्न आवश्यक छ ।
अन्ततः भ्रमणको वास्तविक परीक्षा अब नेपालभित्र सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह र उनको सरकारले सम्झौता कार्यान्वयनका लागि स्पष्ट जिम्मेवारी, समयसीमा र अनुगमन प्रणाली बनाउनुपर्छ । उच्चस्तरीय अनुगमन संयन्त्र, संयुक्त आयोग र नियमित संस्थागत संवादले परियोजनाको प्रगति समीक्षा गर्ने, अवरोध हटाउने र जवाफदेहिता सुनिश्चित गर्ने काम गर्नुपर्छ । सन् २०२७ मा हुने संयुक्त आयोगको बैठक घोषणाको पुनरावृत्ति गर्ने थलो नभई कार्यान्वयनको समीक्षा गर्ने अवसर बन्नुपर्छ ।
यसका लागि नेपालको प्रशासनिक क्षमता, सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र नीतिगत निरन्तरता बलियो हुनुपर्छ । राजनीतिक नेतृत्व फेरिँदा पनि राष्ट्रिय प्राथमिकताका परियोजना नरोकिने प्रणाली विकास गर्नुपर्छ । निजी क्षेत्रलाई विश्वासिलो वातावरण दिनु र युवाका अपेक्षालाई रोजगारी तथा अवसरमा बदल्नु पनि उत्तिकै आवश्यक छ ।
नेपाल–भारत सम्बन्धको नयाँ अध्याय थप सम्झौताले मात्र लेखिँदैन । त्यसका लागि प्रतिबद्धता पूरा गर्ने इच्छाशक्ति, कार्यान्वयन गर्ने क्षमता र दुवै देशको हितलाई जोड्ने दूरदृष्टि चाहिन्छ । भारतले प्रस्तुत गरेको सहकार्यको अवसरलाई नेपालको आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिए मात्र प्रधानमन्त्रीको भ्रमण दीर्घकालीन उपलब्धिमा परिणत हुनेछ । अब कूटनीतिक सफलताको मापन हस्ताक्षरको सङ्ख्याले होइन, नागरिकले अनुभव गर्ने परिणामले हुनुपर्छ ।

Author

You may also like