नेपालीहरुका चाडपर्व दशैं, तिहार, छैठ लगायतका समयमा पनि दैनिक उपभोग्य सामग्रीमा बढेको मुल्यवृद्धी नियन्त्रण हुन सकेन ।
यतिवेला हाम्रा अगाडी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आइसकेको छ । बजारमा तिहारको सामान किनबेच शुरु भएको छ । चाडका बेला देशैभरि उपभोग्य सामग्रीको मूल्य जसरी वृद्धि भएको छ, त्यसले व्यवसायीको मनोमानीअगाडि राज्य संयन्त्र निरीह देखाएको छ ।
सरकार महँगी रोक्ने प्रयास गर्न त परै जाओस्, बढ्दो महँगी थाहा नपाएझैं गरी बसेको छ । व्यापारीले जथाभाबी मूल्यवृद्धि गर्दा पनि सरकारले संयन्त्र बनाएर बजार व्यवस्थित गर्न सकिरहेको पाइएन । तरकारी गत वर्षको तुलनामा अधिक मात्रामा महँगिएको छ भने खाने तेल र मैदाको मूल्यवृद्धि अवस्था पनि उस्तै छ । तोरी र भटमास तेलमा वृद्धि गरिएको छ भने अघिल्लो वर्षको तुलनामा सूर्यमुखी तेलको लिटरमै २० रुपैयाँ बढाइएको छ । बजारमा चिनी, दाल, चामल, मसला हरेक चिजको भाउ बढेकै पाइन्छ । अझ महँगो मुल्य तिरेर किन्न पनि चिनी अभाव भएको हल्ला चलाइएको छ ।
अन्य उपभोग्य वस्तुको बजारभाउ बढ्नु स्वाभाविक भए पनि व्यापारीहरूले चाडपर्वकै मौका पारेर अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिरहेका छन् । एक हिसाबले भन्ने हो भने बजारमा मूल्यवृद्धिको सवालमा अस्वभाबिक रुपमै नियन्त्रणबाहिर देखिएको छ ।
सरकारी संयन्त्रहरूले प्रभावकारी रूपमा अनुगमन नगरेकै कारण मूल्यवृद्धि अनियन्त्रित हुँदै गएको र त्यसका कारण सर्वसाधारणमा चरम निराशा देखिन थालेको छ । त्यसैले पनि यो अवस्थामा सरकारले अनुगमन संयन्त्रलाई व्यापक रूपमा सक्रिय बनाई मूल्यवृद्धि नियन्त्रण गरेर बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ ध्यान दिनैपर्छ ।
सरकारले अत्यावश्यक वस्तुको मूल्य तोकेर नियमन नगरेका कारण पनि बजारमा मनपरीतन्त्र मौलाएको हो । जसको मार उपभोक्ताले दैनिक खेप्नुपरेको छ । यता व्यवसायी भने डलरको मूल्य बढेकाले आयातित बस्तुको मूल्यवृद्धि भएको र त्यसको असर समग्र बजारमा परेकाले उपभोक्ता मारमा परेको तर्क गर्छन् ।
मूल्यवृद्धिको अवस्था तराइका ठूला सहरमा मात्र होइन, पहाडी जिल्लाका दुर्गम गाउँमा पनि उस्तै गरी देखिएको छ । खाद्यान्नको भाउ अकासिएको छ । एकातिर दसैंतिहार जस्ता चाडपर्वकै समयमा महँगी बढ्नु दुखद् पाटो छँदैछ, अर्कोतिर उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धिले विपन्न वर्गका मानिस झन् बढी मर्कामा परेका छन् । सरकारी संयन्त्रको बजार अनुगमनको प्रभाव पहाडी इलाकामा पनि छैन । पहाडी इलाकामा ढुवानीका कारण अझ मुल्य बढी हुने गरेको छ । कतिपय स्थानमा चाडपर्व नजिकिएका बेला अनुगमन गरिए पनि त्यसको प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । अनुगमन गरिएका क्षेत्रमा भेटिएका दोषीउपर कारवाही गरिएको खासै सुनिदैन । जबसम्म दोषीलाई कारवाहीको दायरामा ल्याइन्दैन तबसम्म अनुगमनलेमात्र केही हुनेवाला छैन ।
सरकारी संयन्त्रले प्रभावकारी रूपमा अनुगमन नगरेकै कारण मूल्यवृद्धि अनियन्त्रित हुँदै गएको र त्यसका कारण सर्वसाधारणमा चरम निराशा देखिन थालेको छ । त्यसैले पनि यो अवस्थामा सरकारले अनुगमन संयन्त्रहरूलाई व्यापक रूपमा सक्रिय बनाई मूल्यवृद्धि नियन्त्रण गरेर बजारलाई उपभोक्तामैत्री बनाउनेतर्फ ध्यान दिनैपर्छ ।