देश–समाज मुख्य समाचार

पाथीभरामा यस वर्षकै बढी भक्तजन


ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा शनिबार यस वर्षकै बढी भक्तजन पुगेका छन् । चैते दसैँको महाअष्टमीका दिन करिब सात हजार भक्तजन पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार शनिबार एकैदिन सात हजारको हाराहारी सङ्ख्यामा भक्तजनले पाथीभरा दर्शन गरेका छन् । शनिबार पाथीभराको दर्शन गर्ने भक्तजनको सङ्ख्या दिउँसो ४ः४० बजेसम्म छ हजार ६५७ जना रहेको छ । अस्थायी प्रहरी चौकी फेदीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम राउतका अनुसार करिब ३०० बढी भक्तजनको विवरण दर्ता हुन बाँकी नै रहेको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार बिहान ३ बजेदेखि नै पाथीभरामा भक्तजनको भीड लागेको थियो । बिहान सबेरैदेखि पाथीभरा दर्शन गरेर फर्कने र निरन्तर आइरहेका भक्तजनका कारण पाथीभरा धाम तथा पदमार्गमा निकै भीड लागेको महतको भनाइ छ । उनले सात हजारको हाराहारीमा भक्तजन आउनु यस वर्षकै बढी भक्तजनको सङ्ख्या भएको बताए ।
आइतबार पनि रामनवमी पर्व भएकाले अझ बढी भक्तजनको आगमन हुने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ । समितिको तथ्याङ्क अनुसार शुक्रबार सप्तमीको दिन एक हजार २३३ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यसअघि गत कात्तिक ३ गते शनिबारको दिन पाँच हजार ९८३ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।

Author

You may also like