दमक, ५ फागुन। दमकमा पुनः नापी ( सर्पट) कार्यक्रम सुरु भएको २६ वर्ष वितेपनि साविकको १० वटा वडामा काम सम्पन्न हुन बाँकी रहेको छ ।
केही स्थानमा विवाद समेत भएको तथा कोरोनाको समयमा काम गर्न समस्या भएकाले केही वडाहरुमा नापी कार्य सम्पन्न हुन नसकेको हो । यसका साथै आवश्यक कर्मचारीको समेत अभाव हुँदा नापी कार्यलाई गतिशिल बनाउन नसकिएको नापी कार्यालय दमकका अधिकृत परमेश्वर ठाकुरले बताए । उनी भन्छन् ‘आवश्यक समन्वयको पनि समस्या भइरहेको छ । अनि कर्मचारीको पनि अभावको अवस्थाले काम सक्न ढिलाई भएको हो । यसमा सम्बन्धित पक्षले कार्यालयलाई सहयोग पुर्याउनु आवश्यक छ ।’
जग्गाको पुरानो अवस्थाकाबीच कित्ताकाट हुँदै हाल सडक लगायतका धेरै संरचना निर्माण भइसकेको छ । त्यस अवस्थामा पुनः नापी गरी नक्सांकन आवश्यक पर्नेहुन्छ । सोको लागि सर्पट नापी अघि सारिएको प्रष्ट्याउदै उनले साविकका १९ वडामध्ये ९ वटा वडामा भनें नापनक्सा सम्पन्न भइसकेको जनाए । वडा नम्बर १०, ११, १३, १४, १५, १६, १७, १८ र १९ मा नापनक्सा तयार गरी जग्गाधनी प्रमाण पूर्जा समेत वितरण गरी जग्गाको कार्यान्वयन भइसकेको उल्लेख गरे । वडा नम्बर २, ४, ८, ९ नम्बर वडाका ५० प्रतिशत भन्दा बढी नै पूर्जा तयार भएर बसेको जनाए । वडा नम्बर १, ६, ७ मा पनि नापीको निकैजसो काम भएको बताए । अव वडा नम्बर ३ र ५ मा मात्रै नापीको कार्य अघि बढ्न बाँकी रहेको छ । ‘मालपोत कार्यालयसंगको समन्वय र विभागको आदेशप्राप्त गरेर चाँडो काम अघि बढाउने कुरामा हामी तत्पर नै छौं ।’– उनले भने ।
सर्पट कार्यलाई चाँडो सम्पन्न गराउन दमक नगरपालिकाले मालपोत कार्यालय दमक र नापी कार्यालयमा पत्र पठाएको नगर प्रमुख राम कुमार थापाले जनाए । सर्पट नापीको काम पुरा हुन नसक्दा भूमि आयोगको काममा समेत अप्ठेरो परेकाले यसलाई सम्पन्न गराउने कुरामा आफुहरुले चासो बढाइरहेको उनले बताए । ‘यो विषयलाई मध्यनजर गर्दै विभागमा कुरा राखिसकेको र पुनः नापी कार्यलाई पूर्णता दिने आश्वासन आएको छ ।’– उनले प्रष्ट्याए ।