दमक, ३ पुष ।
केही दिनयता दमक नगरपालिका क्षेत्रको फोहोर व्यवस्थापनका लागि सर्वपक्षीय समिति गठन गरिएको छ । सोमबार नगरपालिकामा बसेको सर्वदलीय बैठकबाट नगर प्रमुख राम कुमार थापाको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले त्यसका लागि आवश्यक गृहकार्य गरिरहेको छ ।
नगरपालिका स्रोतका अनुसार सो समितिको सोमबार आकस्मिक बैठक बसी फोहोर फालिँदै आएको हंसेदुम्से सामुदायिक वन क्षेत्र आसपासमा रहेको साइटको स्थलगत अवलोकन भ्रमण समेत गरिएको छ । भ्रमणपश्चात् नगरपालिकाले मंगलबार बिहान साढे ७ बजे हंसेदुम्से सामुदायिक वन उपभोक्ता समितिलाई आवश्यक सहकार्य र सहयोगका लागि सल्लाह तथा छलफल गर्न पत्राचार समेत गरेको छ । वनको पूर्वपट्टि करिव ५/७ विगाह जग्गा खाली अवस्थामा रहेको छ । सो जग्गा या अन्य कुनै उचित स्थानमा फोहोर व्यवस्थापन गर्न र समस्या समाधानको विकल्प खोज्न वन उपभोक्ता समितिलाई छलफलका लागि बोलाइएको हो ।
विगतमा फोहोर फालिँदै आएको स्थानमा वन समितिले फोहोर व्यवस्थापन गर्न नदिएपछि दमकमा फोहोर संकलन कार्य रोकिएको हो । फोहोर संकलन र व्यवस्थापनको जिम्मा लिएको नेक्स्ट इरा ईनर्जीले पनि फोहोर फ्याँक्ने ठाउँको अभाव भएको भन्दै संकलन कार्य स्थगित गरेपछि दमकको ठाउँ ठाउँमा फोहोरका पोकाहरु त्यत्तिकै असरल्ल रहेको पाइएको छ । यसबाट बजारमा आवागमन गर्नेहरुलाई समेत दुर्गन्धले पिरोलेको छ । तर समस्या प्रति आपूmहरु पहिलेदेखि नै सचेत रहेपनि हंसे दुम्से सामुदायिक वनले फोहोर झार्न रोक लगाएपछि यस्तो समस्या पैदा भएको दमक नगरपालिकाका जनप्रतिनिधि हरुले जनाएका छन् ।
सोमबार बिहानको छलफलमा नगर प्रमुख थापा, उप-प्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका नगर नेतृत्व, दमक उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, प्रहरी प्रशासन, नगरपालिका अधिकृतहरु लगायतको सहभागिता रहेको थियो । यसैबीच दमक नगर क्षेत्रमा थुप्रिएको फोहोर सोमबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय कार्यकर्ता तथा सुन्दर समाज नेपाल नामक सामाजिक संस्थाले आ-आफ्नै पहलकदमीमा उठाएका छन् ।