मुख्य विचार/वहस

असहिष्णुताको बारुद कहाँबाट नेपाल पस्यो ?

गणेश कार्की –
राजकुमार हिरानीको थ्रि इडियट्स भन्ने हिन्दी फिल्म हेर्नु भएको छ भने त्यहाँ आमिर खानले अभिनय गरेको पात्रको नाम छ, रन्चोडदास सामलदास चाँचड । उसलाई बोलाउनका लागि सबैले प्रयोग गर्ने नाम हुन्छ, रन्चो ।
तपाईलाई थाहा छैन भने जानकारी लागि भन्छु, रन्चोड वा रणछोड भनेर गुजरातीहरुले कृष्णलाई पुकार्ने गर्छन् । गुजरातीमा रणको अर्थ युद्ध र छोडको अर्थ भाग्ने हुन्छ । अर्थात, गुजरातीहरु आफैले पुज्ने भगवान कृष्णलाई ’युद्धबाट भाग्ने’ भनेर पुकार्छन् ।
युद्धबाट भाग्ने भन्नुको अर्थ त नालायक वा डरपोक नै हुन्छ । तर पनि कृष्णलाई सप्रेम आदरभावसहित किन रणछोड भनिन्छ ? कथा अनुसार कारण के हो भने मगधको राजा जरासन्धले मथुरालाई आक्रमण गरेर वाक्कै पारेको थियो । १७ पटकसम्म आक्रमण गरेर लुटपाट, हत्या गरेकाले मथुराको आर्थिक अवस्था नै दयनीय भइसकेको थियो । अठारौँ पटक पनि जरासन्धले आक्रमण गर्न लागेको खबर पाएर कृष्णले सम्भावित युद्धबाट भागेर राजधानी नै द्धारिका सार्ने उपाय सुझाएका थिए ।
“क्षत्री भएर युद्धबाट भाग्ने कुरा गर्छस् ?“ भारदार सभामा कृष्णका हजुरबुबा उग्रसेनले भने, “तँलाई दुनियाँले सँधै भरि युद्धबाट भगुवा, रणछोड भन्छन् ।“
“मेरा पहिले नै कयौँ नाम छन् ।“ कृष्णले मुस्कुराएर जवाफ दिए, “कसैको हीत हुन्छ भने म अर्को जुनसुकै नामबाट सम्बोधित हुन पनि तयार छु । मलाई केहि फरक पर्दैन ।“
त्यसपछि रातारात राजधानीलाई द्धारिकामा सारियो । जरासन्धले आक्रमण गर्दा मथुरा रित्तो थियो । रित्तो मथुरालाई आगो लगाएर जरासन्धहरु फर्किए । त्यसपछि युद्धको परिस्थिति रहेन । तर कृष्णको नाम रणछोड रहिरह्यो ।
हिन्दुहरुले पुज्ने कृष्णको चरित्र त्यस्तो हो । कुनै गाली वा तालीले उनको गुणलाई फरक पर्थेन । यसैले उनको अर्को एउटा नाम छ, त्यो हो, निर्गुण ।
नालायक वा डरपोक जस्तो अर्थ दिने नामलाई पनि प्रेम गर्ने सभ्यता भएको हिन्दुहरु अनि वेदलाई प्रश्न गर्ने, देउता वा ईश्वरको कल्पनासँग सहमत नहुने, लेखान्त र भाग्यमा विश्वास नभएका चार्वाक जस्ता नास्तिकहरुलाई पनि सभ्यतामा स्थान दिने हिन्दुहरु आज एउटा फिल्म जसमा केटो पात्रको नाम छ भागवत र केटीको नाम छ गीता । तिनैको नामबाट राखिएको फिल्म ‘एक भागवत गीता’ले कृष्णको र श्रीमद्भगवद्गीताको अपमान हुने लघुताभासमा छ । त्यो फिल्म चल्न दिएमा जे पनि हुन सक्ने धम्कीहरु छ्यापछ्याप्ती छन् ।


एउटा नामले महानता नै खुम्चिन्छ भन्ने लघुताभाष, आफुले सोचेजस्तै अरुले गरेन भने जे पनि गर्न सकिन्छ भन्ने असहिष्णुता हिन्दुहरुको सभ्यताबाट आएको हो भन्नेमा मलाई शंका छ । त्यो लघुताभाष र असहिष्णुताले हिन्दु सभ्यताको हीत गर्छ भन्नेमा मलाई शंका छ ।
र प्रश्न छ, अशोक शर्माहरुले सीता बनाउँदा, राजेश हमालले देउता र जय शिव शंकरहरु खेल्दा वा ती नामका फिल्महरु हेर्दा कसैलाई त्यस्तो लघुताभाष भएन । अहिले यो लघुताभाष र असहिष्णुताको बारुद कहाँबाट नेपाल पस्यो ?

Author

You may also like