चौथो पटक प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले संघीय संसद् भवनबाट विश्वासको मत मागे । विश्वासको मत पाउने वा नपाउने भन्नेमा द्विविधा रहेन, र थिएन पनि । उनी बहुमत सिद्ध भएर नै प्रधानमन्त्रीमा नियुक्त भएका हुन र त्यो बहुमत मात्र होइन दुई तिहाई मत नै पाउन सफल भए । अंकगणितीय हिसाबले दर्बिलो बनेरै प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था अनुसार आइतबार विश्वासको मत मागेका हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र २ स्वतन्त्र सांसद् गरी पक्षमा १८८ र नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा समाजवादीको विपक्षमा ७४ मत परेपछि प्रधानमन्त्री ओलीले २ तिहाई मत प्राप्त गर्न सफल भएका छन् ।
अब भएको संविधान अनुसार कामै गर्न नसकेको र संविधानलाई लगौटी बनाएको आरोप जनताले लगाईरहेका बेला ओलीले आफुलाई बहुमत सांसदको प्रधानमन्त्री बनाएर चाहि गर्ने के भन्ने चासो र चिन्ता जनतमा छ । साना साना धेरै समस्यासँग पौठाजोरी खेलिरहेका जनतालाई ओलीका गतिविधिले खासै उत्साह पु¥याएको देखिँदैन । आशा र भरोसा जनताको ओलीमै भए पनि प्रधानमन्त्री भए पछि गरेका निर्णय र निर्देशनले उनको चरित्र, संस्कार र तौरतरिका पुनः उस्तै देखिनु दुःखद् छ ।
तीन तीन पटक प्रधानमन्त्री हुँदा केही गर्न नसकेका ओलीले अब यो चौथो पटक प्रधानमन्त्री हुँदा के आकाशै झार्लान् त भन्ने पनि छन् ? तथापि जति तुक्का भने पनि, जति कराए पनि वा घमण्ड देखाए पनि अन्तमा ओलीसँग राजनीति गरिरहेका उनका अन्य दलका नेताहरुको तुलनामा आशा र भरोसा चाहि ओलीमै रहेको कुरा पनि जनताले गर्छन् तर त्यो जनताको विश्वास र भरोसालाई अब कसरी सम्बोधन गर्ने र जनताको विश्वास जितेर अविश्वासको खाडल कसरी पुर्ने भन्नेमा चाहिं प्रधानमन्त्री ओली अबको बाटो हुनुपर्दछ ।
लोकतन्त्रका खम्बाका रुपमा उभिने दलका नेताहरुको दलीय भूमिका कमजोर, अस्पष्ट, सङ्कीर्ण र अनुदार भएका कारण नेपाली जनताको विश्वास गुमाउँदै गएको सबैलाई थाहा छ । त्यो कुरा स्वयम् नेताहरु पनि ओकल्न छोड्दैनन । दलगत शासन उत्तरदायी शासनको महत्वपूर्ण सिद्धान्त हो पनि भन्ने पनि गरिन्छ । राजनीतिलाई बुझेर पनि त्यसलाई विकृत बनाउँदै जनताका इच्छा आकांक्षा विपरितका बुद्धि, विचार र व्यवहारले जनतामा नैरास्यता छाएको छ । आज राजनीतिको परिभाषा नै बदलिएको छ । अब हिजोको राजनीति होइन अब सामाजिक सेवा भावको राजनीतिको विजारोपण भईसकेको छ । त्यही कारणले पनि हुनसक्ला देशमा नयाँ नयाँ शक्तिहरुको उदय भईरहेको छ ।
पहिलो कुरा राजनीतिक दलले आप्mनो कर्तव्य र गरिमालाई बोध गर्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्थाको महत्व स्थापित हुन्छ । आधुनिक शासन–व्यवस्था लोकमतमा निर्भर छ । हरेक राजनीतिक दलले आप्mनो जनताप्रतिको दायित्व र मुलुकप्रतिको उत्तरदायित्व बुझ्न जरुरी हुन्छ । स्थानीय, क्षेत्रीय र राष्ट्रिय समस्या र तिनका समाधानका लागि दलहरूले सक्रियता, सबलता र सक्षमतापूर्वक चिन्तनमनन र विचारविमर्श गर्नुपर्छ । बनेका नीति–नियम र योजना–परियोजनालाई सफलताका साथ कार्यान्वयन गर्ने मूल दायित्व राजनीतिक दलकै हो । नेपालमा नेपाली कांग्रेस र एमाले जस्ता दलले मुलुकको विकास, सुरक्षा, विदेश सम्बन्ध, शिक्षा, स्वास्थ्य नीतिलगायतका विषयमा आप्mनो धारणालाई प्रभावशाली बनाउन नसकेको कारणबाट आजका समस्या सृजना भएका हुन् । हिजो भएका कमीकमजोरीलाई आत्मसाथ गरेर आफु सुध्रिएर जनमतको उच्च कदर गर्दै जनतालाई सर्पोपरि ठानेर जनताको समस्यालाई प्याकेजमा समाधान गर्दै अरुलाई सुधार्न प्रधानमन्त्री ओलीको विवेकले काम गरोस् र जनताबाट गुमेको विश्वास र भरोसा माथि उठोस् । प्रधानमन्त्री ओलीले तीन पटकसम्म प्रधानमन्त्री हुँदा जनताले सम्झिरहने कुनै पनि काम गर्न सकेनन् । र, यो चौथो पटक प्रधानमन्त्री मौकाले बनेका छन् । ओली अब फेरी अर्को पटक प्रधानमन्त्री होलान् नहोलानन् यसलाई अन्तिम अवसरको रुपमा लिनु पर्दछ । अहिले प्राप्त चौथो पटक प्रधानमन्त्रीतत्व कार्यकाललाई स्वर्णीम र स्मरणीय बनाउन प्राप्त भएको यो महत्वपूर्ण अवसर नगुम्ने गरी काम गर्ने अपेक्षा, आशा र भरोसा नेपाली जनताले गरेका छन् ।