देश–समाज राजनीति विचार/वहस समाचार स्थानीय

राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र अपरिहार्य

इटहरी । देशमा बढ्दै गएको विकृति, विसंगति, भ्रष्टाचार र कुशासनका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा ओलिएको छ । शासकीय स्वरुपका सन्दर्भमा लामो समयदेखि असन्तुष्टि जाहेर गर्दै आएको सो पार्टीले पछिल्लो समयमा देशमा व्याप्त कुशासनका विषयमा प्रमुख मुद्दाका रुपमा अगाडि बढाएर आन्दोलनरत छ । सोही क्रममा शनिबार सुनसरीको इटहरीमा विशाल र्‍यालीसहित विरोधसभाको आयोजना समेत गरेको छ ।
सो कार्यक्रममा पार्टी अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धिकरणलाई प्रमुखताका साथ उठाएका छन् । विरोधसभालाई सम्बोधनका क्रममा लिङ्देनले भने– ‘सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका छन् ।’
राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयोजना गरेको बृहत् विरोध सभामा अध्यक्ष लिङ्देनले भने, ‘रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ, अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन । लिङ्देनले नेपालका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै सुरुमा राप्रपा नेताहरूबाट छानबिन गर्न तयार रहेको बताए । अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई झन्झन् संरक्षण गरेको भन्दै देशको लागि राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र अपरिहार्य रहेकोमा जोड दिए । लिङ्देनले अहिलेको राज्य व्यवस्थाकै कारण देशमा समस्या बढेको आरोप लगाएका छन् । जनताको अवस्था बदल्न व्यवस्था बाधक रहेको उनले बताए । ‘अर्बौं रुपैयाँ बैङ्कमा थुप्रिएको छ तर ऋण लिन कोही पनि तयार छैनन्’–उनले भने । देश बरबाद भएको बताउँदै अब देशले योभन्दा बढी बरबादी थेग्न नसक्ने बताए ।
विरोधसभामा राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको दाबी गरे । उनले प्रजातान्त्रिक दलहरूको नाममा प्रजातन्त्र मास्ने काम भएको बताए ।
डा. लोहनीले केपी ओली, शेरबहादुर देउवा र प्रचण्डसँग कुनै भ्रष्टाचार गरेको छैन, नेपाल बाहिर कुनै पैसा राखेको छैन भनेर नेपालको संसदमा उभिएर नेपाली जनतालाई भन्ने नैतिक हिम्मत नभएको बताए । जनताले अहिले विकल्पको खोजी गरेको उनको दाबी थियो ।
महामन्त्रीद्वय राजेन्द्र गुरुङ, प्रल्हादप्रसाद शाहले प्रदेश संरचना खारेजी, अधिकारसम्पन्न स्थानीय स्वायत्त शासन, राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र, सहकारी पीडितको रकम फिर्ता, भ्रष्टाचारीमाथि कारबाही, शिक्षा–स्वास्थ्य–रोजगारीमा समान पहुँच र भूमिहीन समस्या समाधानजस्ता विषयहरू राप्रपाले निरन्तर उठाउने बताए ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीको दिनगन्ती सुरु भएको बताए । राप्रपाले अब जनताको पक्षमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताउँदै उनले भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिन, सहकारी पीडितहरुको बचत फिर्ता गराएरै छाड्ने बताए ।
देशभरि सरकारविरुद्ध खबरदारी सुरु गरेको राप्रपा नेता तथा निर्देशन समितिका सदस्य रामकुमार सुब्बाले गौतम बुद्धको विद्रोह, महात्मा गान्धीको विद्रोहको स्मरण गराउँदै राप्रपाको विद्रोहले कसैलाई क्षति नहुने गरी जनताको मानसिकतामा विद्रोही भावना विकास गराउने गरी हुने चेतावनी दिए ।
विरोध सभामा सहभागी हुन पूर्व क्षेत्रका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताहरु इटहरीमा भेला भएका थिए । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, छानबिन गर्न दबाब दिन विरोसभा आयोजना गरिएको राप्रपाले जनाएको छ । विरोध कार्यक्रमलाई केन्द्रीय सदस्य इनु अधिकारी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर सुवेदीलगायतले सम्बोधन गरेका थिए ।

Author

You may also like