भूपेन्द्रराज तिम्सिना-
दमक, २५ भदौ÷
दमक नगर क्षेत्रभित्र सामुदायिक कुकुरहरुको आक्रमणले स्थानीयमा आतंक सृजना बढ्दै गएपछि कुकुर संरक्षणस्थलको आवश्यकता महसुस भएको छ ।
यसबेला मुख्यगरी दमक ४ को कृष्णमन्दिर क्षेत्रमा पछिल्लो एकसातामा कुकुर आक्रमणबाट ६ जना घाइते भएका छन् । कृष्ण मन्दिर चोक भन्दा ५ सय मिटर उत्तरतर्फको वस्तीमा निस्किएका कुकुरको आक्रमणबाट स्थानीय कुसुम श्रेष्ठ, वर्षा वास्कोटा, देव राजवंशी, दिपीका भट्टराई, पवन राजवंशी र सुमित्रा दहाल घाइते भएर उपचारमा छन् । भदौ १२ गते कुसुमलाई टोकेपछि लगातार रुपमा सडकमा देखिने जो कोहिलाई कुकुरले खेटाएर टोक्ने र लडाएर निरन्तर आक्रमण गर्ने गरेको स्थानीय उद्धव भट्टराईले पूर्व सन्देशलाई जानकारी गराएका छन् ।
समूहमा हिड्ने सामुदायिक कुकुरमध्ये एउटाले जुनसुकै समयमा आक्रमण गर्ने गरेपछि स्थानीयहरु वरपर हिँडडुल गर्न त्रसित बनेका छन् । ‘लगातार कुकुरको आक्रमण भइरहेपछि वरपर हिड्न धेरै त्रास बढेको छ । बालबालिका र बृद्धहरुलाई धेरै समस्या छ । लाठी बोकेर मात्र वरपर हिडडुल गर्ने गरिएको छ ।’– भट्टराईले समस्या दर्शाए । उनले भने ‘कुकुरले टोकेर लडाउने र लडाएर टोकिरहेर सख्त घाइते वनाउने गरेको छ । एउटा मानिसलाई २÷३ ठाउँमा घाउ बनाउने गरेको छ । ’
अन्य सामुदायिक कुकुरहरुसँगै देखिने सो कुकुर अन्यत्रबाट आएको उनले जनाए । कुकुर नियन्त्रणका लागि वडा कार्यालय र नगरपालिका कार्यालयमा जानकारी गराइएको भएपनि हालसम्म नियन्त्रण नभएको उनको दुखेसो छ । ‘तत्काल त्यस्तो कुकुर नियन्त्रण गर्नु पर्यो । अनि घाइतेहरुलाई क्षतिपूर्ति समेत दिने व्यवस्था गर्नुपर्यो ।’– उनको माग छ । घाइतेहरुले आम्दा अस्पतालमा गएर रेविज विरुद्धको सुइ लगाएका छन् ।
यस सम्बन्धमा दमक नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख गणेशकुमार प्रधानले सो क्षेत्रमा कुकुरको आक्रमण रहेको जानकारी भएपनि कुकुर नियन्त्रण गरेर राख्ने प्रवन्ध नगरमा नभएकाले समस्या भइरहेको वताए । उनले सो कुकुर अन्यत्रको पालिकाबाट आएको हुनसक्ने अनुमान गरे । नगरमा कुकुर वन्ध्याकरण गर्दै रेविज विरुद्धको सुइ लगाउने काम वर्षेनी भइरहेको सुनाए । उनले सामुदायिक कुकुरहरुको वन्ध्याकरण कार्यक्रम सञ्चालन गरिरहेपनि अन्यत्रबाट आउने कुकुरहरुले नगर क्षेत्रभित्र समस्या बनाउने गरेको वताउँदै उपाय समेत दर्शाउँदै भने ‘आसपासका पालिकाहरुमा पनि कुकुर वन्ध्याकरण तथा नियमित रेविजको सुइ लगाउने कार्यक्रम भएमा मात्र नियन्त्रित हुँदै जान्छ ।’
विगत ५ वर्षदेखि वर्षेनी नगरले रेविज नियन्त्रणसँगै कुकुरबाट हुने समस्या समाधानका लागि कार्यक्रम सञ्चालन भइरहेको उनले उल्लेख गरे । गत वैशाखको १७ देखि १९ गतेसम्मको कार्यक्रममा ३ सय कुकुरको वन्ध्याकरण गरिएको थियो । हालसम्म १ हजार ५ सय कुकुरको वन्ध्याकरण भएको कार्यालयको तथ्यांक छ । । तर अझै धेरै सामुदायिक कुकुरहरु वन्ध्याकरण हुनबाट छुटेको अवस्था छ । पहिले घरमा छाडै छोडेर पालिएका कुकुरहरु पनि अन्यत्र गएर समूहमा वस्ने र घर नआउने गर्नाले रेविज ओसार पसारमा सहयोग पुग्ने गरेको छ । ‘सामुदायिक कुकुरको समस्या बढेकाले सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि २०८० को ड्राफ्ट तयार गरेका छौं । अव यो कार्यविधि पास भएपछि व्यवस्थापनमा धेरै सहजता हुन्छ ।’ – श्रेष्ठले आशाजनक रुपमा भने ।
नगरपालिकाले पटक पटक घरपालुवा कुकुर व्यवस्थापनका लागि सूचना प्रकाशित गरी दर्ता गराउने र रेविज विरुद्धको सुई लगाउन आव्हान गरेपनि त्यसको प्रभावकारिता नभएको गुनासो छ ।
चोक तथा बजारमा त्यस्ता कुकुरहरुको झुण्डले राती हिँड्ने मानिसहरुलाई सामूहिक आक्रमण गर्ने गरेको छ । कुकुरलाई मार्न त पाइदैन नै कुट्न समेत नपाइने पशु अधिकारको पाटो आकर्षित हुन्छ । यसखाले सन्दर्भ जोड्दै ध्रुवतारा स्पोर्टिङ क्लब दमकका पूर्व अध्यक्ष समेत रहेर समाजका विभिन्नखाले समस्या समाधानमा समेत कार्यक्रम सञ्चालन गर्दै आएका भीमराज केसीले कुकुरको संरक्षणस्थल आवश्यक रहेको ठहर गरे । सवै कुकुरको वन्ध्याकरण र रेविजको नियन्त्रणमा मसिनो हिसावले लाग्नु आवश्यक रहेको उनको ठम्याइ छ । उनी भन्छन् ‘वन्ध्याकरण, रेविज सुइ लगाउने कुरा त छँदैछ, अव त्यत्तिले मात्र हुँदैन । सामुदायिक कुकुरहरुलाई भेला पारेर एक ठाउँमा राख्ने संरक्षणस्थल बनाउन अति आवश्यक देखिन्छ ।’ दमक नगर खेलकुद विकास समिति अध्यक्ष समेत रहेका उनले घरमा पालेका कुकुरहरुको पनि नगरमा व्यवस्थित दर्ता गरी नियमित रुपमा सुइ लगाउने सहितका उपचारमा स्थानीयले समेत उत्तिकै ध्यान दिनुपर्ने उनको बुझाइ छ ।