दमक, १९ माघ। झापाको शिवसताक्षी नगरपालिका ४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजना कोशी प्रदेशकै गौरवको आयोजनाका रुपमा वितरणको तयारीमा पुगेको छ ।
बिहीबार इनर्जी उत्पादन परिसरमा पत्रकार सम्मेलन गर्दै १० मेगावाटको विद्युत कोशी प्रदेशमा पहिलो पटक झापाको शिवसताक्षीमा १० मेगावाटको सौर्य उर्जा कोशीको मात्र नभएर नेपालकै गौरवको आयोजना भएको झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले जानकारी दिए । सोलार प्यानलमार्फत उत्पादित विद्युत, विद्युत प्राधिकरणमा जोडिइसकिएको र सो को उद्घाटन माघ २३ गते विशेष कार्यक्रमको आयोजना गरेर पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमार्फत गरिने जनाए । सो क्रममा उनले भने– ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारा तयार गरी यसमा आम नागरिकलाई समेत सहभागी गराएर परियोजना निर्माण गरिएको साँवाले बताए ।
निजी क्षेत्रकातर्फबाट सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले सोलार प्यानलमार्फत उत्पादित १० मेगावाटको विद्युत नेपाल विद्युत् प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ ।
यहाँबाट उत्पादित बिजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको विद्युत् उत्पादन गर्न सक्नु कोशी प्रदेशका लागि गौरवको विषय भएको उनको भनाइ छ ।
झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्षअघि सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास वि सं. २०७८ मा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए । परियोजना ८० करोडको लगानीमा २१ विगाहा जमिनमा निर्माण गरिएको छ । करिब ७५ प्रतिशत माछापुच्छ्रे र सिभिल बैंकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत सर्वसाधारणको शेयरबाट रकम जुटाएर निर्माण गरिएको हो ।
पूर्वपश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल छ । नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत् उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पु¥याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष समेत रहेका लालप्रसाद साँवाले बताए । उनले झापा इनर्जी प्रा.लि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको र सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रति युनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको जानकारी दिए ।
विदेशमा सौर्य ऊर्जाको ठूला परियोजना हेरेपछि आफ्नो मुलुकमा यसको सम्भावना अध्ययन गरेर झापा इनर्जीको स्थापना गरिएको उनले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि जनसहभागितामा आधारित यस्ता परियोजनाले ठूलो योगदान पु¥याउने बताए।
आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मा प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले विद्युत खरिद गर्ने सम्झौता भएको थियो ।