देश–समाज मुख्य

सम्भावनाले भरिएको, विभेदले थिचिएको कर्णाली

गोपाल झापाली-
काठमाडौ÷ हुम्लाको ताँजाकोटका ५५ वर्षिय नदिप थापा ५ महिना अघि अचानक बेहोस भई ढले । उनको उपचारका लागि जिल्लाका स्वास्थ्य संस्थाहरुमा गरिएको प्रयास सफल भएन । त्यसपछि काठमाडौ आउनुको विकल्प भएन । उपचारका क्रममा काठमाडौमा रहेका थापाले भने–‘हुम्लाका दुःख के भनि साध्ये, राम्रो दवाई गर्न र पढ्न पनि यता नआई हुँदैन ।’ काठमाडौ वा नेपालगञ्ज लगायतका ठूला अस्पतालमा उपचार गराउने अवसर भनेको आर्थिक अवस्था बलियो हुनेका लागि मात्रै हो । उपचार नै नपाई मर्ने हुम्लीहरुको कथा काठमाडौले अझै सुन्न नसकेको उनको गुनासो छ ।
गाउँपालिकाका अनुसार यस गाउँपालिकामा जम्मा माध्यामिक र आधारभुतगरि १८ वटा विद्यालय र २ वटा स्वास्थ्य चौकी छन् । यो गाउँपालिका मुगु र बाजुराको सीमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटवाट ४८ कोष टाढा छ । ५ वटा वडा रहेको ताँजाकोटमा जम्मा माध्यामिक र आधारभूत गरि १८ वटा वियालय र २ वटा स्वास्थ्य चौकी रहेको गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।
श्रीनगर गाविसका पूर्व अध्यक्ष दिपबहादुर महतरा भन्छन्–‘देशमा संघीयता आएपछि गाउँगाउँमा सिंहदरवार पुग्यो भनियो तर हामी सिंहदरवार खोज्न वर्षेनी काठमाडौ धाउनु पर्ने बाध्यता हटेको छैन ।’मौसमी सडक सञ्जाल गाउँगाउँमा पुगे पनिभाडाको कुनै साँध–सिमा छैन । ‘गाडी चढ्यो भने कहाँ पुगेको कति भाडा तिर्नु पर्ने हो, कुनै सीमा छैन । दुःख गरेको पैसा व्यर्थ जान्छ । त्यसैले गाडी चढ्नु भन्दा हिँड्नै जाति छ हुम्लामा’महतराले गुनासो गरे–‘प्रदेशकै गौरव ठानिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधायुक्त बनाई दिए त हुने, त्यो पनि छैन ।’
कसरी थामिनु युवा ?
प्रदेश र स्थानीय सरकारको दोश्रो चरण शुरु भई सक्दा पनि कर्णालीबासीले संघीयताको स्वाद नपाएको हुम्ला ओदानचुली–५ का सन्तोस शाही बताउँछन् । ‘कर्णाली नदीमा सरि सल्लाबाट तर्न हुम्लाबासीलाई पुल चाहिएको कति भयो भनेको, कहिल्यै बनेन’काठमाडौमा भेटिएका उनले भने–‘गाउँमा न भरपर्दाे आम्दानीको उपाय छ, न सवैतिर राम्रो खेती हुन्छ, न गाडी सुविधा राम्रो छ, न राम्रो विषय लिएर पढ्छु भन्दा पाइन्छ, न विरामी हुँदा बेलामा उपचार पाइन्छ अनि कसरी थामिन्छन् युवा ?’ त्यस क्षेत्रका अधिकांश युवाको वाध्यता भनेको भारतमा रोजगारी गर्न जानु हो ।
हिउँदे सडक त खुल्यो तर यो भरपर्दो छैन । गाउँका स्वास्थ्य संस्था र वर्थिङ् सेन्टरमा डाक्टरको टुंगो हुँदैन । शाहीले भने–‘हुम्लामा न बाँच्न सजिलो छ न मर्न नै । बाँच्नकालागि बेलामा औषधी र उपचार पाइन्न, कुनै रोगले थला बसायो भने पनि कतिन्जेल लड्नु पर्ने हो थाहा हुन्न ।’काठमाडौले अझै पनि कर्णालीका दुःख बुझ्न नसकेको आक्रोश पोख्दै उनले भने–‘केहि योजना त जान्छन् तर ति सव पहुँचका भरमा । पहुँच नहुनेको गाउँमा केहि पुग्दैन । पुगेका योजना पनि लानेको चाहना अनुसार मात्र बन्छ ।’


सम्भावना पनि प्रशस्त
कर्णालीमा अभाव, दुःख र हैरानी मात्र छैनन् । समद्धिका प्रशस्त सम्भावनाहरु प्नि छन् । तर तिनलाई काठमाडौमा रहेको सरकार र सरकार चलाउनेहरुले चिन्न नसकेको त्यहाँका युवाहरुको गुनासो छ । जुम्ला कनकासुन्दरी ६ का बीरेन्द्र बजगाई कर्णालीको सम्भावना चिन्न र उपयोग गर्न सवै भन्दा पहिला राज्य त्यहाँ पुग्न जरुरी रहेको बताउँछन् । ‘कर्णालीमा के छैन र ?
धर्तीकै स्वर्ग रारा छ, रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र फोक्सुडो ताल, वालात्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, देउती बज्यै मन्दिर’उनले निराशा पोखे–‘तर भएर पनि के गर्नु र हाम्रो सिंहदरवार न कहिले यि ठाउँमा पुग्यो न अरुलाई नै पु¥याउन सक्यो ।’प्रदेश तथा संघीय सरकारले कर्णाको विकास, पर्यटन प्रवद्र्धनकालागि विभिन्न कार्यक्रम ल्याउने, गन्तव्य छनौट गर्ने जस्ता कार्य गरे पनि ति प्रभावकारी बन्न नसक्दा कर्णालीबासीको जिन्दगी फेरिन नसकेको उनले बताए ।
कालीकोटको रास्कोट, पञ्चदेवल, विश्वकै अग्लो मानिएको पातल छहारा, हुम्लाको लिमी उपत्यका, ऐतिहासिक हाल्जीगुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खापुनाथ जस्ता स्थानहरुसम्म पुग्न सहज पूर्वाधार मानसरोवर कैलाशको पैदलयात्रा प्रवद्र्धन, सर्वाधिक उचाइमा रहेको मानववस्ती डोल्पाको छार्का भोट जस्ता स्थानहरुमा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने तथा उनीहरुको यात्रा र बसोबासकालागि पूर्वाधारहरु राज्यले बनाउने हो भने कर्णालीबासीहरु लगानीकालागि तयार हुन सक्ने अवस्था आउने बताए ।
कर्णाली नदीमा जलयात्रा, सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङ लगायतका योजना कार्यान्वयन गर्ने, यहाँको जडिबुटीको व्यवसायिकरण तथा प्रशोधनकालागि सहयोग गर्ने हो भने कर्णाली आँफैमा समृद्ध बन्न सक्ने कर्णालीबासीको भनाई छ । तर कर्णालीको गरिवी, अभाव र दुःख हटाएर त्यसको लाभ समग्र नेपाल र नेपालीलाई दिलाउनुको साटो कर्णालीलाई राज्यको श्रोत, साधन, पहुँच, बजेट, अवसर आदिबाट निरन्तर बञ्चित पार्दै सिंहदरवार पूर्वाग्रही हुँदै आएकोमा कर्णालीबासीहरुको चित्त दुखाई छ ।

Author

You may also like