केही दिन अगाडि मात्र एमालेका दिग्गज र बौद्धिक नेतालाई पार्टीबाट निस्कासन गर्ने निर्णय भयो त्यो पनि साधारण सदस्यसमेत नरहने गरी । कारण थियो नेतृत्वले गरेका गल्ति औंल्याउनु वा नेतृत्वको आलोचना गर्नु । उनीसँग अन्य नेता पनि कारवाहीमा परे जुन असोभनीय पदीय मर्यादा विपरित थियो । यता नेपाली कांग्रेसको नेतृत्वले पार्टी केन्द्रीय समितिमा मनोनीत गरिएका नेताहरूलाई धम्कीको भाकामा गरेको कटाक्ष पनि पदीय मर्यादाअनुरूप देखिएन ।
देशमा जनताको निम्ति परिवर्तनको पक्षमा लडेका नेताहरु संस्कारविहिन भईदिँदा देशमा उज्यालो भविष्यको संकेत देखिँदैन । चार दशक अघिदेखि उस्तै व्यक्ति र तिनै दलहरुको नेतृत्व र अगुवाईमा रहेर पनि देशको अवस्था झन झन विकराल बन्दै गएको छ । नेता तथा कार्यकर्ता नेतृत्वको दास बनिदिनुपर्ने र जनता भेडा भईदिनुपर्ने अवस्था हाकाहाकी देखिएको छ । नेतृत्वको एक पछि अर्को दोहोरिएको गल्ति उनीहरुको व्यक्तिगत मानमर्दनमा आँच त पुर्यायो नै अन्ततः व्यवस्थाप्रति वितृष्णा जगाउँदै अन्तर्राष्ट्रय जगतमा बदनाम समेत कमाएको छ । नेतृत्व परिवर्तन होस्, नयाँ, सक्षम र युवाहरुले सत्ता सञ्चालनको अवसर पाऊन् भन्ने चाहना पूरा नहुँदा युवावर्गभित्र आक्रोश बढेर गएको छ । मूलधार, पुराना र ठूला भनिएका राजनीतिक शक्तिप्रति जनताको विश्वास टुट्दै गएको छ । यसले भविष्यमाथि आशंका बढाइरहेको छैन युवापंक्तिमा निराशा बढाएको छ ।
सत्तामा रहेकाहरु सत्ता र शक्तिको आडमा आफुलाई मैसासुर, अहंकारी, अधिनायकवादी र हिटलर बनाउने चेष्टा गरिरहेको देखिन्छ । आफूविरुद्धका त्यस्ता आक्रोशबाट सिक्नुभन्दा अपराधी घोषित गरी दण्डित गर्न नेतृत्व उद्यत छ । प्रविधिको विकासले युवावर्गलाई सचेत र सजग बनाएको छ । त्यसमध्ये पनि सामाजिक सञ्जालका माध्यमहरु फेसबुक, टिकटक, भाइबर, इन्स्टाग्राम, ट्वीटरहरुको प्रयोगबाट युवावर्गले नेतृत्वप्रति आक्रोश व्यक्त गरिरहेका छन् । विश्वका कतिपय देशमा सरकार र व्यवस्थाबिरुद्ध आन्दोलन भएका दृष्टान्तहरु देख्दा देख्दै उनीहरु त्यही बाटोमा लाग्नुले आफ्नो खुट्टामा आफै बञ्चरो हानिरहेको अनुभुत गराएको छ । अहंकारले कुनै नेता वा अरू कसैको कद उचो बनाएको इतिहास छैन नेपालका बहालवाला प्रधानमन्त्री र प्रमुख विपक्षी नेता दुवै विपक्षीमात्र हैन आफ्नै पार्टीका नेताहरूलाई समेत बिझाउने कटुवचन प्रयोग गर्न हिचकिचाउँदैनन् । अरूको मर्यादा नराखेपछि आफ्नो पनि रहँदैन भन्ने यथार्थसमेत यिनले कहिल्यै हेक्का राखेको देखिएन ।
शीर्ष नेतृत्वको उपेक्षा र अवहेलना सहेर पनि चुप लाग्ने कार्यकर्ता र नेताहरूको विवशता भने राजनीतिक र मानवीय दृष्टिले स्वाभाविक देखिँदैन । नेपालको राजनीतिमा भने यही अस्वाभाविक व्यवहार संस्कारका रूपमा स्थापित गर्न खोजिँदैछ । उनीहरुले अहंकारलाई राजनीतिक संस्कार बनाउने प्रवृत्तिका प्रतिनिधि पात्र भएका छन् । विडम्बना, तिनका समकक्षी प्रतिस्पर्धी पनि त्यही प्रवृत्तिको अनुसरण गरिरहेका देखिन्छन् । सम्भवतः नेपालको राजनीतिक नेतृत्वको सांस्कृतिक चेत यसभन्दा पहिले यति तल खस्केको थिएन । अहिलेका नेता त मानवीय मूल्य र मर्यादासमेत मिच्न हिचकिचाउँदैनन् । संस्कारगत अधोपतनको मारमा भने सधैँजस्तो सर्वसाधारण पर्ने गरेका छन् । त्यसो त यस्तो आत्ममुग्ध प्रवृत्ति आत्मघातीसमेत हुन्छ ।
पार्टीका कार्यकर्तामात्र हैन आफ्नै समकक्षी नेताहरूलाई समेत मानमर्दन गर्न तम्सने नेतृत्वले जनताको उपेक्षा गर्नु अस्वाभाविक होइन । नेताहरूको अहंकारको तुष्टिका लागि देशले पटकपटक ठूलो मूल्य चुक्ता गरेको छ । पार्टीभित्रका प्रतिस्पर्धीहरूले पदमा हुनेको आलोचना गर्नु अत्यन्त स्वाभाविक हो । यस्तै, नेतृत्वको खोट खोतल्नु र देखाउनु एक्काइसौं शताब्दीका पत्रकार र बुद्धिजीवीको मात्र हैन सबै सचेत नागरिकको अधिकार र कर्तव्य दुवै हो । सत्तामा हुने सबैभन्दा बढी जिम्मेवार र सहिष्णु हुनुपर्छ । आलोचनाको ‘ओँठे जबाफ’ दिएर कुनै नेता महान् हुँदैन । अरूलाई मर्ममै चोट लाग्ने गरी सार्वजनिकरूपमा गरिने कटाक्षबाट घृणा, वितृष्णा र क्षोभमात्रै बढाउने हो । यसैले सार्वजनिक जीवनमा रहनेहरू विशेषगरी मानवीय मर्यादामा अतिक्रमण गर्नबाट जोगिनुपर्छ । बरु, आफ्नै कमजोरी केलाएर आत्मालोचना गर्नु बेस हुन्छ । तिनै सहकर्मीहरूसँग कुन बेला हात मिलाउनु पर्ने हो भन्ने ठेगान नहुनेहरूले कम्तीमा मानवीय व्यवहार गरिदिए पार्टीभित्र तित्तता बढ्ने थिएन कि ?