सम्पादकीय

फोहोर व्यवस्थापन चाँडो होस्

मानिसका लागि खाना खानु जत्तिकै महत्वपूणर् दैनिक आवश्यकतामा पर्दछ फोहोर व्यवस्थापन । मानवका गतिविधिबाट सिर्जित फोहोर अव शहरको मात्रै नभएर गाँउघरको समेत समस्या बन्दै गएको छ । प्लाष्टिकजन्य सामग्री प्रयोगले त फोहोरको आयतन ज्यादै बढाएको छ ।
बरु मानिसले १, २ दिन खाना नखाएर त्यस्तो समस्या नहोला तर फोहोरको उचित व्यवस्थापन हुन नसक्दा त्यसबाट सिर्जना हुने रोगबाट हजारौं मानिसलाई प्रत्यक्ष असर पर्ने, रोग लाग्ने र ज्यान जानसक्ने अवस्था हुन्छ । मानिसको गतिविधिसँग सम्बन्धित उत्पादित फोहोर एकदिन मात्र व्यवस्थापन गर्न ढिला हुँदा शहरमा त ठूलै समस्या निम्तिन्छ । दुर्गन्धले स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ, सौन्दर्यतामा कुरुपता सिर्जना गर्छ अनि सम्भतालाई गिज्याउँछ ।
यसबेला तीव्र शहरीकरणको गतीमा रहेको झापाको दमकको फोहोर व्यवस्थापनमा देखिएको समस्याले यस्तै अवस्था सिर्जना गरेको छ । फोहोर व्यवस्थापनस्थलको समस्याका कारण विगत ११ दिनबाट दमक नगर क्षेत्रको फोहोर नउठ्दा दुर्गन्ध बढेको छ ।
फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट ईरा ईनर्जी प्रालिले दमकमा फोहोर नउठाउँदा चौंक, बजार दुर्गन्धित बन्दै गएको हो । फोहोर नउठाउँदा सडक आसपासका व्यापारीहरुसंगै बजार आउने सर्वसाधारण दुर्गन्ध खेप्न बाध्य छन् । दमकका बजार, चोक र सडक आसपास फोहोरका थुप्रा भरिँदै गएपछि स्थानीयले आक्रोस पोख्न थालेका छन् ।
दमकमा दैनिकजसो ६० टन फोहोर उत्पादन हुदैआएको र त्यसमध्ये ५ टन बढी फोहोर कुहिने किसिमको हुने गरेको छ । फोहोर फाल्नका लागि नगरपालिकाले ठाउँ उपलव्ध गराउने भनिएपनि हालसम्म ठाउँ उपलब्ध नगराउँदा समस्या भएको नेक्स्ट ईराले जनाएको छ । आफ्नो संस्था र नगरवीचको विगतको सम्झौता कार्यान्वयन नभएका कारण फोहोर संकलन रोकिएको नेक्स्ट ईराको भनाइ छ । फोहोर जस्तो संवेदनशील विषयमा गम्भीर भएपनि ल्याण्डफिल्डको उचित बन्दोवस्ती गराउन नगरपालिकाले पहल गरिरहे पनि फोहोरको समस्या लम्बिँदै गएको दमक नगरपालिकाको भनाइ छ । फोहोर व्यवस्थापनको उचित समाधान निकाल्न सरोकारवाल पक्षसँग नगरले छलफल थालेको छ ।
फोहोर व्यवस्थापन गर्ने ल्याण्डफिल्ड साइटको समस्या सवै पालिकाको समस्या वन्दै आएको छ । वन क्षेत्रमा फोहोर फ्याक्दा वन पर्यावरणमा असर पर्ने भएकाले वनसँग सम्बन्धित पक्षले त्यसमा रोकावट गर्छ । दमकमा पनि वडा नम्बर २ स्थित हंसेदुम्से वन क्षेत्रमा फाल्ने गरिएको फोहोरबाट वन पर्यावरणमा समस्या आएपछि व्यवस्थापनको विकल्प आवश्यक बन्दै आएको अवस्था हो । त्यहाँ स्थापित फोहोर प्रसोधन केन्द्रबाट सड्ने गल्ने (जैविक) फोहोर प्रसोधन भइरहेपनि अजैविक फोहोर थुपार्ने ठाउँको खास समस्या हो । वन र चुलाचुलीका बासिन्दाको विमतीका कारण फोहोर फ्याक्ने समस्या भयो । जैविक फोहोरबाट केहि मात्रामा वायोग्यास उत्पादन भएपनि त्यसको उपभोक्ता नवन्दा उपयोगिताको प्रभावकारिता देखिएको छैन । अन्यत्र जग्गा व्यवस्थापन गरेर फोहोरलाई थुपार्ने मात्र नभई कुहिने फोहोरलाई मल बनाउने, वायोग्यास वनाउने र नहुकिनेलाई पुनः प्रसोधन गर्ने कार्य भएमा मात्र फोहोरको सही व्यवस्थापन हुनसक्छ । चाँडै फोहोरको उचित तथा दिगो व्यवस्थापन कार्य नगरले सम्पन्न गरेर नगर क्षेत्रको सडकमा फोहोर थुपार्ने अवस्थाको अन्त्य होस् ।

Author

You may also like