दमक, १९ माघ। दमक नगरपालिकाले वडा वडामा लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना अभियान सकेपछि अब समग्र नगरलाई दुव्र्यसनमुक्त बनाउन कडाईकासाथ अघि बढ्ने सरोकारवालाले धारणा राखेका छन् ।
विहिवार दमकमा आयोजित अन्तरक्रियामा अभियानको उपलब्धी र सचेतनाबारे जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले समाजबाट लागुपदार्थ दुव्र्यशनी घटाउन सम्बन्धित परिवारको साथ चाहिने र परिवार आफै सचेत हुनुपर्ने औंल्याएका छन् । उनले नगरको यस्तो अभियान थाहा पाएपछि यसलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बताए । उनले भने– ‘यो अभियान एकवर्षमा मात्रै नसकिने र अभियानभरबाट आएको परिवर्तनलाई समाजमा बाँढ्दै निरन्तर अघि बढाउन सुझाव दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख राम कुमार थापाले यो अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको बताए । उनले अभियानले दुव्र्यशनी घटाउन धेरै सहयोग पुगेको र वडावडासम्म सचेतना जगाउन सजिलो भएको बताए । उनले लागुऔषधका कारण समाजका सबै तहका यूवा तथा अन्य उमेर समस्हलाई समेत असर पारिरहेको र दमक जिल्लाकै सबैभन्दा दोस्रो ठूलो कारोबार हुने नगरमा रहेकोले यसलाई निर्मूल पार्न अभियानका रुपमा सुरु गरिएको जानकारी गराए ।
अभियान अवधिमा दमकबाट ३८ जना पक्राउ गरिएको र २० जना सुधार केन्द्रमा राखिएको जानकारी गराइएको छ । उनीहरुलाई सचेतना जगाउँदै उपचारको पक्षमा पनि काम अघि बढाएको छ । साथै, नगरले आगामी फागुन १ बाट विद्यालय र सरकारी संस्था परिषरमा सूर्तीजन्य पदार्थ विक्रिवितरणमा रोक लगाउने बताएको छ । कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाई, जिल्ला प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालयका प्रतिनिधि लगायत सबै सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
नगरले दमकमा लागुऔषध दुव्र्यसनीका विरुद्ध अभियान मंसिरको अन्तिम साता भव्य कार्यक्रमबीच उद्घाटन गरेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा समुद्घाटन गरिएको सो अभियान यता नगरले दमकका १० वटै वडामा गएर वडास्तरको अन्तरक्रिया सम्पन्न गरिसकेको छ ।